शान्ति कोषलाई मोना जापानको पाँचलाख सहयोग



प्रताप बानियाँ, म्याग्दी । म्याग्दी जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल संस्था ओमकुमारी शान्ति कोषलाई सोमबार आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अभावमा उपचारबाट बञ्चित भएकाहरुको उपचार अभियानमा सक्रिय भूमिका खेल्दै आइरहेको शान्ति कोषलाई मोना जापानद्वारा पाँचलाख भन्दाबढी नगद सहयोग गरिएको हो ।

जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले सङ्कलन गरेको पाँचलाख १३ हजार चारसय रुपैयाँ हस्तान्तरण गरिएको छ । गरिब तथा विपन्न परिवारका बिरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषको अभियानमा मोना जापानले उक्त रकम कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा मोना आईइसीका कोषाध्यक्ष रामबहादुर खड्का, मोना जापानका उपाध्यक्ष ईन्दिरा गर्बुजा, सल्लाहकार यामबहादुर खड्का र म्याग्दी–पोखरा चौतारी सम्पर्क मञ्चका अध्यक्ष प्रेमशङ्कर बरुवालले सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गर्दै मोनाका कोषाध्यक्ष खड्काले म्याग्देलीहरु सहयोगी मनका धनी भएकाले आगामी दिनमा जिल्लामा अन्य सहयोगहरु उपलब्ध गराउने बताएका छन् ।

सहयोग रकम बुझ्दै कोषका अध्यक्ष शाक्यले प्रवासमा रहेका म्याग्देलीहरुले परोपकारी अभियानका सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अक्षयकोषबाट प्राप्त व्याजबाट विपन्न परिवारका व्यक्तिहरुको उपचारमा सहयोग गरिने बताए । ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा विपन्न ५६ जनाको उपचारमा आर्थिक सहयोग तथा सहयोग सङ्कलनका लागि अभियान सञ्चालन गरिसकेको छ ।

कोषले विपन्न परिवारका व्यक्तिको उपचारमा सहयोग गर्न १ करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानमा हालसम्म ५० लाख नगद सङ्कलन गरिसकेको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिए । सोही कार्यक्रमको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमले आफ्नो छोरा प्रणव गौतमको जन्मदिनको अवसरमा शान्ति कोषलाई नगद पाँचहजार ५ सय ५० रुपैयाँ नगद सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्