कालोपत्रे भयो राजविराज विमानस्थल



राजविराज । ५८ वर्षदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थलमा कालोपत्रेको सबै कार्य पुरा भएको छ ।

२०१६ सालमा तत्कालिन यातायात मन्त्री स्व.गणेशमान सिंहले राजविराज विमानस्थलको शिलान्यास गर्नु भएको थियो । शिलान्यासपछि अलपत्र अवस्थामा रहेको विमानस्थलको निर्माण कार्य पुरा भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका परियोजना संयोजक रामएकवाल महतोले जानकारी दिनुभयो ।

संयोजक महतोले एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य भईसकेको बताउनु भयो । नाला तथा केहि रुपमा घेरा निर्माणको काम बाँकी रहेकोले एक साताभित्र यी कामहरु पनि पुरा भईसक्ने बताउँदै संयोजक महतोले वैशाख १५ गतेसम्म विमानस्थल उडानका लागि तयार भईसक्ने बताउनु भयो ।

२०७३ मंसिर ८ गते कान्छाराम, रमण र देव एण्ड शायर जेभी कम्पनीले कुल ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्