भ्रष्टाचार र विकासको सहसम्बन्ध



दामोदर पौडेल

चीनमा साम्यवादी दलले एक दलीय शासन गरेको करिब ७० वर्ष भयो। माओत्सेतुङको जीवनभर उनी चीनको राजनीतिको हिरो नै रहे। उनी चीनको विकासको आइकोन नै रहे भनेजस्तो भयो। त्यस समयमा चीनको विकास भने हुन सकेन। त्यसै समयमा सांस्कृतिक क्रान्ति र लग मार्च ताकासमेत गरेर कमसेकम २ करोड मानिस मारिएको चीनकै कम्युनिस्ट पार्टीका माओविरोधी नेता वाङ्ग विङ्गले ‘माओका १० राष्ट्रिय र ५ अन्तर्राष्ट्रिय अपराध’ नामक पुस्तकमा लेखेका छन्। माओको समयमा चीनमा सैनिक र सैन्य सामग्रीको भने अभूतपूर्व विकास भएको हो।

माओ कहिल्यै सरकारी उच्च पदमा नरहे पनि कम्युनिस्ट पार्टीको आजीवन अध्यक्ष बने। पहिला भनाइ पनि चल्ने गर्दथ्यो कि देशको हरेक क्षेत्रलाई कम्युनिस्ट संगठनको स्थानीय तहले पकड कायम गरेको हुन्छ। त्यसपछि माथिका पार्टी निकायले तल्लो निकायलाई पकड कायम गर्दै केन्द्रीय समितिलाई पोलिट ब्युरो र पोलिट ब्युरोलाई महसचिव (चीनको सन्दर्भमा अध्यक्ष) ले पूर्णरूपमा आफ्नो मातहतमा राखेको पाइएको थियो।

माओको देहावसानपछि उनी जिउँदो हुँदा सताइएका नेता तेग स्याओ पिग चीनमा शक्तिशाली भए। त्यति बेलादेखि नै माओको मान गर्ने तर माओका विचार र कामलाई अस्वीकार गर्ने काम भयो। उनका सहयोगीलाई अस्वीकार गरियो। माओले वैचारिक हिसाबले करिब उन्मूलन गरेको निजी सम्पत्तिलाई तेगले उल्ट्याए र निजी सम्पत्ति राख्न पाउने व्यवस्था गरे। यो साम्यवादी विचारको उल्टो यात्रा नै हो। तर तेग र उनका सहयोगीले लोकतन्त्र पक्षधरलाई पनि रुचाएनन्। १९९० को तेनमेन चोक आन्दोलनसमेतका लोकतन्त्रका पक्षधर आन्दोलनहरू दबाउने काम तेगकै निर्र्र्देशनमा भए।

निजी सम्पत्तिको अवधारणा पुनस्र्थापित भएपछि चीनमा विकासले राम्रो गति लियो। गरिबीले पिल्सिएको माओको समयको चिनियाँ समाजमा भ्रष्टाचारका घटना सुनिदैनथे। तर तेगको समयबाट चीन विश्वको दोस्रो धनी देश हो र भ्रष्टाचार पनि व्यापक छ। यसले के देखाएको छ भने, भ्रष्टाचार र सम्पन्नता एक–अर्काका पूरक हुन् कि ? तर अमेरिका, बेलायतजस्ता देशमा भ्रष्टाचार त्यति व्यापक छैन। अर्कोतर्फ छिमेकी भारतमा पनि हुने गरेका भ्रष्टाचार चीनमा भन्दा कम सुनिदैन।

तेगले चीनमा राष्ट्रपति २ कार्यकालभन्दा बढी हुन नपाइने व्यवस्था गरे। वर्तमान राष्ट्रपति सी जिङ्ग पिङ्गले त्यो व्यवस्थालाई उल्ट्याएर उनी आजीवन राष्ट्रपति बन्ने बाटो खोलेका छन्। भौतिकतालाई नै सर्वोपरि मान्ने साम्यवादी विचार विपरीत सीले अध्यात्मलाई जोड दिएका छन्। आध्यात्म र पूर्वीय संकृतिको सम्मानको बारेमा उनले आधिकारिक दस्ताबेजमा नै लेखेका छन्। उनी प्राविधिकरूपमा माओभन्दा पनि शक्तिशाली हुन्। माओले कम्युनिस्ट पार्टीको अध्यक्ष पद मात्र लिएका थिए, सीले भने दलको अध्यक्ष र राष्ट्रपति दुवै पद सम्हालेका छन्।

व्यवहारमा भने त्यसो भन्न सकिँदैन। भन्ने गरिन्छ कि जब मानिसको सम्पत्ति हुँदैन तब उसको ९० प्रतिशत व्यक्तित्व र स्वतन्त्रता पनि अपहरण हुन्छ। त्यस्तै जब मानिसको बहुवादमा आधारित लोकतान्त्रिक अधिकारको अन्त्य हुन्छ उसको बाँकी १० प्रतिशत व्यक्तित्व पनि अन्त्य हुन्छ। राज्यमा शक्ति सम्हालेकाहरू मात्रै शक्तिशाली हुन्छन्। यो अनुमानमा आधारित प्रतिशत हुनुपर्दछ। तर मानिस हातमुख जोर्नको लागि नै राज्यको पूर्ण भरोसामा रहनुपर्ने अवस्था आएमा मानिसको व्यक्तिगत धारणाको हैसियतको विलय हुँदै भने जान्छ। फरक राजनीतिक अधिकारको अन्त्यले मानिसले संगठित भएर राज्यले गरेका गलत कार्यको विमति जनाउने अधिकारको अन्त्य गरिदिन्छ। त्यस कारण राजनीति र आर्थिक केन्द्रीकरणले मानिसलाई मेसिनवत् बनाउने सम्भावना बढी हुन्छ।

सी निजी सम्पत्ति भएको देशको एकदलीय सत्ताको निर्विकल्प सर्वोच्च व्यक्तित्व हुन्। उनी सम्भवतः विश्वको सबैभन्दा शक्तिशाली राजनेता पनि हुन्। माओभन्दा पनि शक्तिशाली हुन्। तर मनोविज्ञानले भन्दछ कि उनको देशमा अब निजी सम्पत्तिको अधिकार धेरै छ। जनताले बिहान–बेलुका पेट भर्नको लागि सरकारका संयन्त्रहरूको मुख ताक्नुपर्देन। यसकारण उनी माओ जत्तिको शक्तिशाली बन्दुककै आधारमा भने हुन सक्दैनन्। उनले विरोधीहरूलाई बिरालोलाई जस्तो झ्याल खोलेर लाठी हान्न सक्छन्। झ्यालढोका थुनी जनतालाई तर्साएर शक्तिलाई जथाभावी आफ्नो विचार लाद्नको लागि प्रयोग गर्न खोजे भने उनी पनि जोखिमभन्दा बाहिर रहनेछैनन्।

भ्रष्टाचारको विषय पनि यस्तो लाग्दछ कि निजी सम्पत्ति नहुँदा शक्तिमा हुनेले जति नै गलत गरे पनि भ्रष्टाचारको आर्थिक मापदण्ड नै नहुनाले भ्रष्टाचार प्रकट गर्ने अधार हुँदैन। यस अर्थमा भ्रष्टाचार मापन गर्ने आधार पनि निजी सम्पत्ति रहेछ। निजी सम्पत्ति नभएमा भ्रष्टाचार मापदण्डरहित हुने हुँदा भ्रष्टाचारको कुरा नआई शक्तिको आधारमा बढी सुविधा प्रयोग गर्ने स्वाभाविकतामा परिणत हुन पुग्दो रहेछ।

भ्रष्टाचारलाई न्यून गर्ने एक महत्वपूर्ण आधार आध्यात्म हुन सक्दछ। सबैको आत्मा उस्तै हो। आखिर मर्नै पर्दछ। मरेपछि केही लग्ने होइन। आनन्द सम्पत्तिमा मात्र होइन बरु विकास र आत्मसन्तुष्टिको समायोजनबाट नै प्राप्त हुन्छ। र, त्यसैबाट शान्ति हुन्छ भन्ने जस्ता विषयलाई सीले जोड दिन खोजेमा चीन धनी र सुखी मात्र नभएर भ्रष्टाचारबाट मुक्त देश हुन सक्दछ। बुद्ध, कन्फ्युसस, तावोवाद आदिबाट प्रभावित चीनले ती शिक्षाका वर्तमानमा उपयोगी विषयलाई जनतामा दिन सके र चीनको समग्र विकास एवम् सुख सुनिश्चित हुने तथ्यलाई सीले पूरा गर्न सके चीन विश्वको लागि नै उदाहरणीय हुन सक्दछ।
चीनले पूर्वीय मान्यतालाई आत्मसात् गर्ने सीको भनाइमा हाम्रो लागि पनि उल्लेखनीय छ। त्यस्तै भनाइ केही वर्षपहिला रुसी राष्ट्रपति म्लाद्मिर पुटिनले पनि राखेका थिए। रुस अर्थडक्स कृश्चियनहरू धेरै रहेको देश हो भने चीन बुद्धका उपदेशलाई जीवन पद्धति मान्ने स्वभाव भएकाहरू धेरै भएकोे देश हो। ती दुवै देशले पश्चिमी कृश्चियन प्रभावलाई अस्वीकार गरेको देखिन्छ। त्यसो भन्नुको अर्थ अमेरिकालाई चेतावनी र चुनौतीसम्म दिएको पनि अर्थ लाग्न सक्छ।

नेपालमा भने त्यस्तो अवस्था रहेन। हाम्रा नेताहरूलाई पूर्वीय आध्यात्मको बारेमा भन्दा पश्चिमीहरूको डलरमा आधारित धार्मिक प्रभाव परेको छ भन्ने गरिन्छ। नेपालमा गरिबीको कारणले जनतालाई जीवनको जोहोको लागि परम्परा आदि छोड्न परे पनि छोड्न सक्ने अवस्था रहेको छ। भ्रष्टाचारमा देश अगाडि छ। हाम्रो बजेट विदेशीको सहयोगले मात्रै बनाउन सक्दछौं। अन्यथा हामीसँग राजस्वले कर्मचारीकै तलब र विभिन्न भत्ता बाँड्न कठिन छ, तर हामी अझै स्वाभिमानी छौं। हाम्रा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपालीहरू भिखारीजस्ता भएको भन्दा हामीलाई चित्त दुख्यो। त्यो विषयको विभिन्न प्रकारले विमति आयो, यो प्रशंसनीय छ। हामीले मागेर नै काम चलाएका छौं। तर माग्ने भनिन रुचाउँदैनौं। हामीले जे गर्नु नपर्ने हो र चाहिरहेका छैनौं, त्यो बाध्य भएर गरिरहेका छौं। त्यसमा हामीलाई पीडा छ र अरूले भनिदिँदा पीडा अझै बल्झन्छ। यो नै हाम्रो सम्पत्ति हो।

नेपालीमा रहेको अर्थात् लुकेर रहेको स्वाभिमानलाई बाहिर ल्याउनु अहिलेको सरकारको दायित्व हो। जनतालाई सक्षम र आत्मनिर्भर बनाएर स्वाभिमानी रहने इच्छालाई सम्मान गर्न सक्नुपर्दछ। चिनियाँ नेताहरूले जस्तै आफ्नो समाजमा रहेको आध्यात्म र विकासको सम्भावनालाई उजागर गरेर नै देशलाई अगाडि बढाउन सकिन्छ। हामी अन्य मुलुकको सहयोगमा भ्रष्टाचार गर्दछौं तर चीनमा आफ्नै सम्पत्तिमा भ्रष्टाचार भएको होला र त उनीहरूले हामीलाई समेत सहयोग गरिरहेका छन्।

स्वतन्त्रतालाई स्वच्छन्दतामा बदलिएको महसुस गर्नु र त्यसको निराकरण गर्नु राज्य र जनताका लागि आवश्यक छ। अर्कोतर्फ लोकतन्त्रमा आफूलाई मात्र ठीक हुने परिभाषा खोज्नु पनि समस्या भएको छ। नेपाली यी समस्याको हल र आत्मनिर्भरताका साथ स्वाभिमानी बन्न चाहन्छन् भन्ने सरकार र सबै दलहरूले बुझ्न आवश्यक छ। चिनियाँहरूले जस्तै सम्पन्नता, आध्यात्म, आफ्नो पन र स्वाभिमानलाई एकाकार गरेर समानता र शान्तिको अपेक्षा नेपालीले गरिरहेका पनि छन्।

प्रतिक्रिया दिनुहोस्