२०७४ मा नेपाली कला क्षेत्र



रश्मी थापा

जेठ १९ गते हिडन ट्रेजर आयोजित नेपालकै पहिलो सौन्दर्य प्रतियोगितामा मोरङकी नितिका चण्डक मिस नेपाल २०१७ भइन्। उनी मिस पपुलर च्वाइस र मिस कन्फिडेन्स पनि भएकी थिइन्। प्रतियोगितामा वीरगन्जकी रोजिना श्रेष्ठ मिस नेपाल अर्थ, दाङकी नीति शाह मिस नेपाल इन्टरनेसनल र ललितपुरकी सहारा बस्नेत मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनल भएकी थिइन्।

नायिका निशा अधिकारीले असार १६ गते क्रिकेटर शरद भेषवाकरसँग विवाह गरिन्। ३ वर्षदेखि प्रेममा रहेको उनीहरूले राजधानीको एक होटलमा विवाह गरेका थिए। निशा हाल गर्भवती छिन्।

वर्षकै पहिलो फिल्म अवार्डका रूपमा पाँचांै एनएफडीसी नेसनल अवार्ड राजधानीमा असार ३ गते सम्पन्न भयो। जसमा फिल्म छक्का पञ्जाले फिल्म, नवनिर्देशक, अभिनेतृ र हास्य कलाकार गरी ५ अवार्ड जित्यो। तर, यी विधाका अवार्ड घोषणाअघि नै यसका निर्देशक दीपाश्री, निर्माता दीपकराज गिरी र हास्य कलाकार केदार घिमिरे कार्यक्रम हलबाट बाहिरिएकाले नायिका प्रियंका कार्की तथा कलाकार निर्मल शर्मा लगायतले अवार्ड ग्रहण गरेका थिए। फिल्म पुरानो डुंगाले पनि ५ वटै अवार्डलाई आफ्नो बनाएको थियो भने जात्राबाट विपीन कार्की र छक्का पञ्जाबाट प्रियंका कार्की उत्कृष्ट अभिनेता अभिनेतृ घोषित भएका थिए।
असार २२ गते हेटौंडामा भएको नवांै छायाँछवी डी सिने अवार्डमा फिल्म छक्का पञ्जाले सर्वाधिक नवनिर्देशक, अभिनेतृ, हास्य कलाकारलगायत गरी ११ विधाको अवार्ड चुम्यो। सर्वाधिक अवार्ड पाउने दोस्रो फिल्म गाजलु सावित भयो। कार्यक्रममा लाइफटाइम लिजेन्ड्री अवार्डबाट संगीतकार शम्भुजित बास्कोटा सम्मानित भए भने चलचित्रकर्मी रजत सम्मानबाट अभिनेता सरोज खनाल र अभिनेतृ रूपा राना सम्मानित भए। त्यसै गरी चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण सुवेदी ९ हजार ९ सय ९९ रुपियाँसहित पुरस्कृत भए।
साउन तेस्रो साता राजधानीमा भएको छैठांै म्युजिक खबर म्युजिक अवार्डमा सुगम संगीततर्फको अवार्ड म लडेको मात्र हुँ बोलको गीतबाट गायक रामकृष्ण ढकाल र नजरमा तिम्रोबाट जुना प्रसाईं तथा नदेख्नुपथ्र्योबाट गीतकार डा. कृष्णहरि बरालले अवार्ड चुमे। कार्यक्रममा विन्ध्यवासिनी म्युजिक कम्पनीबाट प्रकाशित रामकृष्ण ढकालको अडियो एल्बम सर्वोत्कृष्ट एल्बम सावित भएको थियो। 

राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साउनको तेस्रो साता भएको दोस्रो एलजी सिने सर्कल अवार्डमा जात्रा फिल्म बेस्ट फिल्म अफ द इएर घोषित भयो भने यही फिल्मबाट विपीन कार्की र वर्षा राउतले उत्कृष्ट अभिनेता तथा अभिनेतृको अवार्ड चुमे। सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्रदीप भटराईले चुमे। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिनेता तथा गायक सीपी लोहनी तथा बलिउडमा समेत ख्याति कमाएकी अभिनेतृ माला सिन्हा विशेष अतिथि रहेका थिए। समारोहमा द्वन्द्व तथा फिल्म निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

भदौ ४ गते छायाँछवि क्रियसनले तीजसम्बन्धी गीतलाई लिएर गरेको छायाँछवि तीज म्युजिक अवार्डमा उत्कृष्ट तीज गीतको अवार्ड यूकेको साडीबाट टीका पुनले चुमिन् भने तीज दोहोरी गायक–गायिकाको अवार्ड माइती र चेली बोलको गीतबाट गायक रवि थापा मगर र हङकङको चुरा बोलको गीतबाट सुनीता गुरुङले जितेकी थिइन्।

भदौ महिनामै अमेरिकाको डेनभर कोलाराडोमा भएको दोस्र्रो ग्लोबल नेपाली अवार्डमा फिल्म छक्का पञ्जा उत्कृष्ट फिल्म र यही फिल्मबाट दीपाश्री निरौला निर्देशक विधाको अवार्ड विजेता भए। त्यसै गरी अनमोल केसीले नायक र केकी अधिकारीले लभ सासाबाट नायिकाको अवार्ड जितेको कार्यक्रममा अभिनेता टीका पहरीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०७१ बाट सम्मान गरिएको थियो।

भदौ १७ गते विश्वमै पहिलोपटक ३ सय ६५ गायकगायिकाले संयुक्तरूपमा गाएको मिलनकोली शीर्षकको गीत राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायतबाट सार्वजनिक गरियो। वातावरणसम्बन्धी उक्त चेतनामूलक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा २०७३ जेठ ६ गते रेडियो नेपालको स्टुडियो सिंहदरबारमा रेकर्ड गरिएको थियो।

रिलिजमा आएकै दिन टेलिभिजन वा अन्य विद्युतीय माध्यममा प्रसारण हुने फिल्म हलमा रिलिज नगरिने नेपाल चलचित्र संघको निर्णय विवादको विषय बन्न पुग्यो। रेखा थापाको फिल्म रुद्रप्रिया हल र डिस होममा एकैदिन रिलिज गरिएपछि वितरक तथा प्रदशकहरूको साझा संगठन चलचित्र संघले यस्तो निर्णय गरेको थियो।

२३ विधामा प्रदान गरिएको १९औं इमेज अवार्डमा संगीत क्षेत्रमा योगदान पुर्याएबापत संगीतकार दीपक जंगमलाई नगद १ लाख रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। कार्यक्रममा उत्कृष्ट गीतको अवार्ड साइँलीबाट हेमन्त रानाले, एल्बमको अवार्ड क्यानभासबाट सुरजकुमार थापाले, उत्कृष्ट संगीतको अवार्ड आज फेरिबाट हरि लम्सालले, पुरुष गायनको सताउ या मताउबाट कर्मा ग्याल्जेन बोम्जोन गुरुङले, महिला गायनको अवार्ड म रुँदा हास्नेबाट अञ्जु पन्तले जितिन्।

असोजको पहिलो साता हिडन ट्रेजरले संगीतकार दीपक जंगमलाई अगाडि सार्दै अविरल यात्रा २०७४ नामक सांगीतिक कार्यक्रमको आयोजना गर्यो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीतकार राजु सिंहको संगीत संयोजन तथा परिचानलनमा झण्डै ३ घण्टासम्म चलेको कार्यक्रममा विभिन्न गायकगायिकाले जंगमद्वारा संगीतबद्ध विभिन्न १९ सदावहार र लोकप्रिय गीत प्रस्तुत गरेका थिए।

अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजित सनफ्रन्सिस्को फिल्म फेस्टिभलमा फिल्म पञ्चायतले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जित्यो भने नायिका नीता ढुंगानाले सोही फिल्मबमाट विदेशी भाषाको फिल्म अभिनेतृको अवार्ड पाइन्।

मंसिर २ गते विन्ध्यवासिनी फाउन्डेसनद्वारा राजधानीमा सम्पन्न विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ २०७४ मा गायक दीप श्रेष्ठ नगद ५० हजार १ रुपियाँसहित विन्ध्यवानसिनी संगीत साधना सम्मानबाट सम्मानित भए।

चलचित्र समीक्षक समाजले आयोजना गर्दै आएको तर प्राविधिक कारणले ३ वर्षदेखि रोकिएको २०७१, २०७२ र २०७३ गरी ३ वर्षको क्रिटिक्स अवार्ड विजेताहरूलाई प्रदान गर्यो।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा पहिलोपटक महिला अध्यक्षको रूपमा निकिता पौडेल नियुक्त भइन्। टिभी फिल्मी र रेडियो फिल्मीको अध्यक्षसमेत रहेकी पौडेल फिल्म निर्माता, निर्देशक वितरक तथा प्रदर्शक उद्धव पौडेलकी छोरी हुन्।

लामो समयदेखि अमेरिका बस्दै आएका नायक तथा आरजे राजबल्लभ कोइरालाले लामो समयदेखि प्रेममा रहेकी अमेरिकाबासी प्रतीमा विमलीसँगको प्रेमलाई गन्तव्य दिँदै अमेरिककामै लगनगाँठो कसे।

नायिका श्वेता खड्काले श्वेता फाउन्डेसनबाट सिन्धुपाल्चोकमा निर्माणाधीन माझीबस्तीको सहयोगार्थ कान्छी म्युजिकल नाइट आयोजना गरिन्। राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित उक्त सांगीतिक साँझमा नृत्य निर्देशक वसन्त श्रेष्ठलाई नगद ५० हजार रुपियाँसहित सम्मान गरिएको थियो।

विन्ध्यावासिनी फाउन्डेसनद्वारा पुस १५ गते राजधानीको आर्मी अफिसर्स क्लबमा भएको आठौं विन्ध्यावासिनी म्युजिक अवार्डमा गीतकार रत्नशमशेर थापालाई नगद १ लाख २ हजार २ सय २ रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरियो। त्यसै गरी १५ हजार ५ सय ५५ रुपियाँसहित पत्रकार डब्बु क्षत्रीलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मान गरिएको थियो भने विन्ध्यवासिनी चलचित्र सम्मानबाट १० हजार एक रुपियाँसहित अभिनेता तथा फिल्म निर्देशक सुदर्शन थापालाई सम्मान गरिएको थियो।

गत पुसमा द्वन्द्व निर्देशक, अभिनेता तथा फिल्म निर्देशक राजेन्द्र खड्गी जेल चलान भए। कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैधरूपमा दक्षिण कोरिया पुर्याएको आरोपमा खड्गीलाई जेल चलान गरिएको हो। सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएको अभियोगमा पक्राउ परेका उनलाई धरौटीमा रिहा गरिएको छ।

माघ १६ गते राजधानीको आर्मी अफिसर्स क्लबमा तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ सम्पन्न भयो। सम्मानको शृंखलाबाट शुरू भएको अवार्ड समारोहमा हरिहर शर्मा र शकुन्तला शर्माको अभिनेता तथा रंगकर्मी दम्पतीलाई कला तथा छायाँकार मञ्जुकुमार श्रेष्ठलाई १ लाख रुपियाँसहित प्रविधितर्फको कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरिएको थियो। अवार्ड समारोहमा फिल्म छक्का पञ्जाले उत्कृष्ट फिल्म, नवनिर्देशक, खलपात्र सहअभिनेतासहित कुल ८ अवार्ड चुमेको थियो भने डाइङ क्यान्डलले जुरी अवार्डका साथ सर्वोत्कृष्ट अभिनेतृ, छायाँकार, बाल कलाकार र शृंगार गरी दोस्रो सर्वाधिक ५ विधाको अवार्डलाई आफ्नो बनायो। अभिनेताको अवार्ड जात्राबाट विपीन कार्कीले चुमे भने अभिनेतृको अवार्डलाई डाइङ क्यान्डलबाट सिर्जना सुब्बाले आफ्नो बनाइन्। अवार्ड कार्यक्रम २ महिनापछि गत चैत १० गते एकैदिन ४ टेलिभिजन च्यानल मार्फत विश्वव्यापी गरिएको थियो।

फागुन २९ गते नेपाली फिल्म क्षेत्रका लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले प्रेमिका रोजी घिमिरेसँगको प्रेमलाई गन्तव्य दिँदै ललितपुरस्थित निजी निवासमा विवाह गरे।

नेपाल चलचित्र कलाकार संघद्वारा राजधानीको आर्मी अफिसर्स क्लबमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित दोस्रो फान अवार्ड २०७३ मा फिल्म छक्का पञ्जाले सर्वाधिक धेरै पौने दर्जन विधाको अवार्ड चुम्यो। २४ विधामा अवार्ड प्रदान गरिएको समारोहमा छक्का पञ्जाले उत्कृष्ट फिल्मसँगै नवनिर्देशक, खलपात्र, सहअभिनेता, हास्य कलाकार, पटकथा, संवाद, संगीतकार र नृत्य निर्देशक गरी ९ विधाको अवार्ड चुमेको हो। जात्राबाट विपीन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा डाइङ क्यान्डलबाट सिर्जना सुब्बा अभिनेतृ अवार्डको हकदार बनिन्। समारोहमा फिल्म हस्ती नीरविक्रम शाहलाई नगद १ लाख ११ हजार १ सय ११ रुपियाँसहित दीर्घ साधना सम्मान २०७४ प्रदान गरिएको थियो।

चैत २८ गते राजधानीमा भएको सौन्दर्य प्रतियोगितामा हेटौंडाकी शृंखला खतिवडा मिस नेपाल २०१८ भइन्। त्यसै गरी गोरखाकी मनीता देवकोटा मिस नेपाल युनिभर्स, काठमाडौंको प्रिया सिग्देल मिस नेपाल अर्थ र काठमाडौंकै रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल भएका छन्।

प्रतिक्रिया दिनुहोस्