पदाधिकारी मनोनित गर्दै देउवा



रामकृष्ण चापागाईं, काठमाडौं
कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई देखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन्।

कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले समेत आफ्नो दाबीलाई अझ कसिलो बनाउँदै लगेका छन्।

‘उपसभापतिको प्रमुख दाबेदार म नै हुँ, मलाई सबै पक्षले स्वीकार्छन् पनि’, श्रेष्ठले भन्नुभएको छ– ‘सिनियरको हिसाबले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछि म नै हो। आफूलाई उपसभापति मनोनित गरे केन्द्रीय समितिमा विरोध नहुने उहाँले दाबी गर्नुभएको छ।’

तर, देउवाले भने निधिलाई नै उपसभापति मनोनित गर्ने निष्कर्षमा पुगिसकेको बताइएको छ। निधिलाई उपसभापतिमा मनोनित गर्ने लक्षणका साथ सभापति देउवाले यसअघि कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सुम्पिनुभएको थियो।

विधानअनुसार २ महिनाभित्र मनोनित गरिसक्नुपर्ने पदाधिकारी दुईवर्ष बितिसक्दा समेत मनोनित नगरेको भन्दै सभापति देउवाको चर्को आलोचना भइरहेको छ।

महामन्त्रीमा खड्कालाई मनोनित गर्दा खुमबहादुर खड्का पक्षधरका सबै नेता समेटिने सभापति देउवाको ठम्याइ रहेको छ। खुमबहादुर खड्काको निधनपछि उहाँ पक्षधरको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा चलिरहेको थियो। सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्दा पौडेल पक्षका केही नेताहरूको समेत समर्थन रहने देउवा निकट नेताले बताएका छन्।

मनोनित पदाधिकारीलाई निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकले अनुमोदन गर्नुपर्छ। खुमबहादुर खड्का पक्षधरका केन्द्रीय सदस्यहरूको समर्थन भएपछि सभापति देउवालाई मनोनित पदाधिकारी अनुमोदन गराउन सजिलो हुनेछ।

निर्वाचित केन्द्रीय समितिमा देउवा पक्षको बहुमत भएपछि पौडेल पक्षले विधानको कुरा उठाएर विरोध गर्ने भएका छन्। ‘विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने उल्लेख छ। दुई वर्षपछि गरिएको मनोनितलाई मानिँदैन।’ केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भन्नुभयो।

निर्वाचनको विस्तृत समीक्षा गर्न चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक खुमबहादुर खड्काको निधनपछि स्थगित भएको थियो।
यो बैठक शुक्रबारदेखि पुनः बस्दै छ। बैठक तीन दिनभित्र टुंग्याउने र निष्कर्ष निकाल्ने तयारी भइरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। सभापति देउवाले बैठकको अन्तिम दिन पदाधिकारी मनोनित बारे जानकारी दिने र केन्द्रीय बैठक सकिएको तीन÷चार दिनपछि निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक आ≈वान गरी अनुमोदन गराउने तयारी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्