सहमतिहरू कार्यान्वयन होऊन्



खुल्ला सिमानाका साथै धार्मिक, सांस्कृतिक, आर्थिकलगायत थुप्रै कोणबाट हेर्दा नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेकाले दुई देशबीचको सम्बन्ध सुमधुर हुनु उत्तिकै खाँचो छ । यो सम्बन्ध पनि सहअस्तित्व र मित्रतामा आधारित हुनुपर्दछ । सरकारको नेतृत्व गर्नेबित्तिकै भारत भ्रमण गर्ने राजनीतिक परम्परालाई निरन्तरता दिएर आइतबार स्वेदश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण देखावटी र बनावटी नभई यथार्थवादी भएको दाबी गर्नुभएको छ ।

भारतले गरेको नाकाबन्दीको विरोध गर्दै विगतमा धेरै हदसम्म भारत विरोधी भावना दर्शाएर राष्ट्रवादी छवि बनाउनुभएका प्रधानमन्त्री ओलीले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार भएको पनि दाबी गर्नुभएको छ । यसअघि ओली प्रधानमन्त्री हुँदा संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेको भारतीय सरकारबाट यसपटकको प्रम ओलीको भ्रमणमा संविधानको ‘स’ पनि उच्चारण गरिएन ।

विभिन्न विकास र आयोजनामा साझेदारी गर्ने विषयहरूलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता भारतले व्यक्त गरेको छ । भारतले नेपालको कृषि क्षेत्रमा सहकार्य गर्ने एवम् भारत र नेपालबीच नयाँ जलमार्ग विस्तार गर्ने घोषणासमेत गरेको छ । नेपालमा चीनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै कूटनीतिक जवाफस्वरूप भारतले सम्झौतामा सहकार्यका बुँदाहरू थपेको छ । विगतमा भएका सहमतिसमेत कार्यान्वयन नभएको स्थितिलाई अन्त्य गर्दै अहिले भएका सहमतिहरू कार्यान्वयन भएमा दुई देशको हित हुनेछ । यद्यपि कार्यान्वयन के–कति हदसम्म होला, त्यो भविष्यले ने देखाउनेछ ।

नेपाल–भारतबीच महत्वपूर्ण चासो रहेका विषयहरूमा यस भ्रमणले खासै प्राथमिकता पाएनन् । जस्तो– पञ्चेश्वर, महाकाली, भारतले एकतर्फी बनाएका बाँध, जसको कारण बर्सेनि डुबानको पीडा नेपालीले खेप्नुपर्दछ, भारतीय नोटको सटही, हुलाकी राजमार्गजस्ता वर्षौंदेखि अघि नबढेका योजनाहरूबारे भ्रमणमा खासै चर्चा भएन । निर्वाचनबाट शक्तिशाली बनेका प्रधानमन्त्री ओलीसँग भारतले आफ्नो सम्बन्ध सुधार्ने र आफ्नो समृद्धिको नारामा भारतले सहयोग गर्ने प्रतिबद्धतालाई प्रधानमन्त्री ओलीले उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ । नेपालमा आन्तरिक राष्ट्रियता सुदृढ र एकता बलियो नभएसम्म दुई देशबीचको सम्बन्ध सहअस्तित्वमा आधारित नहुने अवस्थालाई मनन गरी सामाजिक एकता एवम् सामाजिक न्यायको प्रत्याभूति गर्दै सही अर्थमा आर्थिक समृद्धि हासिल गर्न सके प्रधानमन्त्री ओलीको भारत भ्रमण सार्थक हुनेछ, नत्र विगतको जस्तै एउटा औपचारिक भ्रमणमा सीमित हुनेछ । त्यसैले सहमतिहरू कार्यान्वयन गरी भ्रमण उपलब्धिमूलक भएको अनुभूति गराउन दुवै मुलुकले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्