कक्षा पाँचका विद्यार्थीलाई दीक्षान्त !



हिक्मत नेपाली दैलेख ।
बिश्वविद्यालयहरुले बिशिष्ट शिक्षा आर्जन गरिसकेकाहरुलाई दीक्षान्त कार्यक्रम गरेको देखेको वा सुनेकै कुरा हो तर दैलेखमा ५ कक्षाका विद्यार्थीलाई दीक्षान्त गरिएको छ ।

नेपाल बाल संगठनले सञ्चालन गरेको बाल मन्दिर आधारभूत विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेर अन्यत्र विद्यालयमा ६ कक्षा पढ्न जान लागेको ११ जना बालबालिकालाई आज त्यस्तो दीक्षान्त कार्यक्रम गरिएको हो । ४२ वर्षदेखि सञ्चालनमा आएको बाल मन्दिर आधारभूत विद्यालयले ५ कक्षासम्म मात्र पढाउछ ।

विद्यालयमा बालमैत्री वातावरणमा सिकाएका छौं, अन्यत्र जाँदा पनि त्यो हौसला कायम रहोस् भन्ने उद्देश्यले दीक्षान्त कार्यक्रम गरिएको विद्यालयकी प्रधानाध्यापक टीका थापा भट्टराईले जानकारी दिनुभयो ।

विद्यालको गुणस्तर सुधार्न शिक्षक शिक्षिकाका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउन ५ वर्ष अघिदेखि निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर सुनारले सुनाउनुभयो ।

आधारभूत विद्यालयले ‘गाउन’ पहिराएर दीक्षान्त गरेको नेपाल मै पहिलो अभ्यास भएको विद्यालय निरीक्षक धीरेन्द्रप्रसाद शर्माले बताउनुभयो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर उठ्दै गरेको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लको बिश्वास छ ।

नेपाल बाल संगठनले त्यतिबेला पूर्व प्राथमिक तहको शिशु कक्षा सञ्चालन गर्ने नीति लिएकै वर्ष २०३२ भदौ ४ गते स्थापना भएको यो विद्यालयको त्यतिबेला पदेन बाल संगठनको पहिलो अध्यक्ष तत्कालिन जिल्ला पञ्चायतका सभापति टोपबहादुर सिंह र दोश्रो अध्यक्षको रुपमा नगेन्द्रबहादुर थापाले जिल्ला पञ्चायतका सभापतिको हैसियतले संरक्षकत्व दिनुभएको थियो ।

२०३८ सालपछि समाजसेवीहरुबाट नेपाल बाल संगठनको अध्यक्ष चयन गर्ने नियम बनेपछि रामप्रसाद न्यौपाने, कुलबहादुर शाही, रत्नबहादुर बिश्वकर्माले अनि २०५५ देखि अहिलेसम्म जगतजंग थापाले नेतृत्व गरिरहनु भएको छ ।

सदरमुकामभित्रका दलित तथा विपन्न समुदायका बालबालिका मात्र पढ्ने गरेको यो विद्यालयमा ८२ जना बालबालिका अध्ययनरत छन् । विद्यालय प्रशासनले मनकारी समसेवीहरुको सहयोग लिएर बालबालिकाहरुलाईं विद्यालय पोशाक, स्टेशनरी लगायतको सहयोग जुटाउदै आएको छ ।

बाल मन्दिर आधारभूत विद्यालयका सहायक अध्यापक एवं नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवाशीय व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो । विपन्न दलित समुदायका बालबालिका मात्र पढ्ने भएकोले प्रत्यक्ष निगरानी राख्न यो अवधारणा ल्याइएको सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्