भ्रमण पूर्ण सफल



पीएम ओली आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश यात्रा सकेर आइतबार साँझ दिल्लीबाट स्वदेश फर्किएका छन्।
जलमार्ग र रेलमार्गले काठमाडौं–दिल्ली र सुमन्द्रसँग जोड्ने प्रतिबद्धता भारतले गर्या छ। दिल्ली उत्रिएकै दिन मोदीले दिएको आकस्मिक सरप्राइज वार्तापछि ओली दंग छन्। भ्रमणबारे धरहराले पीएमसँग केही प्रश्न गर्या छ।

विराटनगरको भारतीय क्याम्प हटाउने कुरा भयो?
पीएमः यसपटक भएन।
अन्तर्राष्ट्रिय हवाई रुट थप्नेबारेको प्रसंग जोडियो?
पीएमः भेटघाटको व्यस्तताले यो प्रसंग जोडिएन।
सञ्चार सहज बनाउने बारेमा?
पीएमः सञ्चार नियमित भएकैले त अहिलेको भ्रमण भएको हो।
पञ्चेश्वरको नि?
पीएमः तयारी हुन नपाएकोले भएन।
प्रतिबन्धित भारतीय नोट सटही बारेमा?
पीएमः मन साटेपछि नोट त विस्तारै साटिहालिन्छ नि।
नेपाली उत्पादन निर्यातमा भइरहने अवरोधका बारेमा?
पीएमः अब पानी जहाज चल्न थालेपछि सरर गइहाल्छ नि।
सीमा क्षेत्रमा हुने डुबान समाधान गर्नेबारेमा छलफल भयो?
पीएमः डुबान भए पो चर्चा गर्नु, यस्तो सुख्खा मौसममा डुबानको कुरा गरेर हुन्छ?
भ्रमणमा धेरै कुरा हुन पाएन छ, भ्रमणमा केचाहिँ भयो त?
पीएमः भ्रमण पूर्णरूपमा सफल भयो।

प्रतिक्रिया दिनुहोस्