गुण्डा नाइके मनोज पुनलाई सूचना दिने मुख्य सहयोगीहरु पक्राउ



बुटवल । रुपन्देही प्रहरीले गुण्डा नाइके मनोज पुनलाई सूचना दिने मुख्य सहयोगीहरुलाई पक्राउ गरेको छ ।

मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि पुनको जालो राजनीतिक तहसम्म पुगेको प्रष्ट भएको छ ।

यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुल्सिराम न्यौपाने हरी श्रेष्ठको उद्योगका म्यानेजर हुन् । पक्राउ परेकाहरुले राजनितीको आवरणमा रहेर चन्दा असुली र हत्यामा संलग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीले ठुलै मेहनत गरेको छ ।

प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुले मनोज पुनका लागि यहांका व्यवसायीहरुको अवस्थाबारे सूराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिईएको बताए ।

बाहिर बसेर रुपन्देही र अन्य जिल्लामा समेत हत्या र गुण्डा आतंक मच्चाएको मनोज पुन र सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएपछि रुपन्देही वाशीले केहि राहत महशुस गरेका थिए ।

पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरी अहिले जेलमा रहेका छन् । पुनको अपराधको जालो तोडिएको महशुस गरेको बेला एकाएक फेरिएको अहिलेको घटनाक्रमले बुटवल तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्