नयाँ वर्षको शुभारम्भसँगै पचालझरना महोत्सव उद्घाटन



कालीवहादुर मल्ल, कालिकोट।

नयाँ वर्ष २०७५ को शुभारम्भसँगै कालिकोट जिल्लामा पचाल झरना महोत्सवको एक कार्यक्रमका विच उदघाटन गरिएको छ । एसियाकै अग्लो रुपमा दावि गरिएको ३ सय ८१ मिटर अग्लो झरनाको विश्वमै पहिचान गराउने उद्देश्यकासाथ महत्सवको आयोजना गरिएको हो ।


गाउँपालिकाले महोत्सवमा पचाल झरनाको प्रचार–प्रसार र यहाँको चिनारी दिने उद्देश्यकासाथ प्रतिनिधि सभा सदस्य सांसद दुर्गवहादुर रवतले महत्सवको उदघाटन गरेका छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन बर्षसगै गरेको र पर्यटन बर्ष भित्र नै पचाल झरनाको प्रचार लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्क सेजुवालले बताए । ‘प्रदेश सरकारले कर्णाली पर्यटन बर्ष घोषणा गरेको छ ।’ उनले भने,‘पर्यटन बर्षलाई सफल पार्नका लागि पचाल झरना महोत्सवको आयोजना गरिएको हो ।’

महोत्सवमा करिब २० हजार मानिसहरुले पचाल झरनाको अवलोकन गराउने लक्ष्य राखिएको गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेले बताईन् । ‘महोत्सवमा करिव २० हजार मानिसहरुले झरनाको अवलोकन गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।’ उनले भनिन्,‘झरनाको बारे देशभर प्रचार पनि यसै अवधिमा गरिने छ ।’

महोत्सवमा स्थानीय खानाका परिकार, भेषभुषा, कला साहित्यहरु प्रर्दशनी गरिने गाउँपालिकाले जनाएको छ ।

पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिएपछि पचाल झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी गरिएको छ ।
पचालझरनाको वास्तबिक उचाई ३ सय ८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए ।

‘यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३ सय ६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।’ उनले भने ‘वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्