शहरी विकासको २ सय करोडको योजना गुणस्तरहिन



उत्तम नेपाल, भद्रपुर ।

शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलाम, फिल्ड कार्यालय भद्रपुर र निर्माण कम्पनीले अटेर गरी गुणस्तरहीन कामलाई तिव्रता दिदै आएको पाइएको छ ।

नेपाल सरकारको ‘सघन शहरी विकास कार्यक्रम’ अन्तरगतको भद्रपुर नगरपालिका भित्र नालासहितको सडक विस्तार कार्यमा कमसल सामग्री प्रयोग गरि बनाइएको एक दिनमै पक्की नाला चर्किन र भत्किन सुरु भएपछि उनिहरुको गुणस्तरमाथि प्रश्न चिन्ह देखापरेको हो । यस बारेमा पटक–पटक सञ्चारमाध्यमले समाचार बाहिर ल्याएपनि उनिहरुले अटेर जारी राखेका छन् ।

हाल नगर क्षेत्रमा धमाधम २ सय करोडको नालासहितको सडक विस्तारको काम भइरहेको छ । भद्रपुर नगरपालिकाको स्वामित्वमा पर्ने पक्की नाला निर्माणको अनुगमन गर्ने बाहेक नेपाल सरकारले कुनै अधिकार नदिएकोले निर्माण कम्पनीले लापरवाही पूर्णढंगले गुणस्तरहीन काम गर्दै आइरहेको व्यापक जनगुनासो सार्वजानिक भएको छ ।

केहीदिन अघि भद्रपुर वडा नम्बर ७ अन्तरगतको सरस्वती चोक, विषम टोलहुदै अञ्जनीमोडदेखि वोकत्तबारी जोड्ने पक्की नालाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा नाला निर्माणमा सरकारी इस्टिमेट भन्दा बाहिर गएर निर्माण कम्पनीले गुणस्तरहीन काम गरिरहेको भेटाएपछि नगर प्रमुख श्रेष्ठले फिल्डमा खटिएका कम्पनीका प्रतिनिधिलाई काम तत्काल रोक्न आदेश दिएका दिए । तर, नगर प्रमुख श्रेष्ठले दिएको आदेशको धज्जी उडाउँदै निर्माण कम्पनीले गुणस्तरहीन कामलाई नै तिव्रता दिदाँ अहिले नाला चर्किन र भत्कन थालिसकेको छ ।

एक दिनमै नाला चर्किन र भत्किन थालिसकेको स्थानीय उपभोक्ताले देखेपछि मंगलबार विहान पुनः नगर प्रमुख श्रेष्ठलाई खबर गरेका थिए । श्रेष्ठसंगै गएको पत्रकारको टोलीले घटनास्थल पुग्दा स्थानीय उपभोक्ता निर्माण कम्पनी प्रति आक्रोसित देखिएका थिए । पिसिसि ढलानमा गुणस्तरहीन काम भइरहेको स्थानीय टेकराज लम्सालले बताए । निर्माण कार्यमा ठेकेदारले माटो मिसाएको बालुवा प्रयोग गर्दा नाला गुणस्तरहीन बनेको उनले आरोप लगाए ।

बाङ्गो नाला बनाउनुका साथै सिमेन्ट, गिट्टी र बालुवाको मात्रा सरकारी इस्टिमेट बमोजिम नहालेको स्थानीय प्रमिला पौडेलले बताइन् । काम राम्रो भएन भन्दा उल्टै स्थानीय उपभोक्तालाइ ठेकेदारका मान्छेले थर्काउने, निर्माण स्थलमा पानी नहाल्ने जस्ता काम भइरहेको उनले बताइन् ।

पल्म वाल र पिसिसि ढलानमा कमसल सामग्री प्रयोग भइरहेको भेटाएपछि १५ तगारी बालुवा र गिट्टी हालेपछि मात्र एक तगारी सिमेन्ट हालेको जनगुनासो आएपछि नगरपालिकाको इन्जिनियरसहितको टोली निर्माणस्थल पुगेको मेयर श्रेष्ठले बताए । सोही बेला निर्माण कार्य सुधार गरेर अघि नबढेसम्म निर्माण कार्य रोक्न आदेश दिएको उनले बताए ।

नगरपालिकालाई अनुगमन गर्ने बाहेक अरु कुनै अधिकार नरहेकोले तत्काल निर्माण कार्य सुधार गर्ने निर्माण कम्पनीलाई आदेश दिइसकेको उनले बताए ।

श्रेष्ठ÷रसुवा÷एपेक्स जेभी काठमाडौले नगरको १२ वटा योजना अर्थात २३.४१४ किलोमिटर पक्की नाला बनाउने ठेक्का ८३ करोड ८० लाख रुपैयामा लिएको हो । सोही अन्तरगत यो नाला निर्माण भइरहेको छ । निर्माण कम्पनीले सो नाला बनाउने काम युगल कन्ट्रक्सन उर्लाबारीलाई पेटी कन्ट्रक्टमा दिएको छ । सोवित गौतम भन्ने व्यक्तिले नाला बनाइरहेको छ । श्रेष्ठ÷रसुवा÷एपेक्स जेभीका इन्जिनियर विवेश कार्कीले चर्किएको र भत्किएको नाला पुनः भत्काएर बनाउने बताए ।

शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलाम अन्तरगतको फिल्ड कार्यालय भद्रपुरबाट खटिएका इन्जिनियर बाइकमा चढेर आउने बाटैबाटो हेरेर जाने गर्दा निर्माण कार्य गुणस्तरहीन बन्न थालेको छ । यसतर्फ भद्रपुर नगरपालिकाका जनप्रतिनिधि बाहेक कुनै पनि सरकारी निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्