घुस्याहा नायव सुब्बा कमल भुजेलविरुद्ध मुद्दा दायर



काठमाडौं । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरमा कार्यरत नायव सुब्बा कमल भुजेलले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं.- ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले पक्राउ गरेको छ।

निज कमल भुजेललाई रु.१०,०००/- (दश हजार ) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान हुँदा निज नायव सुब्बा कमल भुजेलले अन्य सेवाग्राहीहरुसँग पनि जग्गाको फिल्ड निरीक्षण गरेबापत रु.३,००० (तीन हजार) र जग्गाको स्थलगत सर्जमिन गरेबापत रु १५,००० (पन्ध्र हजार) घुस बापतको रकम माग गरी लिएको भन्ने अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ ।

निजकमल भुजेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रु. २८,०००।-(अठ्ठाइस हजार ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइ २०७५ बैशाख २ गते  विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्