संगीताले तोडिन् नीताको कीर्तिमान



नेपाल समाचारपत्र
काठमाडौं
थम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको पहिलो दिनमै राष्ट्रिय कीर्तिमान बनेको छ। महिला ४८ केजी तौल समूहमा संगीता राईले १२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्। नेपाल पुलिस क्लबकी संगीताले सिनियरतर्फ स्नाचमा ५४ केजी र कुलमा १ सय २३ केजी तौल उठाएर नीता थापाको कीर्तिमानलाई छायामा पारेकी छिन्। नीताले २०६२ सालमा काठमाडौंमा भएको ३५औं युवराज जन्मोत्सव कपअन्तर्गत स्नाचमा ५३ दशमलव ५० केजी र कुलमा १ सय १८ दशमलव ५० केजी तौल उठाएर राष्ट्रिय कीर्तिमान राखेकी थिइन्।

यस्तै संगीताले क्लिन एन्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलको कीर्तिमानमा सुधार गर्दै ६९ केजी तौलको नयाँ कीर्तिमान राखिन्। यस स्पर्धामा नेपाली सेनाका मनिषा रानाभाटले कुलमा १ सय १६ केजीका साथ रजत र रीता गुरुङले ९३ केजीका साथ कांस्य प्राप्त गरेका थिए।

ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिममा समायोजन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको ४८ केजी तौलकै जुनियरतर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेसकी करिना चौधरीले कुलमा ९३ केजी भारवहनका साथ स्वर्ण पाइन्। डिभाइन फिजिकल फिटनेसकी पल्लभी चौधरीले ७३ केजीका साथ रजत र ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कांस्य पाइन्।
यस्तै हिजै बुधबारको खेलमा महिलातर्फ अर्को पनि राष्ट्रिय कीर्तिमानहरू बनेका थिए। जसमा सिनियर ५३ केजी तौलमा प्रहरीकी देवीकुमारी चौधरीले स्नाचमा ६५ केजीको नयाँ कीर्तिमान राखिन्। उनले सञ्जु चौधरीले यसै वर्ष पोखरामा सम्पन्न २३औं पुरुष तथा ८औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राखेको ६३ केजी तौलको कीर्तिमान भंग गरेकी थिइन्। चौधरीले कुलमा १ सय ४५ केजी भार वहन गर्दै स्वर्ण पाइन्। दोस्रो स्थानमा रहेकी खर्साल युथ क्लबकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत पाइन्।

यसै स्पर्धाको जुनियरतर्फ ओम फिटनेस तथा अर्डर सप्लायर्सकी सञ्जु चौधरीले तीन कीर्तिमान राखिन्। उनले पोखरामा भएको २३औं पुरुष तथा ८औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा राखेको ६३ केजी, स्नाचको ८२ केजी र कुलको १ सय ४५ केजीमा सुधार गर्दै क्रमशः ६४, ८४ र १ सय ४८ केजीको नयाँ कीर्तिमान रचिन्।

ललितपुरस्थित स्पोर्टस् हाइवेमा भएको प्रतियोगिताको पुरुष ५६ केजी सिनियरतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका तुलाराम महतोले १ सय ८२ केजीका साथ स्वर्ण पाए। सेनाकै सन्तोष थपलियाले १ सय ६५ केजीका साथ रजत र वीरगन्ज फिजिकल फिटनेसका अशोककुमार शाहले १ सय २५ केजीका साथ कांस्य पाए। यसै स्पर्धाको जुनियरतर्फ खर्साल युथ क्लबका रामकुमार यादवले १ सय ८१ तौलका साथ स्वर्ण पाए। खर्सालकै लालबाबु पासवानले १ सय ५३ केजीका साथ रजत र वीरगन्ज युनाइटेडका राजा शाह कानुले १ सय ३५ केजीका साथ कांस्य पाए।

कमला घाइते
महिलाको ५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्नाचमा आफ्नै नाममा रहेको ६७ केजीको कीर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ कीर्तिमान राखे तापनि क्लिन एन्ड जर्कमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा उनी घाइते हुन पुगिन्। कमलाले स्नाचमा ६७ केजीको कीर्तिमान २०१७ मा तुर्कमेनिस्तानमा भएको पाँचौं मार्सल आर्टस् गेम्समा राखेकी थिइन्।

एसियन प्रतियोगिताका लागि छनौट हुन सफल हुने विश्वास गरिएकी कमला क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने उद्देश्यका साथ ८७ केजी भार वहन गर्ने क्रममा खुट्टामा चोट लाग्नाका कारण प्रतियोगिताबाट बाहिरन पुगेकी थिइन्। उनकै नाममा ८६ केजीको कीर्तिमान कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्