शत्रु–मित्रु चिन्नुपर्ने समय



कृष्ण प्रजापति

आफ्नो साथी र आफ्नो शत्रु को भन्ने चिन्न नसकेपछि मानिसले अति दुःख भोग्नुपर्ने हुन्छ। शत्रु को हो र मित्र को हो भन्ने चिन्न सक्यो भने आफूले आफूलाई पनि चिन्ने मौका पाउँछ। आफूले आफूलाई चिन्न नसकेपछि नै मानिसले अति दुःख पाउने हो। आफूले आफूलाई चिन्नका लागि को शत्रु र को मित्र भन्ने कुरा राम्ररी चिन्नुपर्दछ। तर नेपालको कम्युनिस्ट आन्दोलनमा मुख्य दुश्मन को हो भन्ने विषयमा जहिल्यै पनि विवाद कायम नै रह्यो। एक समय राजा नै मुख्य दुश्मन हो भन्ने धारणा कम्युनिस्ट पार्टीभित्रको एक पक्षले बोकेको थियो। सो धार अहिले आएर सत्तासीन भएर नाम मात्रैको कम्युनिस्ट पार्टी तर कम्युनिस्टको ‘क’ पनि भावना नभएको कम्युनिस्ट पार्टी हुन पुगेको छ। कम्युनिस्ट पार्टीको मुख्य दुश्मन राजालाई मानेको बखत जनताले जनमत संग्रहमार्फत आफ्नो अधिकार आफूले कायम गर्ने मौका मिलेको थियो। राजा वीरेन्द्रले घोषणा गरेको जनमत संग्रह भएको बखत भने त्यसलाई कम्युनिस्ट पार्टीले कहिले बहिस्कार ग¥यो त कहिले के भन्यो। अलमलमै राजा पक्षले जित्यो, पञ्चायत हटेन।

अहिले समय बदलिइसकेको अवस्था छ। राजा हटिसकेको अवस्था छ। तर मूल दुश्मन भइरहेको तत्वले भने जनतालाई राष्ट्रभित्र शासन गरेको अवस्था छ। शोषण गरिरहेको अवस्था छ। वास्तवमा कम्युनिस्ट पार्टीका लागि मात्रै होइन कि प्रजातान्त्रिक आन्दोलनका लागि पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद नै मुख्य दुश्मन हो भन्ने धमाधम प्रमाणित हुँदै आइरहेको छ। अनि जसले भारतको गुलामी गर्न सक्यो, त्यो नै प्रधानमन्त्री र मन्त्री हुन सक्ने परिपाटीको विकास हुँदै गइरहेको छ। आफू र अरू भन्ने चिन्न नसकेकै कारण हामीले अति दुःख भोग्न बाध्य हुने हो। दुःख र सुख मानवजीवनको अपरिहार्य तत्वहरू हुन्। त्यसो भएर पनि मानिसहरू सुखतिर उन्मुख हुने गर्दछन्। तर विभिन्न कारणले मानिसलाई दुःख आइरहेको हुन्छ। अमेरिकी साम्राज्यवाद र उत्तर कोरियाका बीच आज दुश्मन कि साथी भन्ने घम्साघम्सी चलिरहेको छ। सामान्य व्यक्तिहरूका लागि केही पनि होइन जस्तो देखिए पनि भारतले नाकाबन्दी गरेको कुरालाई शत्रुको व्यवहार नै हो भनी नेपाल सरकार भन्न हिच्किच्याइरहेको अवस्था छ। अनि हाम्रा केपी ओली राष्ट्रवादी कसरी भन्ने ? कोरियाले नेपाललगायत विभिन्न राष्ट्रमा कृषि, उद्योग, सडक विस्तारलगायत विभिन्न सहयोग गरिरहेको छ। त्यसै गरी चीनबाट जलविद्युत्, सडक र उद्योग सञ्चालन गर्न सहयोग गरिरहेको छ। कम्युनिस्ट राष्ट्रहरूले नेपालमा आर्थिक विकासको लागि सक्दो सहयोग गरिरहेकै अवस्था छ।

खुल्ला नाका र धार्मिक हिसाबले पनि नेपालका मानिसहरू थुप्रै गया, काशी र वनारसमा जाने भएकाले धार्मिक र सांस्कृतिक सम्बन्ध भने पहिलादेखि नै रहेको थियो। तर त्यसबाट हामीलाई के नाफा भयो त ? साथी भनेर साथीको सम्बन्ध राखेन भने उसलाई साथी भनेर भन्नै सकिन्न। त्यसैले यो समयमा को साथी र को शत्रु भन्ने चिन्नुपर्ने बेला भएको छ। हालै प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरी १२ बुँदे संयुक्त विज्ञप्ति प्रकाशित गरेको छ। त्यसमा पनि खासै नेपालको हित हुने कुनै पनि कुरा उल्लेख भएको देखिँदैन। अझ २२ वर्षअगाडि नै शुरू गरिएको पञ्चेश्वर आयोजनाको डीपीआर तयार गर्ने कुरासम्म त्यसमा उल्लेख भएको छैन। त्यसैले नेपालप्रति भारतले हेपाहा प्रवृत्ति अपनाएको अहिले आएर स्पष्ट हुने गरेको छ। यो समयमा आफ्नो भारत भ्रमण सफल भएको भने पनि प्रधानमन्त्री केपी ओलीको यो भ्रमणले भोलि नेपाललाई नराम्ररी दीर्घकालीन असर पुग्न सक्ने कुरा भने अड्कल गर्न सकिन्छ।

पशुपक्षीले आफ्ना शत्रु को हो भन्ने चिन्दछन्। चराचुरुङ्गीले पनि आफ्नो शत्रु चिन्दछन्। तर हाम्रा नेता तथा सरकारमा गएका दलहरूले नेपालको मूल दुश्मन को हो अनि उनीहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्दछ भन्ने नै थाहा छैन। प्रतिगामी तत्वहरूले आफूलाई बिगारिरहेको कुरा थाहा नपाएसम्म हामीले आफ्नो सही मार्ग पहिल्याउनै सक्दैनौं। हामी आफ्नो बाटोमा अगाडि बढ्नका लागि अरूलाई खुल्ला छाड्नु पनि हुन्न। यो समय भनेको हिजो कम्युनिस्ट पार्टीले निर्धारण गरेको मुख्य दुश्मन राजतन्त्रको अन्त्य भैसकेको अवस्था हो। साथै गणतन्त्र आइसकेर पनि यो देशलाई कसले थिचिरह्यो, कसले बिगारिरह्यो र कसले यहाँ शोषण र दमन ग¥यो भन्ने जान्नुपर्ने समय हो। तर यहाँका नेताहरू आफ्नो मूल दुश्मन को हो भन्ने कुरा थाहा पाउन चाहिरहेका छैनन्। शत्रुलाई तरबार समर्पण गरी फूर्ति गरिरहेको अवस्थामा जेनतेन जिइरहेको अवस्था छ।

भारतले भनेपछि मिल्ने, भारतले दुःख जनाउ गरेसँगै आपसमा झैझगडा गर्ने नेताहरूको राम्रो चलन होइन। दुईवटा अलग्ग राजनीतिक पार्टी एक हुनका लागि तयारी भैरहेको अवस्था हो यो। तर नेपालमा त्यति चाँडो यो वास्तविकतामा परिणत गराउने छाँट देखिन्न। देशमा एउटा पार्टी अर्को पार्टीसँग मिल्ने भन्ने कुरा उनीहरूको विचार, धारणा र सिद्धान्त पनि केही फरक नहुनु हो। दुई अलग धार भएर विकास भइरहेका पार्टीहरू एकैपटक एउटै धारमा ल्याउनु सजिलो विषय पनि होइन। तर अहिले आएर दुई पार्टीबीच भैरहेको पार्टी एकीकरणको घोषणाको तयारी हेर्दा यहाँ को शत्रु र को मित्रु भन्ने कुरालाई ध्यान नै नदिई एकस्थानमा बस्न खोजेको मात्रै देखिन्छ। बिहान रण्डी, वेश्या भनी गालीगलौज गरी बेलुकी भएपछि उनैसँग रात बिताउने प्रवृत्ति हाम्रा नेताहरूसँग छ। अनि उनीहरूलाई कसरी कम्युनिस्ट नेता मान्ने ? यो हिसाबले त उनीहरू कम्युनिस्ट त होइन नै, साथै इमानदार प्रजातान्त्रिक पार्टीको दर्जामा राख्नलायक सिद्धान्त भएका नेताहरू पनि रहेनन्।

कहिले के, कहिले के कुरा गरेर चर्चामा आउनेबाहेक देश र जनताको लागि अहिलेसम्म केपी ओलीको सरकारले ठोस योजना र कार्यक्रम बाहिर ल्याउनै सकिरहेको छैन। प्रतिगामी तत्वले राज्यको हरेक निकायमा सक्रिय भइरहेको अवस्था छ। त्यसो भएकाले यो समय भनेको समान्य जनताको लागि जीवन बिताउनै गाह्रो भैसकेको अवस्था हो। त्यसैले जनताले सहजरूपमा जीवन बिताउने वातावरण भावी सरकाले गरोस् भन्ने आशा गरेका छन्। अहिले केपी ओली सरकारले भारत भ्रमणपछि यो गरौंला, त्यो गरौंला भन्नुभन्दा पनि भइरहेका कामकुरालाई मात्रै निरन्तरता दिन सक्यो भने त्यो नै सबैभन्दा ठूलो उपलब्धि भएको मान्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्