गोल्डेन्स र चौराहबीच फाइनल



काठमाडौं, (नेस)
धनगढीमा जारी डीपीएल २ क्रिकेटको फाइनलमा काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढीबीच भिडन्त हुने भएको छ। बिहीबार दोस्रो इलिमेनेटर खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गरेर काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको हो। यसअघि टिम चौराहले काठमाडौं गोल्डेन्सविरुद्ध १ विकेटको सनसनी जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। आज हुने फाइनल खेलसमेत गरेर यी दुई टोलीको जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ। साथै टिम चौराह डिफेन्डिङ च्याम्पियन पनि हो।

टस हारेर ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा १ सय ४२ रन जोडेको थियो। १ सय ४३ रनको लक्ष्य काठमाडौंले ५ विकेट गुमाएर १० बल बा“की राखेर भेटाएको थियो। टोलीको जितमा सुबोध भाटीको विस्फोटक ब्याटिङ कारक र≈यो। पहिलो ओभरमै बलर अविनास कर्णको धुलाइ गरेका भाटीले १७ बलमै ५२ रन जोडे। यही रनमा आउट भएका उनले अविनास र करण केसीको बलिङमा चौका छक्का प्रहार गरेका थिए। म्यान अफ द म्याच भाटीको यो डीपीएलमा छिटो अर्धशतकको कीर्तिमान पनि बनेको छ। यसअघि विराटनगर किंग्सका बाबर हयातले २८ बलमा छिटो अर्धशतक बनाउने कीर्तिमान रचेका थिए।

ओपनर भाटीले ५ छक्का र ४ चौका प्रहार गरेका थिए। उनको यो आक्रमक ब्याटिङले गर्दा चार ओभर नपुग्दै काठमाडौंले ५० रन पनि पार गरेको थियो। त्यस्तै अर्का ओपनर अमित श्रेष्ठले ५ चौकाको सहयोगमा २६ रन जोडेर पवेलियन फर्के। उनीहरूले अविनास कर्णको पहिलो ओभरमै २४ रन बटुलेर जित्न आतुर रहेको संकेत गरेका थिए। त्यस्तै करण केसीको एकै ओभरमा भाटीले २२ रन बटुले। ओपनिङ साझेदारीमा उनीहरूले ५ दशमलव ३ ओभर (३३ बलमा) ७६ रन जोडे। भाटीलाई भुवन कार्कीले स्टम्पिङ आउट गरेका थिए।

उनीहरू आउट भएपछि भने टोलीको रन बनाउने गति कम भएको थियो। पछिको ६७ रन बनाउन टोलीले १२ दशमलव ५ ओभर खेल्नुपरेको थियो। जसमा थप ४ विकेट पनि गुमाउन पुग्यो। टोलीका लागि कप्तान ज्ञानेन्द्र मल्लले २५ रन र भूपेन्द्र थापाले १५ रनको योगदान दिए। महेन्द्रनगरको बलिङतर्फ पुनित मेहराले दुई तथा भुवन कार्की, रोविन क्षेत्री र पुनित विष्टले १÷१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो। काठमाडौंका बलर सन्नी पटेलले ४ ओभरमा १० रन दिएर ६ विकेट लिएपछि महेन्द्रनगरको ठूलो स्कोरमा पुग्ने सम्भावना न्यून भएको थियो। यसको बाबजुद पुनित मेहराले ४ चौका र ४ छक्का हान्दै ५८ रन जोड्दा आरिफ शेखले ४३ रनको योगदान दिए। आरिफको इनिङमा ४ चौका र १ छक्का सामेल थिए। त्यस्तै करण केसी (२१ रन) बाहेक अन्यले भने खासै उल्लेखनीय ब्याटिङ गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्