नेप्सेमा उच्च अंकको वृद्धि धेरैपछि अर्बमाथिको कारोबार



नेपाल समाचारपत्र
काठमाडौं
साताको चौथो दिन नेप्से परिसूचक ३१ दशमलव ८३ अंकले बढेर १ हजार ३ सय ६३ दशमलव शून्य १ अंक कायम भएको छ। परिसूचक बढेसँगै कारोबार रकम पनि एक अर्ब नाघेको छ। बुधबार १ सय ६५ वटा कम्पनीको २४ लाख ४० हजार १ सय ५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपियाँ बराबरको कारोबार भएको छ।

१ हजार २ सय अंकभन्दा तल झरेको नेप्से परिसूचक पछिल्लो केही सातादेखि निरन्तर उकालो देखिएको छ। बुधबारको कारोबारमा सबै समूहका उपसूचकहरू उकालो लागेका छन्। जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै १ सय ७ दशमलव ७३ अंक बढेको छ। बैकिङ समूहको उपसूचक ३२ दशमलव ८९ अंक, व्यापार समूहको उपसूचक ४ दशमलव ३९ अंक, होटल समूहको उपसूचक ३७ दशमलव ६५ अंक र विकास बैंक समूहको उपसूचक ६५ दशमलव ३७ अंक बढेको छ।

त्यसैगरी फाइनान्स समूह १३ दशलमव ६९ अंक, बीमा समूह ६३ दशमलव ५१ अंक, उत्पादन समूह २८ दशमलव ३५ अंक, अन्य समूह ७ दशमलव ८१ र लघुवित्त ५ दशलमव ३९ अंक बढेका छन्।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ५ करोड ९२ लाख रुपियाँ बराबरको कारोबार भएको छ। चिलिमे हाइड्रोपावर, सानिमा बैंक, सूर्या लाइफ इन्स्योरेन्सलगायत कम्पनीको शेयर कारोबार पनि उच्च देखिएको छ। सबैभन्दा धेरै कमाउनेमा ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्तका शेयरधनीले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा एसियन लाइफ इन्स्योरेन्सका शेयरधनीले प्रतिकित्ता ४ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन्।

बुधबार शेयर कारोबार भएका कम्पनीमा ३६ वटा कम्पनीका शेयरधनीले आफ्नो लगानी गुमाएका छन्। यस दिन ‘क’ वर्षका कम्पनीहरूको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स ६ दशमलव २७ अंकले बढे र २८८ दशमलव ८५ अंका पुगेको छ।

 

खातामा रकम भएकाको मात्रै सी–आस्बाबाट आवेदन लिन परिपत्र
काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सी–आस्बा प्रणाली लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरूको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकीन नगरिकनै आवेदन बुझिलिने गरेको, चेकसमेत बुझिलिने गरेको जस्ता गुनासोहरू आएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न जोड दिएको हो।

बोर्ड उक्त सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गराउन बोर्डले आस्बा सदस्यलाई चार बुँदे परिपत्र पनि गरेको छ। बोर्डले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्बा सफ्वेयरमा रुजु गरी ग्राहकको पहिचान एकीन गरेपश्चात मात्रै बुझिलिन बोर्डले परिपत्र गरेको छ। त्यस्तै आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्न, सेवाग्राहीलाई सी–आस्बा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचारप्रसार गर्न तथा सी–आस्बा सेवा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीलाई तालिम प्रदान गर्न धितोपत्र बोर्डले सी–आस्बाका सदस्यलाई परिपत्र गरेको छ।

प्रतिक्रिया दिनुहोस्