आरन पेशाबाटै अढाईलाख आम्दानी



प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४, मुदीका मेसबहादुर विश्वकर्मालाई अहिले आरनमा भ्याइनभ्याई छ । विगत ५ वर्षसम्म विदेशको मरुभुमी कतार बसेर फर्किनुभएका उहाँ पुनः आरन पेशामै लाग्नुभएको हो । अहिले उहाँले आरन पेशाबाटै आफ्नो जिविकोपार्जन गर्दै आइरहनुभएको छ ।

दलालमार्फत विदेश पुगेपनि उहाँले त्यहाँ भनेजस्तो कमाई गर्न नसकेपछि फर्केर आरन पेशा सुरु गरेको बताउनुभयो । विदेशमा पुग्नुभएका विश्वकर्मा केबुल र एसीको काम गरेपनि गाउँ फर्किएर आरन पेशामै होमिनुभएको छ ।
आफू १२÷१३ वर्षको उमेरदेखि नै बाबुसँग आरनमा पुगेर काम गर्न थालेको उहाँले बताउनुभयो । बाबुसँगै आरनमा बसेर फलामबाट विभिन्न किसिमका सामानहरु बनाउने सिप सिकेको उहाँसँग अनुभव छ ।

आफ्नो बाबुबाजेले गर्दै आएको पुख्र्यौली आरन पेशालाई आफूले निरन्तरता दिएको विश्वकर्मा बताउनुहुन्छ । उहाँको आरनमा फलामको सहायताबाट हँसिया, कुटो, कोदालो, खुकुरी, दाबे, चक्कु, गल, घन, छिनालगायत दैनिक काममा प्रयोगमा आउने सामानहरु बन्छन् । फलामबाट विभिन्न आकार र प्रकारका सामानहरु बनाउनुका साथै विश्वकर्माले मर्मत पनि गर्नुहुन्छ । यसैगरी तामाको गाग्री, ताउलो, कुँडे, ताप्के जस्ता दैनिक उपभोग्यका सामान र सिल्टेका सामान पनि मर्मतसम्भार तथा टालटुल गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँको आरनमा अहिले मुदी, नेरबाङ, खाम्ला, खिबाङ, खारासहितका गाउँबाट ग्राहकहरु पुग्ने गरेका छन् । आरनबाट नयाँ सामान बनाउनुका साथै पुरानाको मर्मतसम्भार हुँदै आएको छ भने ग्राहक घरमै आउने गरेको आरन व्यवसायी विश्वकर्माले बताउनुभयो । उहाँले फलामका सामान बनाउन र मर्मतका लागि सामुदायिक वनबाट पूर्जी लिई गोल बनाएर आरन सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
उमेरले ३४ औं वसन्तमा घुम्दै गर्नुभएका विश्वकर्माको आरनमा खासगरी कामयावी समयमा चाप बढ्ने गरेको छ ।

कहिलेकाहीँ आरनमा सीमित मात्रामा ग्राहक आउने गरेपनि सिजन अनुसार गाउँघरमा कामको चटारो बढ्दै जाँदा हँसिया, कुटो, कोदालो बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुने गरेको छ । उहाँले जिल्लास्थित संगम म्याग्दी संस्थाबाट आरन चलाउन आवश्यक ताल, ह्याम्बर, रेतीलगायत सामानहरु सहयोग पाएको बताउनुभयो ।

आरन व्यवसायी विश्वकर्माले गाउँमा बिजुली आएको खण्डमा आरन पेशालाई अझै सहज रुपमा अगाडि बढाउन सजिलो हुने अपेक्षा गर्नुभयो । उहाँले विद्युतको प्रयोगमा पनि आरनको काम गर्ने सिप सिकेको हुँदा विद्युत आएमा आफूले पेशालाई वृद्धि गर्ने योजना बुनेको सुनाउनुभयो । आरन पेशा गर्दै आउनुभएका उहाँले डकर्मीको समेत काम गर्नुहुन्छ । उहाँले घर, धन्सार र ट्वाईलेटको गारो लगाउन आफूसँग सिप रहेको बताउनुभयो ।

आफ्नो परिवारका साथै बाबु र दिदीलाई पाल्नुभएका विश्वकर्माले आरन पेशाबाटै मात्र मासिक रुपमा २० हजार रुपैयाँ कमाउने गरेको बताउनुभयो । उहाँले ग्राहकको सामान निर्माण र मर्मत गरेवापत उनीहरुबाट अन्न समेत ल्याउने गरेको बताउनुभएको छ । अन्नका साथै कतिपय ग्राहकबाट नगद पैसा लिने गरेको विश्वकर्मा बताउनुहुन्छ । सिजन अनुसार आरन पेशामा कमाई बढ्ने र घट्ने गरेको उहाँको भनाई छ । आफूसँग सिप भएपछि पैसा कमाउनकै लागि भनेर विदेश जानुनपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्