पश्चिमी क्षेप्यास्त्र हमला प्रकरण, पुनः प्रहार गरे विश्वमा व्यापक अस्थिरता फैलिन्छ ः पुटिन



मस्को, (एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यदि पश्चिमी शक्तिले सिरियामाथि पुनः कुनै प्रहार गरेमा विश्वमा व्यापक अस्थिरता आउने चेतावनी दिएका छन्।

सिरियाको डुमामा भएको रसायनिक हमलापछि शनिबार अमेरिका, फ्रान्स र बेलायतले संयुक्त रूपमा सैन्य कारबाही गरी तीन स्थानमा क्षेप्यास्त्र प्रहार गरेका थिए।

रुसले उक्त आक्रमणलाई लिएर आफ्नो आधिकारिक बयान जारी गरी त्यसको कडा आलोचना गर्दै त्यसको परिणाम भोग्नुपर्ने निश्चित भएको जनाएको थियो। तर राष्ट्रपति पुटिन आफैले अमेरकालाई भविष्यमा कुनै कारबाही गर्ने सोच नबनाउन दिएको यो चेतावनी पहिलो हो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रको विधान उल्लंघन गरी यस प्रकारको कारबाही भइरहने हो भने निश्चितरूपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति उत्पन्न हुनेमा जोड दिएका छन्।’

विज्ञप्तिमा पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोनमा वार्ता भएको र दुवै नेताले सिरियामा भएको हमलापछि सिरिया संघर्षमा राजनीतिक हलको सम्भावनालाई अत्यन्त नोक्सान पु¥याएको साझा धारणा राखेको जनाएको छ।
सिरियाको राजधानी दमास्कस र होम्समा सैन्य कारबाहीपछि अमेरिका अब अर्को उपायबाट सिरियाका शासक बसर अल असद सरकारमाथि दबाब दिने प्रयासमा रहेको बताइएको छ।

संयुक्त राष्ट्रमा अमेरिकाका राजदूत निकिहेलीले सिरियाली सरकारसँग सम्बन्ध जोडिएका रुसी कम्पनीहरूविरुद्ध आर्थिक नाकाबन्दी लगाउने तयारीमा रहेका बताएकी थिइन्। उक्त चेतावनीलाई लिएर रुसी संसद्को माथिल्लो सदनमा रक्षा समितिका उपनिर्देशक एभ्गेनी सेरेब्रेनिकोवले रुस ती प्रतिबन्धका लागि तयार रहेको बताएका छन्। प्रतिबन्धले रुसका लागि कठिनाइ उत्पन्न गराउने तर उसलाई भन्दा अमेरिका र युरोपलाई धेरै नोक्सान पु¥याउने उनले बताए।

शनिबार अमेरिका, फ्रान्स र बेलायतले सिरियाका केही संदिग्ध स्थानमा १ सय ५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए। अमेरिकाले ती स्थान सिरिया सरकारको रसायनिक हतियार बनाउने केन्द्र बताएका थिए। रुस र सिरियाले ७१ वटा क्षेप्यास्त्र खसालेको दाबी गरेका छन्।

गत हप्ता संयुक्त राष्ट्रमा रुसका राजदूत वासिली नेबेन्जियाले यदि अमेरिकाले सिरियामा हमला गरेमा रुस र अमेरिकाबीच युद्धको आशंकालाई अस्वीकार गर्न नसकिने बताएका थिए। उक्त आक्रमणका बारेमा रुसलाई जानकारी नदिएको बेलायतले जनाएको थियो तर पछि फ्रान्सले आक्रमणपूर्व रुसलाई त्यसको जानकारी दिएको बताएका थिए।

सिरियाको सरकारी च्यानलका अनुसार सिरियाले ती केन्द्रहरू रुसको सूचनापछि बमबारी हुनु केही दिनअगाडि नै खाली गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्