क्यान हदै सम्म लचक हुने



काठमाडौं, (नेस)
यही वैशाख ६ र ७ गते हुने नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि उपस्थित हुने भएका छन् ।

निर्वाचित क्यानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराएको हो । तर आईसीसीका प्रतिनिधिको टुंगो भने नलागेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जनाए । महासचिव प्याकुरेलले नेपाली क्रिकेट बचाउनका लागि आपूmहरूले हदैसम्म लचकता अपनाउने पनि बताएका छन् ।

यसैगरी आउँदो साधारण सभामा क्यानका सदस्यहरू प्रत्यक्ष उम्मेदवार हुन र मतदान गर्न नपाउने विधान बनेको पनि प्याकुरेलले जानकारी गराएका छन् । प्याकुरेलले आफूले १७ जना केन्द्रीय सदस्यले मताधिकार पाउने विषयमा पनि कदम पछि हटाइसकेको बताएका थिए । उनले भने– ‘हामीले यस विषयमा पनि कदम पछि हटाइसकेका छौं। हालका कमिटीका रहेका १७ जना केन्द्रीय सदस्यहरूले मताधिकारबाट वञ्चित हुन पनि हामी तयार भइसकेका छौं। हामीले क्रिकेट बचाउन यतिसम्म पनि लचकता अपनाइसकेका छौं। हामीले मताधिकार नभए पनि होस् भनेर निर्णय लिँदै अघि बढेका छौं।’

यस्तैमा क्यानको चुनाव गराउन आईसीसीले मनिटरिङ कमिटी गठन गर्ने पनि प्याकुरेलले बताए । मनिटरिङ कमिटीमा आईसीसीबाट ३ जना तथा क्यान र राष्ट्रिय खेलकुद परिषद्बाट १⁄१ जना सदस्य रहने पनि जानकारी गराएका छन् । पछिल्लो समयमा क्रिकेटको उचाइ बढेकाले आईसीसीसँग पछिल्ला चरणमा भएका वार्ता र नेपाल सरकारले दिँदै आएको समर्थनको आधारमा नेपाली क्रिकेट आईसीसीबाट फुकुवा हुनेमा क्यान विश्वस्त भएको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा महासचिव प्याकुरेलले आफूहरू नै समस्याको जड भएको भन्ने भ्रामक समाचार पनि आइरहेकोमा दुःख व्यक्त गरे। उनले भने– ‘यो समस्या आएको नै हामी नै हो भन्ने आरोप लागिरहेको छ । वास्तवमा यस्तो भएको छैन । हामीले त शुरूदेखि नै निलम्वन फुकुवा भई क्रिकेटले निकास पाउनपर्ने कुरामा प्रष्ट गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्