सरकारी कार्यालयमा खाली खुट्टा



गंगा बराल, काठमाडौं
सुन्दा अचम्म लाग्न सक्छ, सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ। तर, यो सत्य हो बबरमहलमा रहेको न्याय सेवा तालिम केन्द्रमा ८ वर्षदेखि यस्तो व्यवस्था गरिएको छ।

केन्द्रका सूचना अधिकारी रमेशकुमार उपाध्याय लुइँटेलका अनुसार सेवा लिन जो गए पनि जुत्ता चप्पल फुकालेर भित्र पस्नुपर्छ। ‘सानो ठूलो मान्छे भन्ने नै हुँदैन, यो हाम्रो नियम नै हो, प्रधानमन्त्री आउँदा पनि जुत्ता चप्पल खोलेरै भित्र पस्नुहुन्छ, शुरुमा यो अभियान कस्तो होला भन्ने लागेको थियो तर अब स्वाभाविक लागेको छ’, लुइँटेलले भन्नुभयो– ‘शुरुमा असहज जस्तो लागे पनि प्रयोग गर्दै गएपछि साँच्चै राम्रो काम गरेछौं भन्ने लागेको छ।’ तालिम प्रमुख रामकुमार आचार्य रहँदा १ चरणमा कार्यालयभित्र आन्तरिक छलफल गरेर यस्तो अभियानको थालनी गरिएको हो।

‘जो आए पनि राम्रो काम भनेका छन्, अरूले पनि यस्तै अभियान चलाउने प्रतिबद्धता जनाएर जानुुहुन्छ’, उहाँले भन्नुभयो– ‘कसैलाई भन्नै पर्दैन बाहिर सूचना छ, अरूले गरेको देखेर पनि व्यवहारमा उतार्नुहुन्छ।’

केन्द्रमा करारसहित २१ जनाको दरबन्दी रहेको छ। तालिम प्रमुख कलानिधि पौडेल प्रदेश सचिव भएर गएपछि अहिले पुष्करराज नेपाल निमित्तको जिम्मेवारीमा हुनुहुन्छ। यहाँ बाहिर २२ जोर चप्पल राखिएका छन् तर कर्मचारीबाहेक अरूले प्रयोग गर्न पाउँदैनन्। शौचालय पनि घर जस्तै राम्रो बनाउनुपर्छ भनेर सबै कर्मचारीले विशेष ध्यान दिँदै आएको कार्यालयले जनाएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत २०३८ सालमा स्थापना भएको यो केन्द्रले विशेष गरी विभिन्न समयमा दक्षता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। ‘पहिला एकदम फोहोर हुन्थ्यो, सफा गरेर सम्भव नै हुँदैनथ्यो, आजभोलि न त फोहोर हुन्छ न त सफा गर्ने झन्झट नै छ।’

३५ वर्षदेखि काम गर्दै आउनुभएका कार्यालय सहायक हीराकाजी महर्जनले भन्नुभयो– ‘कार्यालय पनि राम्रो देखिएको छ, सौन्दर्यले गर्दा काम गर्ने वातावरण छ।’ केन्द्रले कार्यालयलाई हराभरा बनाउन आँगनमा बोटबिरुवा रोप्ने र प्रत्येक सिँढीमा कार्यक्रमका तस्वीरहरू राखिएका छन्।

केन्द्रमा भएका कार्यक्रमका तस्वीर खिच्न गइरहने फोटो स्टुडियो सञ्चालक हेम भण्डारी पनि केही दिन यो व्यवस्था देखेर अलमलमा परे। ‘पहिले त के यस्तो गरेको होला झन्झट भन्ने लागेको थियो, प्रयोग गर्दै जाँदा सही रहेछ भन्ने बुझेँ’ –भण्डारीले भन्नुभयो। केन्द्रमा सुविधासम्पन्न ३ वटा तालिम हल रहेका छन्। सूचना अधिकारी लुइँटेलले १ तलामाथि पनि तालिमका लागि हल रहेको र त्यहाँ जाँदा पनि तलको जस्तै जुत्ता चप्पल खोलेर जानुपर्ने व्यवस्था गर्न लागिएको जनाउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्