निकिता फिल्ममा: ‘रानीमहल’का कलाकार ‘रिप्लेस’



काठमाडौं  । अन्ततः निकिता चन्दकले पनि अभिनय रोजेकी छन् । ‘मिस नेपाल’हरुको अन्तिम गन्तव्य अभिनय भन्ने भनाइलाई पछिल्लो समय निकिताले चरितार्थ गरेकी छन् ।

सन् २०१७ की ‘मिस नेपाल’ निकिता ‘रानीमहल’ नामक नेपाली चलचित्रमा देखिने भएकी हुन् ।
चलचित्रमा अभिनय गर्नका लागि आइतबार निर्माणपक्षसँग सम्झौता गरेकी निकिताले भनिन्, ‘अभिनय गर्ने मेरो पछिल्लो रुचि हो ।’
यो चलचित्र स्वस्तिक फिल्मस्ले निर्माण गर्न लागेको हो ।

चलचित्र निर्माण गर्ने करिब दुई महिनाअघि नै घोषणा गरिएको थियो । तर, निकितासँग सम्झौता हुन नसक्दा फ्लोरमा जान नकसेको निर्देशक हिमाल न्यौपानेले बताए । ‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं’, उनले भने, ‘वैशाखको दोस्रो साता फ्लोरमा गइसक्नेछौं ।’

स्मरणीय कुरा के भने यो चलचित्र समयमै फ्लोरमा जान नसकेपछि अभिनेत्री वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारी अलग भएका थिए ।

निर्देशक न्यौपानेले वर्षाको ‘रिप्लेस’मा निकितालाई ‘इन्ट्रि’ गराएको सुनाए । ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही र प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन् । ‘रानीमहल’को अनुमानित बजेट २ करोड  बताइएको छ ।
दीपक पौडेलको पटकथा रहेको यस चलचित्रले प्राचिन, दार्शनिक र मनोवैज्ञानिक विषय उठान गर्ने निर्माणपक्षको दावी छ ।

प्रतिक्रिया दिनुहोस्