काष्ठमण्डप पुनर्निर्माणमा सरकार उदासीन



काष्ठमण्डप पुनर्निर्माणमा सरकार उदासीन भएको पाइएको छ। विश्वसम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनर्निर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको काष्ठमण्डप पुनर्निर्माण अभियानले नै जनाएको कुरा समाचारमा आइरहेको छ। भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक, मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु नहुनु निकै दुःखद कुरा हो। सातौं शताब्दीमा निर्मित काष्ठमण्डपको पुनर्निर्माणमा सरकारी क्षेत्रबाट नै चोसो दिनु आवश्यक छ।
– मधु खनाल, काठमाडौं

श्रीनिवासमाथि गोली हान्नेलाई कारबाही गर
आचार्य श्रीनिवासमाथि शनिबार विराटनगरमा भएको गोली प्रहारको घटनाको भत्र्सना गर्न चाहन्छु। यस्ता निन्दनीय घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न मागसमेत गर्दछु। देशमा धार्मिक युद्ध गराउन सुनियोजितरूपमा आतंककारीले गुरुमाथि आक्रमण गरेको हुनसक्ने आशंका छ। यसबारेमा सरकारले गम्भीर भएर छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा चुक्नुहुँदैन।

यस मुलुकमा सदियौंदेखि मिलेर बसेको समाजलाई धर्म, भाषा, संस्कृतिका नाममा विभिन्न स्वदेशी तथा विदेशी शक्तिहरूले द्वन्द्व गराउन खोजेकोमा चिन्तासमेत लागेको छ। धर्मगुरुमाथिको आक्रमण सरकारका लागि चुनौती हो। जब धर्मनिरपेक्षता घोषणा गरियो, त्यसपछि मुलुकमा गुण्डाहरूको आतंक शुरु भएको छ। यसमा सरकार गम्भीर हुन जरुरी छ।
– मुकुन्द शर्मा, काठमाडौं

प्रतिक्रिया दिनुहोस्