‘जनयुद्ध’मा एमाले लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ ।

पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटीको बैठकमा सबै सदस्यले अब एकता प्रक्रिया अघि बढिसकेकाले रोक्न नहुने धारणा राखेका थिए ।
तर, नेकपा माओवादी केन्द्रले अनुपातका लागि राखेको अडान सही नभएको निष्कर्ष एमालेको थियो ।

एमालेका एक नेताका अनुसार माओवादीले पचास प्रतिशत भन्नुका पछाडि केही गम्भीर षडयन्त्र हुन सक्ने आँकलन नेताहरुले गरेका छन् ।

भोलि पार्टी फुटाउनुपरेमा आवश्यक संख्या आफूसँगै राख्न चाहेको हुन सक्ने ठहर एमालेको थियो । त्यसका लागि माओवादीले भनेको ‘जनयुद्ध’ शब्द विधानमा राखेर जान एमाले लचिलो भए पनि अनुपातमा भने अडान कायमै रहेको ती नेताले जानकारी दिए ।

एमाले नेता भीम रावलले भने बैठकपछि मंगलबार बिहान बस्ने बैठकपछि ९ गते एकता हुने कि नहुने भन्ने टुंगो लाग्ने बताए । तर, नेम्वाङले ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्