इलाम बजार २ सय वर्षमा ‘देश आर्थिक समृद्धिको दिशामा’



नेपाल समाचारपत्र
वैशाख
उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउनुभयो। इलाम सदरमुकाम (खलंगा) को दुई सय वर्ष पुगेको अवसरमा इलाम नगरपालिकाले आयोजना गरेको ‘इलामः हाम्रो गौरव’ नारासहित तीन दिने महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ अघि बढेको उल्लेख गनर्’भएको हो।

उहाँले भन्नुभयो–‘२०७४ साललाई निर्वाचनको रूपमा बिदाइ गरिएको छ। अब २०७५ साललाई भने विकास र समृद्धिको वर्ष बनाउनुपर्छ।’ ‘हामीले विभिन्न चरणका निर्वाचन सम्पन्न गरी देशलाई यहाँसम्म ल्याउन सफल भएका छौं,’ पुनले भन्नुभयो–‘अबको एकमात्र संकल्प र साझा एजेन्डा विकास र समृद्धि हो। त्यसका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्दछ।’
संविधानले नै समाजवादी व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले त्यसका लागि विभिन्न क्षेत्रमा प्रतिस्पर्धाको जरुरी रहेको बताउनुभयो। उनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशहरूले प्रतिस्पर्धा गर्नुपर्ने विचार प्रकट व्यक्त गर्नुभयो। स्थानीय तहबीच समेत स्वच्छ र सहयोगात्मक प्रतिस्पर्धा गर्न उपराष्ट्रपति पुनले सुझाव दिनुभयो।

 महोत्सव उद्घाटनका क्रममा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि धरान उपमहानगर प्रमुख तारा सुब्बा र इलाम नगर प्रमुख महेश बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। त्यस्तै इलाम नगरपालिका र माईभ्याली फुटबल क्लबबीच पनि माईभ्याली गोल्डकपको प्रथम पुरस्कार मेयर्स प्राइजको नाममा नगरपालिकाले प्रवद्र्धन नगरप्रमुख बस्नेत र माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।
उद्घाटनमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितको र्यालीले इलाम बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो। आयोजकले इलामका नागरिक युद्धप्रसाद वैद्यलाई झाँकी र बाजागाजासहित विशिष्ट नागरिकको सम्मान गर्दै रथारोहण समेत गराएको छ।

सुगौलीको सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो। आदिवासी लेप्चा र लिम्बू जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले २००औं वर्षको कार्यक्रम आयोजना गरीएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्