एमाले–माओवादी केन्द्र एकता प्रकरण, वैशाख ९ मा एकता हुनेमा आशंका



नेपाल समाचारपत्र
काठमाडौं
कपा एमाले र नेकपा माओवादी केन्द्रबीच आउँदो ९ गते पार्टी एकता हुनेमा आशंका बढेको छ। पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषयमा मोटामोटी सहमति भए पनि सांगठानिक विषयमा सहमति जुट्न नसक्दा एकताको मिति लम्बिने भएको हो।

दुवै पार्टीले औपचारिक मिति सरेको घोषणा नगरे गृहकार्य कम हुने भएकाले केही सातापछि मात्र पार्टी एकता गर्ने तयारी दुवै दलबीच शुरु भएको छ। वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना भएको अवसर पारेर दुवै दलले पार्टी एकताको घोषणा गर्ने घोषणा गरे पनि आन्तरिक तयारीको कारण पार्टी एकता घोषणा प्रक्रिया लम्बिने माओवादी केन्द्रका एक नेताले बताए। ती नेताले भने– ‘पार्टी एकता हतारोमा हुने विषय होइन, यसका लागि समय लाग्छ, पार्टी एकता गरेर पछि किचलो गर्नुभन्दा अहिले नै विवादित विषयमा सहमति जुटाएर नै एकता गर्नुपर्छ।’

पार्टी एकताका लागि पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण दुई पार्टीबीच छलफल हुन सकेको छैन। गत चैत २७ गते एकता संयोजक समितिको बैठक बस्ने पूर्वसहमति भए पनि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको कार्यव्यस्थताका कारण सर्दै आएको छ।
सांगठनिक र वैचारिक कार्यदलले दिएको प्रतिवेदनमाथि एकता संयोजक समितिको बैठकमा छलफल नै हुन सकेको छैन। एकताका लागि खाका तयार भए पनि माओवादी केन्द्रले ५०⁄५० को आधारमा एकता हुनुपर्ने अडान लिएको छ। तर, एमालेले भने ५०⁄५० को आधारभन्दा पनि पार्टीको हैसियतको आधारमा एकता हुनुपर्नेमा जोड दिँदै आएको छ।

माओवादी केन्द्रले पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिमा बराबरी संख्याको आधारमा एकता गर्नुपर्ने बताएको छ। प्रदेश र जिल्ला तहको कमिटीमा पुनर्विचार गर्न सकिने भए पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म समान हैसियतमा सदस्यहरू हुनुपर्ने अडानका कारण एमाले झस्किएको छ।
नेकपा माओवादी केन्द्रले साढे तीन लाख साधारण सदस्य र एमालेले चार लाख भन्दा बढी साधारण सदस्य रहेको दाबी गरेका छन्।

माओवादीभित्र केन्द्रीय सस्यको संख्या कति बनाउने भन्ने विषयमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। एकता संयोजक समितिको बैठकमा केन्द्रीय सदस्य, स्थायी समिति र पदाधिकारीको टुंगो लागेपछि मात्र कति जना केन्द्रीय सदस्य बनाउने भन्ने विषयमा माओवादीले छलफल गर्ने भएको छ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ९ गतेको तयारी भए पनि समय अलिकता अभाव हुने हो कि भन्ने आशंका गर्नुभयो। उहाँले पार्टी एकता गर्ने भन्ने विषयमा कुनै आशंका नरहेको बताउँदै गृहकार्य नपुगेको कारण केही दिन लम्बिन पनि सक्ने संकेत गर्नुभयो।

एमाले र माओवादी केन्द्रभित्र जनयुद्ध शब्द राख्ने कि जनक्रान्ति, चुनावी चिह्न के राख्ने र सम्मानजनकरूपमा पार्टी एकता गर्ने विषयमा विवाद रहेको छ। मुख्य तीन विषयको विवाद समाधान गर्न बस्ने भनिएको एकता संयोजक समितिको बैठक बस्न सकेको छैन।

एकता संयोजक समितिको बैठकले नै ३ विषयको समाधान गरेर पार्टी एकताको बाटो खोल्ने बताइएको छ। नेता पौडेलले भन्नुभयो– संयुक्त रूपमा निर्वाचन लडेका हौं, साठी र चालिसको आधारमा होइन समानताको आधारमा पार्टी एकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

कार्यदलले तयार गरेको प्रतिवेदनअनुसार ३ सय ९९ सय सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ। माओवादी केन्द्रले प्रतिशतभन्दा समानताको आधारमा एकता गर्नुपर्ने अडान राखेको छ।

माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति सशङ्कित बनेका छन्। सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजेपछि माओवादी केन्द्रका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। सरकार सञ्चालनको सुरुआतमै ओलीले माओवादी केन्द्रसँग परामर्श नै नगरी एकै पटक ठूलो संख्यामा सचिवहरूको सरुवा गरेपछि माओवादी केन्द्र झस्किएको छ। प्रधानमन्त्री ओलीले अहिलेकै कार्यशैली हो भने काम गर्न कठिन हुने निष्कर्ष माओवादीका मन्त्रीहरूले प्रचण्डलाई अवगत गराइसकेका छन्।

२ दलबीच देखिएको विवादको अन्तिम छिनोफानो एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र माओवादीका अध्यक्ष प्रचण्डले समाधान गर्दै आउनुभएको छ। तर भारत भ्रमणपछि दुई नेताबीच पनि पर्याप्त छलफल हुन सकेको छैन्। एकता संयोजक समितिको बैठक बस्न नसक्दा प्रतिवेदनमाथि छलफल नै हुन सकेको छैन्। नेकपा एमालेका वरिष्ठ नेता एवं एकता संयोजक समितिका सदस्य झलनाथ खनालले पचास⁄पचासको आधारमा नभई पार्टीको हैंसियतअनुसार पार्टी एकता हुने बताउनुभयो। उहाँले धेरै विषय टुंगो लागिसकेकाले केही मिल्न बाँकी विषय बैठकले टुंगो लगाएर पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्