क्रिकेटको सुनौलो वर्ष २०७४



नेपाली खेलकुदमा केलाएर हेर्ने हो भने वर्ष २०७४ लाई क्रिकेटले दिलाएको सुनौलो उपलब्धिले स्मरणीय बनाएको छ। क्रिकेटमा पाएको ऐतिहासिक तीन उपलब्धिबाट नेपाली खेलकुदले गतवर्ष शीर ठाडो गर्न सफल भएको छ। अन्य खेलको अवस्था भने निरासाजनक नै रह्यो।

क्रिकेटले नेपाली खेलकुदको सान, मान प्रतिष्ठा विश्वसामु पु¥याएको छ। नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा आबद्ध भएको २२ वर्ष भइसकेको छ। सन् १९९६ मा आईसीसीको एसोसिएट राष्ट्र बनेको नेपालले बल्ल एकदिवसीय मान्यता प्राप्त गरेको छ।

नेपालभन्दा पछि आएका राष्ट्रहरूले एकदिवसीय मान्यता प्राप्त गरेकाले यो उपलब्धि नेपालका लागि ढिलो भए पनि नेपालीका लागि भने गर्वको विषय भएको छ। तर, ढिलै भए पनि नेपाली क्रिकेटले फड्को मारेको छ। जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट छनोटमा हङकङ र पपुवान्युगिनीलाई हराएर एकदिवसीय मान्यता प्राप्त गरेको थियो। सो प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेको हो।

यसै गरी अर्को ठूलो उपलब्धि पनि क्रिकेटले नै दिलायो। नेपालले क्रिकेटको इतिहासमा कहिल्यै भारतलाई हराउन सकेको थिएन। तर, गतवर्ष नेपालले भारत जस्तो बलियो राष्ट्रलाई हराएर नेपाली क्रिकेटले अझ उचाइ छुन सफल भएको छ। मलेसियामा सम्पन्न एसीसी यु–१९ युथ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले हराएर विश्व क्रिकेटमा सनसनी मच्चायो। भारतको प्रशिक्षकमा भारतीय क्रिकेटमा द वालले चर्चित पूर्वक्रिकेटर राहुल द्रविड रहे पनि नेपाली युवा खेलाडीले बाजी मारेको थियो।

नेपालसँग टेस्ट खेल्ने राष्ट्र हार्नेमा भारत छैंटो राष्ट्र बनेको छ। यसअघि नेपालले टेस्ट खेल्ने राष्ट्र दक्षिण अफ्रिका र न्युजिल्यान्ड, जिम्बाबे, बंगलादेश र पाकिस्तानलाई हराइसकेको छ। सबै यु–१९ विश्वकपअन्तर्गतमा नेपालले जितेको थियो।

भारतविरुद्ध नेपाली क्रिकेटले कुनै पनि उमेर समूहमा पहिलोपटक सफलता हात पारेको हो। सन् १९९६ मा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट राष्ट्र बनेदेखि भारतलाई सिनियर र जुनियर नेपाली क्रिकेट टोलीले हराउन सकेको थिएन। करिब २१ वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटले भारतलाई हराएर ठूलै उपलब्धि प्राप्त गरेको छ।

सन्दीप आईपीएलमा
अर्को सफलता भने दुर्लभ मान्न सकिन्छ। १७ वर्षीय बलर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। यो नेपालका लागि अहिलेसम्मकै ठूलो सफलता मान्न सकिन्छ। योभन्दा अगाडि आईपीएलको नजर नेपाली क्रिकेटरमाथि भएको थिएन। यसपटक भने अस्टे«लियन लिजेन्ड सेन वार्नको झलक देखिने लामिछानेले नेपाली खेलकुदलाई अझ उचाइमा पु¥याइदिएका छन्। लामिछानेलाई नेपाली ३२ लाख रुपियाँमा आईपीएलको टोली दिल्ली डेयरडेविल्सले किनेको हो। लामिछानेको ट्रायलमा भएको भिडियो क्लिप हेरेपछि दिल्ली डेयरडेविल्सका प्रशिक्षक रिकी पोन्टिङ प्रभावित भएका थिए। पोन्टिङले आईपीएलको अक्सनमा उनलाई अन्तिम समयमा किन्न राजी भएको बताइएको छ। लामिछानेले खेल्न पाउने वा नपाउने भन्ने आफ्नै ठाउँमा छ। तर, उनले आईपीएलमा पुगेर भविष्यमा अन्य नेपाली क्रिकेटरलाई झकिझकाउ प्रतियोगितामा पुग्न बाटो भने बनाइदिएका छन्। दिल्लीको टोलीसमेत काठमाडौंमा आएर लामिछानेलाई जर्सी प्रदान गर्नु पनि उनको महŒव बुझ्न सकिन्छ। उनले १ नम्बर अंकित जर्सी लगाएर खेल्नेछन्।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रदर्शन
गत वर्ष फुटबलमा भने सोचेजस्तो सफलता प्राप्त हुन सकेन। क्रिकेटभन्दा फुटबल पछि नै परेको छ। केही वर्षअघि सोलिडारिटी कप, बंगबन्धु कप र साग फुटबलमा उपाधि जितेर नेपाली फुटबलले उचाइ छोएको थियो। यो सफलताले नेपाली फुटबलले गति लियो र भविष्यमा राम्रो हुने संकेत देखाएको थियो। तर, यो हालको वर्षसम्म पुग्दा एक मात्र अन्तर्राष्ट्रिय उपाधि हात प¥यो। जसमा भुटानमा भएको साफ यु–१९ च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हराएर उपाधि जित्नु नै गत वर्षको फुटबलमा इज्जत जोगिएको थियो। जबकि नेपालको सिनियर फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गतका केही खेल नेपालमै खेले पनि जित हात पार्न सकेन। नेपालले अवे मैदानमा ताजिकस्तान, फिलिपिन्स र यमनसँग हार बेहोरेको थियो। बाहिरी मैदानमा हार्नु नेपाली फुटबलका लागि नराम्रो मान्न सकिन्न। तर, नेपालले आफ्नै मैदानमा समेत यी तीनै टोलीविरुद्ध जित हात पार्न सकेन। यो नै नेपाली फुटबलका लागि सबैभन्दा निराशाजनक खबर बन्यो। फिलिपिन्स र यमनसँग गोलरहित बराबरी खेलेको नेपाल ताजिकस्तानसँग २–१ ले हारेको थियो। नेपाल यो समूहमा २ अंकसहित पुछारमा रह्यो भने यो समूहबाट फिलिपिन्स र यमन दोस्रो चरणका लागि छनोट भएका छन्।

घरेलु फुटबलमा आर्मी अब्बल
अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु लिग सञ्चालन गर्न नसके पनि गत वर्ष घरेलु प्रतियोगिता भने धेरै आयोजित भएका थिए। जसमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अब्बल रह्यो। आर्मीले गत वर्ष ८ वटा उपाधि जितेर घरेलु फुटबलमा एउटा कीर्तिमान रच्यो। वर्षमा धेरै उपाधि जित्नेमा आर्मीको यो कीर्तिमान लामो समयसम्म रहन सक्नेछ।

आर्मीले वैशाखदेखि नै उपाधि जित्दै आएको थियो। वीरगन्जमा भएको विशाल मेमोरियल कपको उपाधि जितेर आर्मीले गत सिजन राम्रो गर्ने छनक देखाएको थियो। यसपछि झापामा भएका मेची नेत्रालय काकडभित्ता गोल्डकप र शताक्षी गोल्डकप, धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकप, बारामा भएको सिमरा गोल्डकप, हेटौंडामा भएको हेटौंडा गोल्डकप र झापा गोल्डकप जितेको थियो। एउटा उपाधि भने १८ वर्षमुनिको ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता पनि आर्मीको युवा टोलीले नै जितेको थियो। समग्रमा आर्मीले गत वर्ष पुरस्कारबाटै करिब ५० लाख नगद आर्जन गर्न सफल भयो।

थ्री स्टारको पुनरागमन
ललितपुरको थ्री स्टार क्लबले १४ महिनापछि फुटबलमा फर्कने शुभकार्य गत वर्ष नै गरेको थियो। थ्री स्टारले पहिलो प्रतियोगिता खप्तड गोल्डकपमा सहभागिता जनायो। तर, यो त्यति फलिफाप भएन। थ्री स्टारले पछि इटहरी गोल्डकप र बूढासुब्बा गोल्डकप लगातार जितेर फुटबलमा आफ्नो चमक नसकेको आभाष गरायो। त्यस्तै बुटवलमा भएको तिलोत्तमा गोल्डकप र मदन भण्डारी गोल्डकप तथा विराटनगरमा भएको विराट गोल्डकप जितेर थ्री स्टारले गएको वर्ष पाँच उपाधि कुम्ल्याउन सफल भयो।

अनिलको अन्तर्राष्ट्रिय करियरमा विश्राम
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्दा नेपालका चर्चित स्ट्राइकर अनिल गुरुङले आफ्नो अन्तर्राष्ट्रिय करियर विश्राम गरेका थिए। गत वर्षको कात्तिक २७ गते लिएको निर्णयले अनिलले ५०औं अन्तर्राष्ट्रिय खेलमा पुगेर आफ्नो अन्तर्राष्ट्रिय करियरलाई दि एन्ड गरेका थिए। नेपाली टोलीका कप्तान अनिलले सन् २००७ मा विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध अन्तर्राष्ट्रिय खेलबाट करियर शुरू गरेका थिए। करिब एक दशक अन्तर्राष्ट्रिय फुटबलमा बिताएका अनिलको अन्तिम खेल त्यति स्वादिलो भएन। आफ्नो अन्तिम खेलमा जित पाउने आशा गरे पनि त्यो पूरा भएन। अनिल नेपाली राष्ट्रिय टोलीका १५औं कप्तान बनेका थिए।

गल्फमा शिवरामको वर्चश्व
नेपाली गल्फमा शिवराम श्रेष्ठको उपाधि जित्ने क्रम रोकिएको छैन। गत वर्षमा गल्फमा हेर्ने हो भने शिवरामले नै बढी उपाधि जितेका थिए। उनले सूर्य नेपाल एनजीपीए टुर च्याम्पियनसिप, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, घनश्याम प्रोफेसनल गोल्डेन जुबली गल्फ च्याम्पियनसिप, सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ, सूर्य नेपाल इस्टर्न ओपन गल्फ जितेका थिए।

क्रिकेट र फुटबलबाहेक वर्ष २०७४ मा अन्य खेलका नेपाली खेलाडीले विदेशी भूमिमा थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्। जसमध्ये पदक जित्न सफल नेपाली खेलाडीको यहाँ छोटो चर्चा गरिएको छः
वैशाख २० गते तुर्कमेनिस्तानको अस्गाबातमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसिपमा नेपाली किक बक्सरद्वय दिवस श्रेष्ठ र निकेश श्रेष्ठले पदक जितेका थिए। दिवसले पुरुष ७१ केजीमा रजत तथा निकेशले ७४ केजीमा कांस्य पदक जितेका हुन्।

वैशाख २३ गते नेपालका खडकबहादुर गुरुङ जर्मनीको म्युनिखमा ‘इन्स्पेक्टर अफ द इयर २०१७’ अवार्डबाट सम्मानित भएका थिए। गुरुङलाई नेपालको विभिन्न भू–भागमा मार्सलआर्ट खेल विकासमा महŒवपूर्ण योगदान पु¥याएबापत म्युनिख हल अनर जर्मनीले सम्मान गरेको थियो।

जेठ ६ गते नेपालका समीर तामाङले अस्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा पहिलो स्थान हात पारेका थिए। निर्धारित ५० किलोमिटरको दूरी नेपाली सेनाका समीरले ४ घण्टा ७ मिनेट ९ सेकन्डमा पूरा गरेका थिए।
जेठमा मनीता श्रेष्ठ प्रधानले हङकङमा भएको एसियन जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचिन्। करिब २९ वर्षपछि एसियास्तरको प्रतियोगितामा उनले नेपाललाई स्वर्ण दिलाएकी हुन्। यसअघि सन् १९८८ मा ऋषिराम प्रधानले मकाउमा भएको एसियन जुडोमा नेपाललाई स्वर्ण दिलाएका थिए।

असारमा श्रीलंकामा भएको होलिडेज रम्बल इन द जंगल प्रिमियर माउन्टेन बाइक रेसमा नेपालकी लक्ष्मी मगरले उपाधि जित्न सफल भएकी थिइन्।

साउन १६ गते थाइल्यान्डमा भएको इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कांस्य पदक प्राप्त गरेका थिए।

साउनमा हंगेरीको बुडापेस्टमा भएको १७औं फिना वल्र्ड च्याम्पियनसिपमा नेपालकी टिसा शाक्यले १ सय मिटर ब्रेस्ट स्ट्रोकमा गौरिका सिंहको कीर्तिमान तोडेकी थिइन्। गौरिकाले २०७१ सालमा राखेको १ मिनेट २६.७२ सेकेन्डको समयलाई खुम्च्याएर टिसाले १ मिनेट २६.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान रचिन्।

भदौ ८ मा नेपाली खेलाडी कमल भण्डारीले ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा कांस्य पदक जित्न सफल भए। दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगितामा कमलले पुरुष ५५ केजी तौल समूहमा कांस्य जितेका हुन्।

असोज २२ गते मंगोलियाको राजधानी उलानबटोरमा भएको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितेकी थिइन्। ननिताले महिला १ सय ६० सेन्टीमिटर उचाइमा रजत पदक जितेकी हुन्। योसँगै आफ्नो स्पर्धामा दुई अन्तर्राष्ट्रिय पदक जित्ने उनी पहिलो नेपाली महिला बनिन्। गत वर्ष उनले थाइल्यान्डमा सम्पन्न सोही प्रतियोगिताको आठांै संस्करणमा पनि कांस्य जितेकी थिइन्। यसै प्रतियोगिताको शारीरिक सुगठनअन्तर्गत पुरुष ६० केजीतर्फ नेपालका रुजेश शाहीले कांस्य पदक जित्न सफल भएका थिए। रुजेशको पनि दोस्रो अन्तर्राष्ट्रिय पदक बन्यो। उनले यसअघि यसै प्रतियोगिताको सातौं संस्करणमा रजत पदक जितेका थिए।

कात्तिकमा भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक प्राप्त गर्न सफल भए। ९० केजी तौल समूहमा कार्कीले १ सय ६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन्। उक्त प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु–छोराले पदक प्राप्त गरेर इतिहास रच्न सफल भएका थिए।

मंसिर २४ कम्बोडियाको राजधानी नोमपेन्हमा भएको प्रथम खेमर विश्व च्याम्पियनसिपमा नेपाली महिला खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितिन्। महिला ६७ केजी तौल समूहमा आयोजक कम्बोडियाकी पुथ थावेलाई पराजित गर्दै अनिशाले प्रोफेसनल फाइटको उपाधि जितेकी हुन्।

पुसमा यानकुमारी चौलागाईंले क्यानडामा भएको टोरोन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा ५७ केजी तौल समूहको महिला स्पर्धामा क्यानडाकै खेलाडीलाई हराएर स्वर्ण पदक जितेकी हुन्।

माघ १५ गते विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा भएको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कांस्य पदक जितेकी थिइन्। सो प्रतियोगितामा विमला र पुनमले सेमिफाइनलमा स्थान बनाएसँगै नेपालले दुई वटा कांस्य पदक पक्का गरेको थियो।

फागुनमा नेपालकी अस्मिता खड्काले मलेसियामा जारी मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला ४९ केजीमुनि कांस्य पदक जित्न सफल भएकी थिइन्।

चैत १३ देखि १६ सम्म भुटानको राजधानी थिम्पुमा भएको दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालकी विश्वरूपा बुढाले व्यक्तिगत स्पर्धामा एक रजत जितेकी थिइन्। योबाहेक उनी सम्मिलित टिम स्पर्धामा नेपालले थप एक कांस्य जित्न सफल भएको थियो।

चैत्र २० गते नेपाली महिला ह्यान्डबल टोलीले भारतमा भएको दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको थियो।

अन्तर्राष्ट्रिय सहभागितामा पहिलोपटक फाइनलसम्मको यात्रा तय गरेको नेपाली ह्यान्डबल टोलीले स्वर्ण पदकका लागि भएको खेलमा भारतसँग २४–५ ले पराजित भएको थियो।

 

स्वदेशमा आयोजित प्रतियोतिामा केही महत्वपूर्ण उपलब्धि
बैसाखमा भएको सर्वाधिक नगद पुरस्कार राशिको धनगढी प्रिमियर लिगको उपाधि धनगढी टिम चौराहले जितेको। धनगढीले विराटनगर किंग्सलाई ६२ रनले हराएर उपाधिसँगै १५ लाख पुरस्कार नगद पनि हात पारेको। विराटनगरले ७ लाख रुपियाँ हासिल ग¥यो।

असारमा पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नजीत तामाङ र नङसलदेवी तामाङले सिंगल्स र डबल्समा उपाधि जितेको।

असोजमा गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगितामा चार कीर्तिमान रचेकी। उनले २ सय र ५० मिटर फ्रिस्टाइल तथा १ सय र ५० मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी हुन्।

प्रतिक्रिया दिनुहोस्