एसियाडका लागि बक्सरको छनोट



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल बक्सिङ संघले आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियन गेम्सका लागि १० बक्सर खेलाडीको छनोट गरेको छ।

शुक्रबार दुई पुरुष र १ महिला छनोटमा परेका छन्। पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र ६९ केजी तौल समूहमा आर्मीकै विष्णुप्रसाद घले छनोट भएका हुन्। महिला ५१ केजी तौल समूहमा पनि आर्मीकै विमला श्रेष्ठ छनोट भइन्। अघिल्ला दिन छनोट हुनेहरूमा पुरुषतर्फ ४९ केजी तौल समूहमा तेजबहादुर देउवा, ५६ केजीमा विमल रोका, ६० केजीमा एकबहादुर घले र ७५ केजीमा दीपक श्रेष्ठ छनोट भए। उनीहरू सबै आर्मीका खेलाडी हुन्।

नेपाल पुलिसका एक मात्र खेलाडी भूपेन्द्र थापा ६४ केजीमा छनोट भएका छन्। यस्तै महिलातर्फ छनोट हुनेमा ५७ केजीमा एपीएफकी संगीता सुनार र ६० केजीमा आर्मीकी पुनम रावल रहेका छन्। नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३ महिला र ४ पुरुष खेलाडीको कोटा उपलब्ध गराएको छ।

बक्सर दिनेशको दुःखेसो

इन्डोनेसियामा हुने एसियन गेम्सका लागि भएको बक्सिङ खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट नभएको अन्तर्राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठले बताएका छन्। विगत डेढ दशकदेखि बक्सिङसँग नाता गाँस्दै आएका दिनेशले चैत २९ र ३० गते भएको छनोट खेल्न नपाएपछि यसरी दुःखेसो पोखे– ‘कुनै पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खुला प्रतिस्पर्धामार्फत खेलाडी छनोट प्रतिस्पर्धाका खेलहरू मैले थुप्रै पटक खेलिसकेको छु। खुला प्रतिस्पर्धामार्फत नै छनोट भएर मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छु। तर यसपटक भने बिनाखुला प्रतिस्पर्धा नै खेलाडी छनोट गरेकाले मैले खेल्ने अवसर गुमाएँ। यसपटकको छनोट खेल्न पाऊँ भनेर नेपाल बक्सिङ संघ, राष्ट्रिय खेलकुद परिषद्, उच्चस्तरीय एसियाली खेलकुद टिम समिति, राष्ट्रिय टिम तयारी समितिमा मौखिक र लिखित निवेदन दिए पनि कुनै प्रतिक्रिया आएन।’

उनी गत पुसमा बिर्तामोडमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत बक्सिङतर्फ सेमिफाइनलसम्म पुगेका थिए। सेमिफाइनलमा प्रतिद्वन्द्वी खेलाडीको टाउको आफ्नो निधारमा ठोकिएर रगत बग्न थालेपछि इन्ज्युरीको आधारमा पराजित भएको उनले बताए। उनले भने– ‘त्यति बेला दुई राउन्डसम्म राम्रो नै खेलिरहेको थिए। तर अन्तिम राउन्डमा प्रतिद्वन्द्वी खेलाडीको टाउसँग मेरो निधार जुधेपछि चोट लाग्यो र रगत बग्न रोकिएन। त्यसपछि इन्ज्युरीको आधारमा पराजित भएको हुँ।’

घरेलु प्रतियोगितामा नेपाल प्रहरीबाट खेल्ने उनी २०६१ सालदेखि अहिलेसम्म करिब डेढ दर्जन पटक आफ्नो तौलका राष्ट्रिय च्याम्पियन बनिसकेका छन्। त्यसक्रममा पाँचौ र सातौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जितेका उनले थुप्रै पटक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन्।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले राष्ट्रिय खेलकुद परिषद्को पूर्वनिर्धारित योजनाअनुसार नै बन्द शिविरमा रहेका खेलाडीबीच प्रतिस्पर्धा गराएर एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको बताए। उनले भने– ‘पुसमा सम्पन्न राखेप च्याम्पियनसिपलाई नै एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनोटको आधार मानिएकाले नेपाल बक्सिङ संघले बन्द शिविरमा रहेका खेलाडीबीच नै प्रतिस्पर्धा गराएर खेलाडी छनोट गरेको हो।’

प्रतिक्रिया दिनुहोस्