नेपाली कांग्रेसका अफापसिद्ध २०७४



रामकृष्ण चापागाईं, काठमाडौं

राष्ट्रिय राजनीतिमाको केन्द्रबिन्दुमा रहेको नेपाली कांग्रेस यति बेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। नयाँ संविधान कार्यान्वयनको महत्त्वपूर्ण पाटो स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेर कम्तीमा ५ वर्ष सत्ताविमुख हुने अवस्था आएको छ भने पार्टीको आन्तरिक संगठनलाई मजबुत बनाउन ठूलो चुनौती थपिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान स्थानीय, प्रादेशिक र संघीय तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलकलाई शान्ति, समृद्धि र विकासको दिशातर्फ अघि बढाउन सफल भए पनि यसको नेतृत्व लिन भने कांग्रेस असफल भयो। सधैं सत्ताको केन्द्रबिन्दुमा रहँदै आएको कांग्रेसले निर्वाचमा हार व्यहोरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष जस्ता सबै महत्त्वपूर्ण पदहरू गुमाउनुपरेको छ।

केन्द्रमा मात्र हैन कुनै पनि प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थासमेत रहेन। प्रदेशसभाको अध्यक्ष, उपाध्यक्ष जस्ता पदहरूमा समेत कांग्रेसले कहीं भाग पाएन। मुलुकमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन मजबुत हुँदै पार्टी एक हुने अवस्थामा पुगेको बेला कांग्रेस आन्तरिकरूपमा समेत एकजुट हुन सकेन। पार्टीभित्रको गुट–उपगुट अझ बलियोसँग मौलायो। पार्टीको सशक्त भातृ तथा शुभेच्छुक संघ–संस्था प्रभावहीन बन्यो। कांग्रेस नेतृत्व सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई निकास दिन सफल भए पनि आन्तरिकरूपमा पार्टीलाई एकढिक्का बनाउन भने सफल भएन।

सरकारको नेतृत्वमा रहँदा जनपक्षीय कार्य गरेको र निर्वाचनमा आन्तरिकरूपमा गुट–उपगुटमा विभाजित नभई एकढिक्का भएर गएको भए निर्वाचन परिणाममा धेरै सुधार हुने थियो। साथै कांग्रेसले गरेका कतिपय राम्रा कामसमेत निर्वाचनमा जनतासामु प्रस्तुत गर्न सकेनन्। पार्टीभित्र गुट–उपगुट झन् मौलाउँदै गएको छ। १३औं महाधिवेशनपछि पार्टी नेतृत्वमा पुगेका सभापति शेरबहादुर देउवाले आफ्नो पूर्वप्रतिबद्धता कार्यान्वयन नगर्दा आलोचित बन्दै गएका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद यतिसम्म बढेको छ कि तत्काल नेतृत्व परिवर्तन गर्ने कुरासमेत जोडतोडका साथ उठिरहेको छ। सांगठनिक संरचना लथालिङ भएको छ। विधानअनुसार दुई महिनाभित्र मनोनित गरिसक्नुपर्ने पदाधिकारी र केही केन्द्रीय सदस्य अझै चयन नहँुदा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। पार्टी संगठनलाई चलायमान बनाउन विधानमा उल्लेख गरिएका विभिन्न केन्द्रीय विभागहरू अझै गठन हुन सकेको छैन। नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माण अझै हुन सकेको छैन।

यस्ता आन्तरिक समस्यामा झेलिएको कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेसँगै अहिले प्रतिपक्षको भूमिकामा पनि अत्यन्त कमजोर भएको छ। प्रभावशाली र अनुभवी नेताहरू धेरैले निर्वाचन हारेका छन्। पार्टी एकीकरणको तयारी गरिरहेको सत्ता घटक दल नेकपा एमाले र माओवादी केन्द्रसँग झण्डै दुई तिहाइ बहुमत छ। कांग्रेस नेता प्रकाशमान सिंहको शब्दमा भन्ने हो भने नेपाली कांग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोगेको थिएन। निर्वाचनमा संघीय संसद र प्रदेशसभामा कांग्रेसको कमजोर उपस्थितिको परिणाम सबै प्रदेश र केन्द्र कतै पनि कांग्रेसले सरकार बनाउन सक्ने अवस्था आएन। इतिहासमा जनताबाट दुई तिहाइ र पटक–पटक बहुमतका साथ जितेको कांग्रेसले कुनै प्रदेशमा त प्रमुख प्रतिपक्षी दलको हैसियतसम्म प्राप्त गर्न सकेन भने संघीय र प्रदेशमा एउटा प्रदेशबाहेक एक्लैले महाअभियोग वा अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसम्म कायम गर्न सकेन।

२०७४ साललाई फर्केर हेर्दा प्रहरी प्रमुखको नियुत्ति प्रकरण, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण जस्ता धेरै विवादास्पद कुरामा नेपाली कांग्रेस जोडिने गरेको छ। एमाले र माओवादी सहकार्यका साथ निर्वाचनमा गएपछि कांग्रेस नेतृत्वमा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नयाँ शक्तिलगायतका दलहरूसँगको लोकतान्त्रिक गठबन्धन बनेको थियो। यो गठबन्धनले पनि कांग्रेसलाई फाइदा पुगेन। उम्मेदवार छनोटका विषयमा समेत कांग्रेसभित्र व्यापक असनतुष्टि पैदा भयो। निर्वाचन नजिकिँदै गर्दा विजयकुमार गच्छदार नेतृत्वको फोरमलाई कांग्रेसमा समाहित गर्न भने सफल भएको छ।
सरकारको नेतृत्वमा रहँदा राम्रो भूमिका निभाउन नसकेको मात्र हैन मुख्य गरी पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भातृ र शुभेच्छुक संघ–संस्थालाई चलायमान बनाउन नसकेको जस्ता आरोपले वर्षभरि सभापति देउवालाई आलोचित बनाइरह्यो।

देउवाले पार्टीभित्रको आन्तरिक गुट–उपगुटलाई समेत व्यवस्थापन गर्न सकेनन्। पार्टीमा निरन्तर योगदान पु¥याएका कर्मठ, क्षमतावान् र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्यभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागिता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्ने कुरा कुरामै सीमित भयो।


पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउने प्रतिबद्धतालाई पनि २०७४ सालभरि फर्किर हेरिएन। नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गरिने कुरा पनि प्रतिबद्धतामै सीमित रह्यो। पार्टी सुदृढीकरण गर्ने कुरामा मूल्यांकन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिने, देश र देशबाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिने र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिने कुरा कुरामै मात्र सीमित भयो।

नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचार समूह (थिंक ट्यांक) को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीति निर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्णरूपमा गर्ने, जुझारु भ्रातृ संगठनहरू बनाउने, पार्टीका विभागहरूलाई तत्काल क्रियाशील गराई पार्टी निर्माणको अभिन्न अंगका रूपमा संस्थागत गरिने र सम्बन्धित विभागहरूलाई नीति निर्माण र संगठन विस्तारको पूर्ण जिम्मेवारी दिइने जस्ता कुरा नहुँदा २०७४ सालभरि सभापति देउवा आलोचित बन्नुभयो। नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागलाई देशको बदलिँदो आवश्यकताअनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोका रूपमा विकसित गरिने कुराले पनि अहिलेसम्म प्रवेश पाएन। तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइने र महासमितिमा बदलिँदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिने भने पनि महासमितिको बैठक बस्ने टुंगो लागेको छैन। कांग्रेस पार्टी कमजोर हुनुको मुख्य कारण नेतृत्वकै कमजोरी भएको कुरा तर्क संगत ढंगले उठिरहेको छ। १२औं महाधिवेशनसम्म कांग्रेस मुख्य गरी दुई गुटमा विभाजित थियो। संस्थापन पक्षमा तत्कालीन सभापति सुशील कोइराला गुट र शेरबहादुर देउवा गुट। १३औं महाधिवेशनपछि कांग्रेसभित्र संस्थापन पक्षमा देउवा पक्ष उदाएका छन् भने पहिलाको संस्था पनि पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहनुभएको छ। कांग्रेसभित्र तेस्रो गुटको रूपमा कृष्णप्रसाद सिटौला पनि उदाएका छन्। यो पार्टीभित्र प्रभावशाली नेताहरूको थप उपगुट पनि रहेको छ। १२औं महाधिवेशनपछि कोइराला नेतृत्वमा पुग्दा देउवाले पार्टीभित्र ६०÷४० को भागवण्डा माग्ने गर्नुभएको थियो।

विधानअनुसार केन्द्रीय पदाधिकारी तथा पार्टीको सांगठनिक संरचनालाई पूर्णता नदिएको आरोप लगाउँदै देउवा पक्षले निरन्तर संस्थापन पक्षको आलोचना गरिरहन्थ्यो। १३औं महाधिवेशनपछि त्यो उल्टिएको छ। पौडेल पक्षले देउवा पक्षलाई यही आरोप लगाइरहेको छ। पार्टी विधिसंगत् ढंगले सञ्चालन नभएको, पार्टीको सांगठनिक संरचनालाई पूर्णता नदिएको, कांग्रेसलाई इतिहासकै सबैभन्दा कमजोर पार्टी बनाएको कांग्रेस केन्द्रीय समिति बैठकमा समेत चर्चामा आएको थियो। भावी कार्यदिशाको बारेमा पनि छलफल भइरहेको छ। निष्कर्षमा कांग्रेस देशलाई निकास दिने कुरामा जति सफल भएको छ आन्तरिकरूपमा पार्टी त्यति नै कमजोर भएको छ।

प्रतिक्रिया दिनुहोस्