समाचार प्रभावः गंगारामको झुपडिमा खाद्यान्न पुग्दा हर्षका आँसु



नेपाल समाचारपत्र, दैलेख ।

दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको राकमकर्णाली । राकमकर्णालीबाट करिब दुई घण्टाको यात्रामा पुगिने सिगौडी । सिगौडीको हुलाकडाँडा जनिकै एउटा सानो भुपडि । दुई तलाको भुपडि, एकै छिन पछि भत्कीएला जस्तो । भुई तलामा गाई र भैसी बाधिँएका थिए । माथिल्लो तलामा ३ वटा कोठा, तिन कोठोमा तिन भाई बसोबास गर्दै आएका रहेछन् ।

त्यहि झुपडिमा आठवीस नगरपालिकाका उपप्रमुख दिपा बोहारा, नेपाल समाचारपत्रका दैलेख संवाददाता हिक्मत नेपाली सहितको टोली झुपडिमा पुग्यो । टोली उक्त झुपडिमा पुग्दा एक बृद्ध दलिनमा लडिरहेका थिए । उनि हुन् गंगाराम नेपाली ।

जसलाई् ५ बर्ष देखि प्यारालाइसिसको रोगले थला पारेको छ । उपचार विनानै ५ बर्ष सम्म जसो तसो बाँचिरहेका छन् । ५ बर्ष देखि उनको शरिर नै चल्दैन् । उनको साथमा ५ बर्षको बालक खेलीरहेको थियो । उनका जेठो छोरा भरत नेपाली दाउरा खोज्न वन गएको गंगारामले एकोहोरो भनिरहेका थिए ।

गत हप्ता नेपाल समाचारपत्रमा ‘झुपडिको बास, एक छाक खान छिमेकीको आश’ शिर्षकमा प्रकाशित समाचार पढेर काभ्रेपलान्चोकको तेमाल गाउँपालिका वडा नं. ८ भोरज्याङ,हाल कोरियामा रहनुभएका रमेश प्रसाद पन्त र उहाँका भाई, हाल काठमाडौँमा रहनु भएका महेश पन्तले पठाउनुु भएको सहयोग लिएर नगरपालिकाका उपप्रमुख सहितको टोली उक्त भुपडिमा पुगेको थियो । गंगारामका झुपडिमा खाद्यान्न लत्ताकपडा पुग्दा उनको आँखामा आँसु नै रोकिएन ।

बर्षौ देखि एक छाक खानका लागि छिमेकीकै आशमा बाँचेका गंगारामको परिवारमा खाद्यान्न सहित लत्ताकपडा पुग्दा खुसीको आँसु झरेको प्रष्टै देखिन्थ्यो । उनिहरुलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा बल्यांकेट, स्कुल ड्रेस, कापी, कलम, लगाएतका सामग्री सहयोग गरिएको छ ।

आफ्नै झुपडिमा कोरियाबाट आएको आएको सहयोग पुग्दा सहयोग गर्ने दाजुभाईलाई गंगारामले धन्यवाद दिए । उनले आँखा भरि आँसु पार्दै भने ‘आज सम्म कसैले हेरेन, धेरै पछि मेरो मनमा खुसी छाएको छ । ’ सहयोग सामग्री लिएर पुग्नुभएकी आठवीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले गंगारामको उपचारको पहल थाल्ने बचन दिइन् ।

उनले नगरपालिका र विभिन्न दातृ निकायहरुसंग समन्वय गरि गंगारामको उपचारका लागि पहल गर्ने बताइन् । यस्तै नेपाल समाचार पत्रका दैलेख संवाददाता हिक्मत नेपालीले समाचार पढेरै भएपनि गरिबको घरमा चुलो बाल्न सहयोग गर्नुहुने सहयोगीहरु कोरियामा रहनु भएका रमेश प्रसाद पन्त र उहाँका भाई काठमाण्डौमा रहनु भएका महेस पन्तलाई धन्यवाद दिए ।

उनले उहाँहरु जस्तै सहयोगी मनहरुकै कारण कयौ गरिबीको रेखामुनी रहेका नेपालीहरुलाई सहयोग पुगेको बताए ।

सहयोग सामग्री हस्तान्तरणमा आठवीस नगरपालिकाका सामाजिक अभियान्ताहरु लक्ष्मी चलाउने र प्रभा वि.क.सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्