पंगेनीको गीतले दर्शकसँगै नेता स्तब्ध



अनिल खत्री, गुल्मी। गुल्मीमा आयोजित तेस्रो गुल्मी महोत्सवमा लोकदोहोरी गायक बद्री पंगेनीले गीत गाउँदा मञ्चमा बसेका नेता स्तब्ध भए भने दर्शकको आँखाबाट आँशु रसाए। महोत्सवको १०औं दिन आइतबारको मुख्य आकर्षक बनेका गायक पंगेनीले महोत्वको प्रमुख अतिथिका रूपमा मञ्च बसेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई देख्नासाथ ‘नेताज्यू खै त हाम्रो गाउँमा आएको?’ जस्ता गीतहरू गाएका थिए।

उनले गीतमार्फत धेरै सन्देश थप्दा कांग्रेस नेता चन्द्र भण्डारी झनै स्तब्ध भए। गीत गाउँदै गरेका गायक पंगेनीलाई कांगे्रस नेता भण्डारीले आफूले लगाएको मालासमेत उनलाई लगाइदिए। गायक पंगेनीले जनताको घर–घरमा सबैखाले विकासका अनुभूतिहरू नपुगेको आफ्नो गीतमा दर्शाएका थिए। उनले गुल्मी जिल्लामा तीन मन्त्री र प्रतिपक्ष दलको नेता पनि प्रभावशाली नेता भएकाले जिल्लाको निम्ती विकासको गर्ने पालो आएको बताए।

गीत गाउने क्रममा पंगेनीले जनताले दुःख पाइरहेकाले त्यसको अन्त्यका लागि नेताहरू गाउँ–गाउँमा पुगेर विकासको अनुभूति गराइदिन गीतमार्फत आग्रह गरे। उनले नेताहरू चिल्ला गाडीमा हिँडेर जनताको दुःख–कष्टलाई बिर्सने गरेकाले त्यसको खबदारी गर्न गीत गाएको बताए।

उनले अर्को गीत स्वरूप आमा बिदा पाउँदिन गाए। पंगेनीले गीतमार्फत विदेशमा रहेका विभिन्न कथावस्तु सुनाउँदा धेरै दर्शकका आँखाबाट आँसु झरेका थिए। गायक पंगेनीको गीतमा महिला आमा मात्रै होइन धेरै पुरुषका पनि आँशु थामिएका थिएनन्। गीत गाउँदा पंगेनी आफै स्तब्ध बनेका थिए। गीतमा उनले बिदेसिएका धेरै नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन आग्रह गरे। उनले गुल्मी जिल्लाबाट प्रदेसिएका दाजुभाइहरूलाई स्वदेश फर्किएपछि यहीं केही गरेर बस्नसमेत आग्रह गरे। गीत सुन्दै गरेका कांग्रेस नेता भण्डारीले पनि उनको गीत सुनेर आफू स्तब्ध भएको बताएका थिए। उनले गायक पंगेनीले नेताहरूलाई खबदारी गर्ने गीतप्रति आफू निकै भावुक र स्तब्ध भएको उल्लेख गर्दै आमाको गीतमा निकै सन्देशमूलक भाव रहेको बताए। गायक पंगेनीले विकास गर्न गाउँ फर्किन नेताहरूलाई गरेको आग्रहमा उनले आफू जनप्रतिनिधि बन्दाका विकास गतिविधिहरू सम्झाएका थिए।

चैत १६ गतेबाट शुरू भएको तेस्रो गुल्मी महोत्सव सोमबार सकिएको छ।

प्रतिक्रिया दिनुहोस्