शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक



ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चारजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई केजीमा, रविन कार्कीलाई कक्षा ३ मा र प्यासिफिक महर्जनलाई कक्षा ८ मा भर्ना गरिदिएका हुन् ।

उनले ती विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक प्रदान गरेका थिए । साथै, पाँच कक्षा मुनीका तीन विद्यार्थीलाई दिवाखाजाको समेत व्यवस्था गर्ने जनाएका छन् ।

सरकारको भर्ना अभियान र एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्तव अभियान अन्तर्गत चारजना विद्यार्थीलाई विद्यालयमा भर्ना साथै उनीहरुको अभिभाकत्व ग्रहण गरेको महासंघका अध्यक्ष थापाले जानकारी दिए ।

ति विद्यार्थीहरुलाई कक्षा १० सम्म लाग्ने सम्पूर्ण खर्च आफुले व्यहोर्ने थापाले जानकारी दिए ।

शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायीत्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यो अभियानकै क्रममा प्रधानमन्त्री, पुर्वप्रधानमनत्रीहरु, मन्त्रीहरु, सभामुख, प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेशका मन्त्रीहरु, सांसदलगायतले पनि विभिन्न बच्चाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा भर्ना गराउँदै आएका छन् । मन्त्रालयले यसका लागि सवै सरोकारवालाहरुसँग आग्रह गरेको छ ।

यसै अभियान अन्तर्गत शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले पनि चार जना बच्चाको अभिभावकत्व ग्रहण गरेका हुन् । नयाँ भर्ना गरिएका विद्यार्थीहरुको बुवाआमाको स्थानमा अर्केको नाम भएपनि अभिभावकको स्थानमा आफ्नो नाम हुने थापाले स्पष्ट पारेका छन् ।

महासंघले चैत २७ गते एक विद्यार्थी भर्ना अभियानका सम्बन्धमा विज्ञप्ति जारी गर्दै विद्यालय भर्ना अभियान तथा स्वागत कार्यक्रम, विद्यार्थी टिकाउ र सिकाइ उपलब्धीमा सुधार कार्यक्रममा सक्रिय सहभागी बन्न सम्पूर्ण विद्यालय एवं शिक्षकहरुसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्