३३ केजी सुन काण्ड प्रदेशसभामा प्रवेश



नेपाल समाचारपत्र
विराटनगर
३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ। मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सुन काण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको जवाफ माग गरेका हुन्।

माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुन काण्ड प्रहरीको हाई कमान्डसँग जोडिएको बताउनुभयो। उहाँले यसबारे सरकारको जवाफ माग गर्नुभएको छ। कांग्रेस सांसद केदार कार्कीले प्रदेश–१ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गर्नुभयो। प्रदेशमा पछिल्ला समय अपराधिक घटना दिनानुदिन बढेको भन्दै उहाँले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताउनुभयो।

प्रदेश सरकारलाई कर्मचारीले नटेरेको, गाईघाटमा भएको बम विस्फोटका घाइते पारस राईको पैसा अभावमा उपचारमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद कार्कीले प्रदेश संसद् भवनको चारैदिशामा सीसी क्यामेराको निगरानीसहित प्रहरी बिट स्थापना गर्नसमेत माग गर्नुभएको छ। अर्का सांसद जयराम यादवले भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विस्फोटको घटनाबारे ध्यानाकर्षण गराउनुभयो। संघीय समाजवादी फोरमका सांसद यादवले बम विस्फोटबारे छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो।
मंगलबारको बैठकमा सांसदहरूले आफ्नो क्षेत्रको विकास निर्माण र नदी नियन्त्रण, सडक, शान्ति सुरक्षालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले उठाएको प्रश्नको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जवाफ दिनुभयो। प्रदेशका विभिन्न ठाउँमा भएका बम विस्फोट, व्यक्ति लक्षित आक्रमणप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो।

३३ केजी सुन काण्ड र सनम शाक्यको हत्याको अनुसन्धान केन्द्र सरकारको गृह मन्त्रालयमार्फत भइरहेको उहाँले जानकारी गराउनुभएको छ। घटनासँग सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र केही नियन्त्रणमा आउने क्रममा रहेको बताउनुभयो। कार्कीले बालसन्त श्रीनिवासमाथि गोली प्रहार गरिएको घटनामा हालसम्म प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्