४ स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री प्रमाणपत्र



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीका चारओटा स्वास्थ्य संस्थाहरुले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणपत्र पाएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका सूचकहरु पूरा गरेपछि स्वास्थ्यसंस्थाहरुलाई प्रमाणीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका ९ ओटा राष्ट्रिय मापदण्डहरु पूरा गरेपछि सिद्धेश्वर, भौनेली,शर्माली र कुवाकोटलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा प्रमाणीकरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो ।

किशोरीकिशोरीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न अलगै कोठाको व्यवस्था भएको, स्वास्थ्य व्यवस्थापन समितिमा किशोरकिशोरीहरुको सहभागिता गराइएको, किशोरकिशोरीहरुका लागि पाठ्य सामग्री उपलब्ध भएको लगायतका मापदण्ड रहेको उहाँले बताउनुभयो ।

यस्तै ८७ ओटा सूचकहरु पूरा गरेको आधारमा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्दै आएको छ । किशोरकिशोरीहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणा आएको बताइएको छ । बैतडीमा ६८ वटा स्वास्थ्य संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्