पदाधिकारी चयनमा देउवालाई टेन्सन



रामकृष्ण चापागाई, काठमाडौं
पार्टी नेतृत्वको असक्षमताका कारण नेपाली कांग्रेस अहिले इतिहासमा सबैभन्दा कमजोर अवस्थामा पुगेको भनी चर्को आलोचना भइरहेको बेला सभापति शेरबहादुर देउवा पदाधिकारी चयन गर्ने गृहकार्यलाई तीव्रता दिनुभएको छ। पदाधिकारी चयनको गृहकार्यमा जुटेसँगै सभापति देउवालाई असन्तुष्टि जनाउनेहरूले अप्ठ्यारोमा पार्न थालेका छन्।

महाधिवेशन भएको दुई वर्षसम्म पनि पार्टी संरचनालाई पूर्णता दिन नसकेको आरोप खेपिरहेका सभापति देउवाले विधानअनुसार सबै सांगठनिक संरचनालाई पूर्णता दिँदै पार्टीभित्रको असन्तुष्टिलाई साम्य बनाउने गृहकार्यमा जुट्नुभएको छ। लामो समयसम्म पदाधिकारीलगायत पार्टीको सांगठनिक संरचनाले पूर्णता नपाउँदा कांग्रेसले हालै सम्पन्न निर्वाचनमा लज्जास्पद हार बेहोरेको मात्र होइन इतिहासमै सबैभन्दा कमजोर पार्टी बनेको भन्दै केही केन्द्रीय सदस्यहरू भने महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन्।

पार्टी विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री अझै मनोनित भएका छैनन्। केन्द्रीय विभागहरूको गठन प्रक्रिया पनि अघि बढेको छैन। पदाधिकारी मनोनित नहुँदा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानसमेत गठन हुन सकेको छैन। उपसभापतिको नेतृत्वमा रहने यो प्रतिष्ठान क्रियाशील नहुँदा पार्टीको आदर्श, सिद्धान्त तथा नीतिबोध गराउन सकिएको छैन।

केन्द्रीय सदस्यहरूको प्रमुखमा रहने संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संसदीय विभाग, महिला विभाग, प्रचार विभाग, विद्यार्थी विभाग, तरुण विभागलगायत ४२ वटा विभागहरू गठन नहुँदा पार्टीले प्रभावकारी काम गर्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना भइरहेको छ।

कांग्रेस विधानमा महाधिवेशनबाट निर्वाचित सदस्यमध्यबाट एकलाई उपसभापति मनोनित गरिने उल्लेख छ।

सभापति देउवाले गच्छदारलाई संसदीय दलको उपनेतामा मनोनित गरे पनि गच्छदार सन्तुष्ट हुनुभएको छैन। सभापति देउवाले निधिलाई उपसभापति बनाउने सम्भावना बढी छ। उपसभापति बनाउने संकेतका साथ सभापति देउवाले यसअघि विदेश भ्रमण जाँदा निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिनुभएको थियो। तर गोपालमान श्रेष्ठ भने उपसभापति आफूलाई बनाउने भन्दै बचन दिएको दाबी गर्नुहुन्छ।

महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको नाम चर्चामा रहेको छ। बालकृष्ण खाँणले समेत महामन्त्री दाबी गरेको भन्दै संसदीय दलको प्रमुख सचेतक पदमा असन्तुष्टि राखेको बताइन्छ।

खुमबहादुर खड्काको निधनपछि गुटको नेतृत्व गर्नेबारे पूर्णबहादुरको नाम आइरहेको र सो समूहले सभापति देउवालाई लगातार दुई महाधिवेशनमा सहयोग गरेकाले उहाँलाई नै महामन्त्री बनाउने सम्भावना रहेको देउवा निकट एक नेताले बताएका छन्।

सहमहामन्त्रीमा पौडेल गुटले पनि भाग खोजिरहेको छ। डा. प्रकाशशरण महत, महेश आचार्य, मानबहादुर विश्वकर्मालगायतले सहमहामन्त्रीको दाबी गरिरहेका छन्। सहमहामन्त्रीमा महतको सम्भावना बढी छ। महामन्त्रीमा खड्का र कार्कीमा विवाद बढेर महतलाई मनोनित गरियो भने सहमहामन्त्रीमा विश्वकर्माको सम्भावना देखिने कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेस नेता डा. शेखर कोइराला भने सभापतिले २ महिनामा गर्ने काम २ वर्षसम्म पनि गर्न सक्नुभएको छैन भन्दै अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ नहुने बताउनुहुन्छ। सभापतिले पदाधिकारी चयन र विभाग गठन गरे पनि अब नमान्ने भन्दै उहाँले संघीय र प्रादेशिक संरचनाअनुसार पार्टीको विधान व्यापक संशोधन गर्न केन्द्रीय समिति बैठकले विधान संशोधन समिति गठन गर्नुपर्ने बताउनुहुन्छ। साथै उहाँले तत्काल पार्टीको १४औं महाधिवेशन गर्न पनि माग गर्नुभएको छ।

यसअघि १२औं महाधिवेशनबाट नेतृत्वमा आएका सुशील कोइरालाको कार्यकालमा देउवा पक्षले असहयोग गरी निकै अप्ठ्यारो बनाएको थियो। कोइरालाको पालमा देउवाले ९ महिनासम्म केन्द्रीय समिति बैठक नै बहिष्कार गर्नुभएको थियो। विभाग र अञ्चल कमिटीको जिम्मेवारी पाएका देउवा पक्षका नेताहरूले राजीनामा दिएर कोइरालालाई असहयोग गरेका थिए। अहिले तुलनात्मक रूपमा देउवालाई सहज छ। केन्द्रीय बैठक बहिष्कार नगरी आफ्ना असन्तुष्टिहरू अर्को पक्षले बैठकमै राखेका छन्।

प्रतिक्रिया दिनुहोस्