काठमाडौंः धूलमाडौं, हिलमाडौं र जाममाडौं



विजय ज्ञवाली

अचेल काठमाडौंले आफ्नो परिचय बदलेको छ। हामीले भन्दै, सुन्दै र कल्पना गर्दै आएको काठमाडौंको त्यो परिचय अब हाम्रा सामु रहेन, जुन आशातीत थियो। आजकल मान्छेहरू काठमाडौंलाई बिल्कुलै भिन्न नामबाट चिन्न थालेका छन्। मन्दिरहरूको शहर, कलाहरूको शहर, पौरखीहरूको शहर, स्वच्छ, सफा अनि रमणीय शहरबाट परिचय बदल्दै केही अघिसम्म सपनाको शहरको रूपमा परिचय बनाएको काठमाडौंले आजकल त्यो परिचयबाट पनि अग्रगामी छलाङ मार्दै बिल्कुलै नौलो परिचय स्थापित गरेको छ– धूलमाडौं, मास्कमाडौं र जाममाडौं। यो र यस्तै कोलाजहरूमाझ काठमाडौंको अझ अर्को परिचय पनि छ– हजारौं सपनाहरूले आत्महत्या गर्ने शहर। हो, काठमाडौंले हजार सपनाहरूलाई आत्महत्याको डिलमा पुर्याएको छ। कतिपय सपनालाई आत्महत्या गर्न प्रेरित गरेको छ भने कतिपय सपनाहरू अंकुरावस्थामै निर्मम निमोठिएका छन्। अधिकांश सपनाहरूलाई खाडीको राप र तापमा मोलमोलाइ गरेर बेचिरहेको छ काठमाडौं।

काठमाडौं चिसो अवश्य छ र उत्तिकै रापिलो पनि। संवेदनशील छ, कठोर पनि छ। किनकि मान्छेको पहिलो गन्तव्य काठमाडौं हुन थालेको छ भने अन्तिम निशाना पनि काठमाडौं नै हुने गरेको छ। तसर्थ काठमाडौंले धेरै कुरा बेहोर्दै आएको छ र बेहोर्नुपरेको छ। मितेरी गाँस्नेदेखि छातीमा गोली दाग्नेसम्मका निर्णय काठमाडौंमै हुन्छन्। त्यसैले काठमाडौं धेरै संवेदनशील छ।

काठमाडौंको इतिवृत्तान्त खोतल्नुपर्दा यसले धेरै कुरा व्यहोरेको छ, त्यसैले काठमाडौं अनुभवी छ, पाको छ। यसको इतिहास आजको भने कदापि होइन। प्राग् ऐतिहासिक इतिहास भएको यो शहर मध्यकालसम्ममा कान्तिपुर नगरीका रूपमा परिचित थियो। विभिन्न कालखण्डमा भिन्न–भिन्न राजवंशको शासन व्यहोरेको यो शहरले नेपाल एकीकरणदेखिबाट भने राजधानीको दर्जाको उपमा पाएको छ। मानवबस्तीको इतिहास खोतल्दा यहाँ नवपाषाण युगका अवशेषहरू भेटिएका छन्। काठमाडौंको मालीगाउँमा १८५ इस्वी संवत्को मूर्ति सबैभन्दा प्राचीनतम तिथिसहितको अवशेष मानिएको छ। चावहिलमा अवस्थित सम्राट अशोककी पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब २ हजार वर्ष पुरानो चैत्य हो। त्यसैले काठमाडौं कच्ची मिट्टी अवश्य होइन। काठमाडौंको मजिपात (मञ्जुपतनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई प्रथम सांस्कृतिक सभ्यताको केन्द्रको रूपमा लिइने गरिएको छ भने विभिन्न राजवंशी, सेनवंशी, ठकुरी, मल्ल, गोपाल, महिषपाल, अमीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरूको शासनपछि राणा र राजाहरूको रजाइँ बेहोर्दै आएको काठमाडौंले अहिले भने गणतन्त्रका नवप्रवेशी ठुल्दाइहरूको हैकम बेहोर्दै छ। यत्ति मात्र होइन, सत्ता उन्माद, शक्ति अनि व्यक्तित्व टकरावमा रगतको होली खेल्ने र खोलो बगाउने धेरै छन् यहाँ। त्यसैले काठमाडौंले राणाकाल भोग्यो, राजतन्त्र भोग्यो, दरबार हत्याकाण्ड भोग्यो, प्रजातन्त्र भोग्यो अनि भोगिरहेछ गणतन्त्र। धेरै अनुभव छ काठमाडौंलाई र त काठमाडौं पाको पनि छ, काँचो पनि छ।

अचेल काठमाडौं पूरै धूलमाडौंमा परिणत भएको छ। र, त मास्कमाडौंको उपमा पाएको छ। मास्कमाडौंमा मुखौटाहरूको यत्ति तछाँडमछाँड छ कि मानौं अपराधी नै अपराधीले भरिएको शहरझैँ लाग्छ काठमाडौं। कसैले कसैको अनुहार प्रस्ट देख्दैन, सबैको अनुहार अपराधीको अनुहारजसरी नै छोपिएको छ। काठमाडौंमा यति धेरै मास्कधारीको बिगबिगी हुनुको कारण धूलो आतंक नै हो। मेलम्चीलाई आतंकको दर्जा दिऔं वा केको दर्जा दिऔं, तर धूलो आतंकको मूल कारण मेलम्ची नै हो। तर सडक विभाग पनि अछूतो छैन, मेलम्चीले जस्तै धूलो र हिलोको महाआतंक झनै सडक विभागले पो मच्चाएको छ। अचेल काठमाडौंमा शायद यस्तो सडक नहोला कि जहाँ धूलो नउडेको होस्, नभत्किएको होस्। जता हेर्यो त्यतैका सडक यति नराम्रोसँग भत्काइएको छ कि शायद अब कति वर्ष कुर्नुपर्ने हो, ती सडक धूलो–धुवाँवाट उन्मुक्ति पाउनका लागि। घरबाट बाहिर निस्किनेबित्तिकै अनिवार्य मास्क लगाउनै पर्ने भएको छ। जता गयो उतै धूलो, धुवाँ अनि अस्तव्यस्त सडक। प्रत्येकका मुख मास्कले छोपिएका छन्, अपराधीका झैँ। तसर्थ आजकल काठमाडौंको अर्को परिचय थपिएको छ मास्कमाडौं। काठमाडौंको नाम फेरिएको छ, परिचय फेरिएको छ– धूलमाडौं र मास्कमाडौं। यत्ति मात्र कहाँ हो र ? काठमाडौंले अझ अर्को परिचय पनि बनाएको छ– जाममाडौं। यसै त मास्कमाडौंमा दिनहुँको जामले मास्कधारीहरू आक्रान्त छन् अझ त्यसमाथि मेलम्चीरूपी आतंकले गर्दा काठमाडौं जाममाडौंमय भएको छ। अलिकति नाक जोगाउने खालका सडक थिए धूलमाडौं अनि मास्कमाडौंमा, त्यसमा पनि मेलम्ची आयो, डोजर चलायो, सडकको सत्यनाश बनाएरै छाड्यो। सडकैभरि खाल्टाखुल्टी, थुप्राथुप्री अनि तेर्सिएका मेलम्चीका इज्जतदार पाइपहरूले गर्दा सडकमा गुड्ने सवारीले अत्यन्तै सास्ती पाउनुपरेको छ। यसले गर्दा सडकमा झनै जाम हुने गरेको छ। त्यसैले धूलमाडौं र मास्कमाडौं जाममाडौंमा परिणत भएको छ।

विदेशतिर त थोरै थोरै भत्काउने अनि टालिहाल्ने, फेरि अलिकति भत्काउने अनि त्यसलाई टाल्ने वा वैकल्पिक मार्गको प्रयोगद्वारा रातारात सडक दुरुस्तै बनाएर छाड्थे, तर हाम्रोमा निमेषभरमै लथालिंग पार्यो अनि बनाउने बेलामा सर्वोच्चको आदेश कुर्नुपर्ने। यस्तै मेलम्चीले सडक विभाग, सडकले महानगर, महानगरले फलानो, फलानोले फलानोको मुख ताक्यो अन्ततः हात लाग्यो शून्य। यस्तै छ हाम्रो विकासको मोडल, तरिका। शायद विदेशीले पनि हाम्रो विकास गर्ने तरिकाबाट केही सिक्ने कि ? किनकि दह्रो कमिसनको खेल हुन्छ बाबु ⁄ त्यसैले छोड आफ्नो रोलमोडलको विकास, नेपाल आऊ, विकास के हो त्यो सिक, कमिसनको खोलो भनेको के हो, त्यो पनि राम्रोसँग सिकेर जाऊ, आफ्नो देश नेपालजस्तै बनाऊ न, हुँदैन र विदेशी महोदय ?

अलिकति व्यावहारिक पाटोको कुरा गर्ने हो भने, विकासको दीर्घकालीन नीति अवलम्बन गर्नै पर्दछ। मेलम्ची आउँदै छ भनेर सरकार र सडक विभागलाई थाहा नभएको होइन। त्यतिखेर नै सडक बनाउँदा र पिच गर्दा मेलम्ची आयोजनासँग सहकार्य गरेर सडकमा मेलम्चीको पाइप सँगै लैजान सकिन्थ्यो, तर त्यो दूरदृष्टि कसैमा आएन। नआएको त नहोला, तर त्यति खेर सबैका आँखाले भविष्यको कमिसनको बहार देखेका होलान्, त्यसैले त्यति खेर नै त्यो काम नभएको मान्न सकिन्छ। अहिले आएर भएको त्यही छ, मेलम्चीले भटाभट भत्काउँदै गइरहेको छ, अब यता त्यही भत्काएको टाल्न कहाँदेखि कहाँसम्म कमिसनको जालो बिच्छिएको छ, आखिर खोजेकै त्यही हो। नत्र त काठमाडौंमा सडक विस्तारसँगै मेलम्ची आयोजनाका पाइपहरू उक्त आयोजनासँग समन्वय गरेर पहिल्यै गाडिइसकेका हुन्थे अनि सडक विस्तार गरिन्थ्यो। भैगो अब यो त भयो–भयो। यसरी भत्किएका सडक एक वर्षपछि मात्र बनाउने भनेको मात्र छ, बन्ने त कहिले हो राम जाने। तर फेरि अर्को महाकमिसनको चक्कर देख्दै छु म। कुरो के भने, अब फेरि शहर नै कुरूप बनाउने गरी पोलमा तन्द्राङतुन्द्रुङ झुन्ड्याइएका तारहरू जमिनमुनि गाडेर लैजाने प्रस्ताव आयो भने फेरि सडकको यस्तै दूरवस्था हुने होला। फेरि सडक भत्काइने होला, धूलो र हिलोले फेरि पनि काठमाडौं आक्रान्त हुने होला। तसर्थ त्यस्तो दूरवस्था आउनुपूर्व सरकार र सम्बन्धित निकायले बेलैमा सोचेर ध्यान दिनुपर्छ। सडक पिच हुनुभन्दा अगावै यी तारहरूलाई जमिनमुनिबाट विस्तार गरेर मात्र पिच गरेमा धेरै ठूलो काम हुने थियो। नत्र मेलम्चीको जस्तै आतंक तार जमिनमुनिबाट लैजाने बहानामा फेरि दोहोरिनेछ।

काठमाडौंलाई सफा एवं धूलोमुक्त बनाउन हामी नागरिकको भूमिका पनि अहम् रहन्छ। दैनिक हाम्रो सानो प्रयासले पनि काठमाडौंलाई ७५ प्रतिशत सफा राख्न सकिन्छ। त्यसका लागि सडकमै माटो, ढुंगा, गिटी, बालुवा थुपारेर आफ्नो घर या व्यावसायिक भवन बनाएर बाटोको स्वच्छता अनि सुन्दरता बिगार्ने काम कसैबाट हुन भएन। सडक बिग्रिनु, धूलो बढी उड्नु, हिलो जम्नुका मुख्य कारणमध्ये मान्छेको यो चरित्र पनि एक हो। निर्माणको काम सकिइसकेपछि सामान थुपारेको सडकको मर्मत एवं सफाइमा आजसम्म कसैको पनि ध्यान गएको देखिँदैन। हामीलाई शान, रबाफ र सम्मान खुबै चाहिन्छ, तर घरबाहिरको एक इन्च पनि सफा गर्ने नैतिक हिम्मत हामीमा छैन। घर–आँगन चिटिक्क चाहिनेले घरवरपर उस्तै गरेर चिटिक्क पार्ने हो भने राजधानी आधाभन्दा धेरै सफा हुने थियो। घरधनीले आफ्नो घरवरपर पनि कम्तीमा एक–एक मिटरका दरले चिटिक्क पार्ने, खोल्साखोल्सी छन् भने सामूहिकरूपमा सफा गर्ने पद्धतिको विकास गर्ने, नाली–कुलो छ भने पनि साप्ताहिकरूपमा सफा गर्ने नैतिक हिम्मत जुटाउने हो भने काठमाडौं ७५ प्रतिशत सफा हुने थियो। साथै सरकारले खानेपानी, ढल, जमिनमुनि तार बिछ्याउने कार्य र सडक मर्मत एकैपटक हुने गरी समन्वयात्मक भूमिका निर्वाह गरी कार्यान्वयन गराउने हो भने पनि काठमाडौं धूलो, हिलो अनि जाममुक्त हुन मद्दत पुग्ने थियो।

प्रतिक्रिया दिनुहोस्