प्रधानमन्त्री रारामा, कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भ



वीरबहादुर बम, रारा
कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेश सरकारको आयोजनामा शुरू हुन लागेको पर्यटन वर्षको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरू, प्रदेश मन्त्रालयका कर्मचारीहरू, सञ्चारकर्मीहरू रारा बाक्लो सहभागिता रहेको छ। अतिथि व्यवस्थापन, स्वागत गेट, मञ्च व्यवस्थापन लगायतका तयारीहरू अन्तिम चरणमा पुगेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो।

प्रधानमन्त्रीको शनिबार बिहान ८ बजे
राराबाट देशवासीका नाममा सम्बोधन

नयाँ वर्षसँगै प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरूलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ। करिब डेढ सय टेन्ट छन्। पर्यटन वर्षकै शुरू दिनमा पाहुनाहरूलाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरूका लागि निकुञ्जको सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरूलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ। सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतलाई टेन्टमा बसाल्ने तयारी छ। जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्ष उद्घाटनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए। त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन्।

प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो। ‘कर्णाली समृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो।

प्रधानमन्त्री ओली शुक्रबार रारा आउनुभएको छ। प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बसेको थियो। रारा तालको किनारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको थियो। बैठकले कर्णालीको समृद्धिसँग जोडिएका दीर्घकालीन योजना निर्माणका लागि केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ। सरकारसँगको पहलमा कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने निर्णय बैठकले गरेको छ। यसका लागि पहल गरिदिन केन्द्र सरकारलाई समेत आग्रह गरिएको छ। त्यसै गरी सुर्खेतदेखि हुम्लाको हिल्सासम्म जोड्ने दु्रर्त मार्ग निर्माण गर्ने र त्यसलाई प्रधानमन्त्री दु्रर्तमार्ग नामकरण गर्ने निर्णय पनि गरिएको छ। भेरी–कर्णाली करिडोर निर्माण कर्णाली प्रदेश र चीनसँगका तीन वटै उत्तरी नाका सञ्चाल, मुगुको नाक्चेनाग्ला र हुम्लाका हिल्सा नाका सञ्चारका पहल गर्न माग गरिएको छ।

त्यस्तै कर्णाली एकीकृत बस्ती विकास र व्यवस्थित सहरी विकास गुरुयोजना बनाउने निर्णय पनि बैठकले गरेको छ। प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीका पे्रस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधनलगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुनः रारा फर्कनुहुनेछ। रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ। १२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दै हुनुहुन्छ।

जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ। मुगुमा रहँदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ। आज साँझ कर्णालीको रारामा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको पहिलो बैठक बसकेको थियो। कर्णाली प्रदेश बनाउन आफू बन्नुभन्दा प्रदेश बनाउनतिर लाग्नुपर्ने प्रदेश मन्त्रीलाई सुझाव दिनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्