व्यापारघाटा आठ महिनामा ७ खर्ब नाघ्यो



नेपाल समाचारपत्र
काडमाडौं
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालू आर्थिक वर्षको आठ महिना अवधिमा व्यापारघाटा ७ खर्ब १३ अर्ब रुपियाँ नाघ्यो छ। यस अवधिमा मुलुकले गरेको कुल वैदेशिक व्यापारमा ९३ दशमलव ५ प्रतिशत आयात र ६ दशमलव ५ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल निर्यातको अनुपातका आयात १४ दशमलव ४ गुणाले बढी देखिएको छ। यस अवधिमा ८ खर्ब २० अर्ब ७८ करोड रुपियाँ बराबरको कुल वैदेशिक व्यापारमा ७ खर्ब १३ अर्ब ९३ करोड रुपियाँ बराबरको आयात र ५३ अर्ब ४२ करोड रुपियाँ बराबरको मात्र निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २२ दशमलव २८ प्रतिशतले बढेको छ भने निर्यात १० दशमलव ९६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०७३÷७४ को आठ महिना अवधिमा मुलुकको व्यापारघाटा ५ खर्ब ७९ अर्ब ३८ करोड रुपियाँ बराबर थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त अनुपात २३ दशमलव २२ प्रतिशतले बढेर ७ खर्ब रुपियाँ नाघेको छ।

नेपालले छिमेकी मुलुक भारतसँग मात्र ५ खर्ब ३२ अर्ब ७६ करोड ७५ लाख रुपियाँ बराबरको व्यापार गरेको छ। जुन परिमाण नेपालले चालू आर्थिक वर्षको ८ महिना अवधिमा गरेको कुल वैदेशिक व्यापारको ६४ दशमलव ९० प्रतिशत बराबर हो। भारतसँग ५ खर्ब २ अर्ब २३ करोड रुपियाँ बराबरको आयात र ३० अर्ब ५३ करोड रुपियाँ बराबरको निर्यात गर्दा व्यापारघाटा ४ खर्ब ७१ अर्ब ७० करोड पुगेको छ।
त्यसैगरी अर्को छिमेकी मुलुक चीनसँग १ खर्ब १ अर्ब रुपियाँ बराबरको आयात र १ अर्ब ८६ करोड रुपियाँ बराबरको निर्यात गर्दा ९९ अर्ब १२ करोड रुपियाँ व्यापारघाटा देखिएको छ।

कुल आयातमा भारतबाट ६५ दशमलव ४ प्रतिशत, चीनबाट १३ दशमलव २ प्रतिशत, इन्डोनेसियाबाट १ दशमलव १ प्रतिशत, भियतनामबाट १ दशमलव १ प्रतिशत र अन्य मुलुकबाट १९ दशमलव २ प्रतिशत अन्य मुलुकबाट आयात भएको छ। त्यसैगरी नेपालले गरेको कुल निर्यातमा ५७ दशमलव २ प्रतिशत भारतसँग, १० दशमलव ८ प्रतिशत अमेरिकासँग, ५ दशमलव ८ प्रतिशत टर्कीसँग, ३ दशमलव ८ प्रतिशत जर्मनीसँग र बाँकी २२ दशमलव ४ प्रतिशत अन्य मुलुकमा निर्यात भएको छ।

यस अवधिमा मुलुकले इन्धन आयातमा मात्र १ खर्ब १६ अर्ब २८ करोड रुपियाँ खर्चेको छ। इन्धनजन्य वस्तु नेपालले निर्यात नगर्ने हुँदा उक्त रकम शतप्रतिशत घाटा हो। फलाम तथा स्टील, सवारीसाधन, इलेक्ट्रोनिक वस्तु तथा घरायसी सामानको आयात उच्च छ। निर्यातमा भने चिया र कफीको निर्यात सबैभन्दा बढी देखिएको छ। फागुन मसान्तसम्ममा मुलुकले ६ अर्ब ४७ करोड रुपियाँ बराबरको चिया कफी निर्यात गरेको छ। त्यसैगरी सोही अवधिमा ५ अर्ब १४ करोड रुपियाँ बराबरको पश्मिना, ४ अर्ब ६५ करोड रुपियाँ बराबरको उनी गलैँचा र कार्पेट, ४ अर्ब २० करोड रुपियाँ बराबरको लुगा कपडा तथा धागो र ३ अर्ब ३३ करोड रुपियाँबराबरको फलाम तथा स्टिलका सामान निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्