वीरगञ्जबाट पेट्रोलियम ढुवानी ठप्प



कृष्णउदास खनाल, वीरगञ्ज ।
एक ट्याङ्कर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्याङ्कर चालकहरुले वीरगञ्जबाट पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । ट्याङ्कर चालक संघको आहृवानमा चालकहरुले सोमबार बिहानदेखि भारतको रक्सौल र बरौनी नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । वीरगञ्ज प्रहरी प्रमुखहरुले हक विना नै ट्यांकर चालकहरुलाई कुटपिट गर्ने गरेको चालकहरुको आरोप छ। प्रहरी कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार गरिदिन ट्यांकर चालकहरुले माग गरेका छन् ।

आइतबार अपरान्ह चारबजे रक्सौल डिप्पोबाट वीरगञ्जतर्फ आउने क्रममा गाडी पार्किङ गर्न खोज्दा प्रहरीहरुले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको ना.३.ख ९६३९ नम्बर गाडीका चालक सन्तोष प्रसाईको बयान छ । नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले कुटपिटबाट घाइते चालकको उपचार तथा कुटपिट गर्ने प्रहरीलाई कारवाही नभएसम्म रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ उठाउन नदिने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्