विद्यार्थी भर्ना अभियान र विद्यालयको भुमिका



रमाकान्त शर्मा

विद्यालयमा वालवालिका एक पटक पुगे भने आमाबाबुसंग झगडा गरेर पनि विद्यालय जान प्रयास गर्ने, भोकै भए पनि, अभिभावकलाई झुक्याएर पनि विद्यालय आउने अवस्था श्रृजना गर्न शिक्षको प्रयास आवश्यक पर्दछ। जव वालवालिकाले शिक्षकलाई आफ्नो नजिकको, माया मान्ने, भलो गर्ने, समस्या बुभ्mने, समस्यामा सहयोग गर्ने, खुशी हुन रमाउन सहयोग पुर्याउने व्यक्तिको रूपमा पाउछन् तव विद्यालय आउन खुशि हुन्छन्।

विद्यालय अनुगमनका क्रममा नवलपरासीको एक विद्यालयमा पुग्दा केही वालवालिकाहरू विद्यालयको चौरमा खेली रहेका भेटिए। त्यस दिन विद्यालय विदा रहेछ। ती वालवालिकालाई कति कति कक्षामा पढ्छौ ? भनेर सोध्ने क्रममा करिव ८ बर्षको एक वालकले आफुले विद्यालयमा नपढ्ने वताए। उनलाई विद्यालय किन नपढेको भनेर जिज्ञासा राख्दा उनले आफ्नो कुरा सुनाए। उनको बाबु कर्तव्य ज्यान मुद्दामा जेलमा परेका रहेछन्। आमा त्यसै कारणले दोस्रो विवाह गरिछन्। उनी बाजेबजैसंग बस्दा रहेछन्। उनलाई बाजे बजैले विद्यालयमा भर्ना पनि गरिदिएका रहेछन्। उनी केही दिन त विद्यालयमा गए। उनलाई साथीहरूसंग विद्यालयमा जान र पढ्न मन पनि रहेछ। तर उनलाई विद्यालयमा सवै साथीहरूले ज्यानमारा, कैदीको छोरा भनेर हेप्ने र गिजाउने गर्दा उनले सहन नसकेको कारणले विद्यालय नै जान छाडेछन्।

बाजेबाजैले भन्दा भन्दै पनि उनलाई विद्यालय जाने र साथिहरू संगै पढ्ने मन मरेछ। पिद्यालय नजिकै छ। अभिभावकले विद्यालयमा पठाउन चाहन्छन् तर विद्यालयमा उनी पढ्दैनन्। हाम्रो समाजले बाबुले गरेको गल्तीबाट यी वालकलाई जीवन भर सजाय भोग्न बाध्य बनायो।

यो त एउटा नमुना मात्र हो। यस्तै खालका विभिन्न कारणहरूले विद्यालय नगएका वा गएर पनि विद्यालयमा नियमित नभएका तथा विद्यालय छाडेका वालवालिकाहरू धेरै हुन सक्दछन्। कतिपय वालवालिकाहरू घरमा आमाबाबुले वा परिवारका सदस्यले पढ्न सहयोग गर्न नसक्ने तथा पढ्ने वातावरण नहुने, विद्यालयमा आधारभूत कुरा सिक्न नपाउने कारणले अन्तिम परीक्षामा फेलहुने, शिक्षकबाट पिटाइ र साथीहरूबाट हेपाइ खानु पर्ने जस्ता कारणले पनि विद्यालय छाडेका छन्। कतिपय वालवालिकाहरू शारीरिक समस्या, बोली भाषाको समस्या, अपांगताको रणबाट विद्यालयमा साथीहरूबाट दैनिक हुने अपेहेलना, राखिने उपनामबाट पनि विद्यालय जान र सिक्न रुची देखाउदैनन्। यस्तो अवस्तामा वालवालिकालाई विद्यालय ल्याउन र शिक्षा दिने कार्यमा विद्यालय र शिक्षकको ठूलो भुमिका हुन्छ। शिक्षकले त्यस्ता वालवालिकालाई अन्य साथीहरूबाट हेपिनबाट जोगाउन सक्दछन्। समस्या फुकाइदिन सक्दछन्। वालवालिकालाई सम्मान, हौसला र उत्प्रेरणा दिन सक्दछन्। हाम्रा विद्यालय नआएका वा विद्यालय छाडेका वालवालिकालार्इृ विद्यालय र शिक्षकले प्रयास गरेमा विद्यालयमा नियमित गरी तह पुरा गराउन सक्दछन्। यस्ता कार्यहरू विद्यालयले विनाखर्चमा गर्न सक्दछ। केवल शिक्षकको चाहना र मेहनतको आवश्यकता पर्दछ।

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा राखेर महत्व दिएको छ। संविधानमा गरिएको व्यवस्थाको कार्यान्वयन सरकारको मात्र एक्लो प्रयासले सम्भव छैन। यसको लागि समाजका बौद्धिक बर्ग, सचेत नागरिक, अभिभावक सवैको भुमिका हुन्छ। शिक्षक र विद्यालयको भुमिका त झनै महत्वपुर्ण हुन्छ। विद्यालयको आफ्नो सेवा क्षेत्रका विद्यालय उमेरका सवै वालवालिकालाई विद्यालयमा भर्ना गरी शिक्षा दिने दायित्व पनि हो। विदालय उमेरका वालवालिकालाई विद्यालयमा ल्याउनको लागि विद्यालयले आफ्नो सेवा क्षेत्रमा रहेका जनसंख्याको सर्वेक्षरण गर्न, उमेरगत वालवालिकाको संख्या एकिन गर्न, विद्यालय भर्ना भएका नभएका वालवालिका पत्तालगाउन, के कारणले विद्यालयमा गएका छैनन ? के समस्या छ ? एकिन गर्न सक्दछ। समस्यामा परेका वालवालिकालाई पनि आफ्नै प्रयासमा विद्यालयमा भर्ना गर्न सक्दछ भने थप सहयोग चाहिने भएमा स्थानीय सरकारको रूपमा रहेका पालिकालाई अनुरोध गर्न, सामाजिका संघसस्था, शिक्षा प्रेमीको सहयोग जुटाउन सक्दछ। कतिपय वालवालिकाहरू वाबुआमाको चेतनाको कमिले विद्यालय भर्ना नभएका हुन सक्दछन्। त्यस्ता अभिभावकलाई विद्यालयले सम्झाउने बुझाउने, सचेत पार्ने कार्य गर्न सक्दछ र विद्यालयमा भर्ना गर्ने र नियमित पठाउने वातावरण निर्माण गर्न सक्दछ।

अपाङ्ग वालवालिकालाई विद्यालयमा भर्ना गर्न, पढाउन सम्भव छ, उनिहरूलाई उपयुक्त वातावरण दिइयो भने विलक्षण प्रतिभा देखाउन पनि सक्दछन्। सरकारले समेत सहयोग गर्दछ भन्ने जाकारी नभएकै कारणले पनि विद्यालय वाहिर रहेका हुन सक्दछन्। त्यस्तो अवस्थामा लेखाजोखा केन्द्रमा पुर्याई प्रविधिक टोलीबाट वालवालिकको अवस्था पत्तालगाउने र त्यस्ता वालवालिका अनुकुलको स्रोत कक्षा तथा विशेष विद्यालयमा भर्ना गरी पढाउन सहयोग पुर्याउन पनि सकिन्छ।

विद्यालयमा भर्ना भएका वालवालिकालाई बालमैत्री वातावरण दिन सकेमा, वालवालिकालाई विद्यालयमा जाउँ जाउँ भन्ने अवस्था श्रृजना गर्न सकेमा विद्यार्थी विद्यालयमा भर्ना हुने, नियमित हुने, तह पुरा हुने र सिकाइ उपलब्धि राम्रो पार्ने सम्भावना रहन्छ।

भर्ना अभियान सञ्चालन गर्नु भनेको बाबुआमाले आफै भर्ना गर्न विद्यालयमा लिएर आउने वालवालिकालाई भर्ना गर्नु तथा विद्यालयमा भर्नाहुन चाहेका विद्यार्थीलाई आफ्नो विद्यालयमा ल्याउन प्रयास गर्नु होइन। भर्ना अभियानको भावना त जो वालवालिका सामान्य अवस्थामा विद्यालयमा आउदैनन्। विभिन्न समस्यामा छन् त्यस्ता वालवालिकालाई विभिन्न प्रयास गरी समस्या समाधानमा सहयोग गरी विद्यालयमा भर्ना गर्नु र नियमित विद्यालयमा आउने वातावरण श्रृजना गर्नु हो।

विद्यालयमा वालवालिका एक पटक पुगे भने आमाबाबुसंग झगडा गरेर पनि विद्यालय जान प्रयास गर्ने, भोकै भए पनि, अभिभावकलाई झुक्याएर पनि विद्यालय आउने अवस्था श्रृजना गर्न शिक्षको प्रयास आवश्यक पर्दछ। जव वालवालिकाले शिक्षकलाई आफ्नो नजिकको, माया मान्ने, भलो गर्ने, समस्या बुभ्mने, समस्यामा सहयोग गर्ने, खुशी हुन रमाउन सहयोग पुर्याउने व्यक्तिको रूपमा पाउछन् तव विद्यालय आउन खुशि हुन्छन्। विद्यालयमा समस्यामा परिदैन, आफ्ना कुरा सुनुवाइ हुन्छ, परेका समस्या समाधान गर्न सहयोग हुन्छ, आफुलाई मनपर्ने क्रियाकलाप गर्न पाइन्छ भन्ने ठान्दछ तव विद्यार्थी विद्यालयमा आउन मन गर्दछ। राम्रा भनिएका कतिपय विद्यालयमा साना दुधे बाबुनानीहरूलाई दिनभर एकै बेञ्चमा, एकै कक्षाकोठामा, टनाटन कैदी सरह थुनेर राखेको पनि देखिन्छ। घरमा बाबुआमाको करकापले वालवालिका त्यस्ता विद्यालयमा त जालान, भनेको कुरा घोकेर सुगाले जस्तो सुनाउलान, लेखेर पनि देखाउलान तर उनीहरूको बौद्धिक र श्रृजनात्मक क्षमताको भने विकास गर्न
भने सक्दैनन्।

विद्यालयलाई वालवालिकाले मनपराएको स्थान बनाउन, घरमा भन्दा विद्यालयमा रमाउने वातावरण निर्माण गर्न विद्यालय र शिक्षकले धेरै लगानी तथा खर्च गर्नु पर्दछ भन्ने छैन। सानासाना कुराले पनि वालवालिकालाई खुशि दिन, रमाउने वनाउन, शिक्षकलाई आफ्नो मनपर्ने मान्छे महसुस गराउन सकिन्छ। विद्यालयमा पुगेको पहिलो दिन वालवालिकोलागि निकै महत्वपुर्ण दिन हुन्छ, जीवनभर यो दिनलाई स्मारण गर्दछन्। त्यस्तो महत्वपूर्ण दिनमा उनीहरूलाई विद्यालय रहेको स्थान, भवन, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरू सवै नौला र अपरिचत हुन्छन्। सामान्य बयस्क व्यक्तिले त पाउना भएर अपरिचित घरमा गएको छ भने शौचालयमा जानु पर्ने भएमा पनि केही समय रोकेर पनि तत्काल शौचालयको खोजी गर्दैन, परिचित स्थानमा जान प्रयास गर्दछ भने साना चारपाँच बर्षका वलवालिको अवस्था कस्तो होला ? अपिरिचित व्यक्तिसंग उसले आफ्ना समस्या राख्न सक्ला कि नसक्ला ?

सहजै अनुमान गर्न सकिन्छ। घरको संसार उसकोलागि परिचित हो भने विद्यालयको संसार अपरिचति। यदाकदा सानावालवालिकाले विद्यालयमा कपडामा नै दिशा पिसाव गरेका, दिशा च्यापेका घटनाहरू देख्न सकिन्छ। यस्तो अवस्था भयो भने भोलीपल्ट देखि वालवालिकालाई विद्यालय जान हिचकिचावट हुन सक्दछ। साथीहरूबाट अपहेलित हुन्छु भन्ने डर हुन सक्दछ। यस्तो अवस्थामा शिक्षक, विद्यालयका कर्मचारी तथा माथिल्लो कक्षाका विद्यार्थीहरूले त्यस्ता वालवालिकालई विद्यालय वातावरणमा परिचित गराइदिने, शौचालय देखाइ दिने, पानी पिउने, हात धुने स्थान देखाइ दिने, कक्षा कोठा, बस्ने स्थान, साथीहरू, शिक्षकहरूसंग परिचय गराइदिने, समस्यमा सहयोग गरिदिने गर्नु पर्दछ। सके सम्म विद्यालयको पहिलो दिन अविश्मरणीय बनाउन, खुशि बनाउन वातवारणलाई रमाइलो बनाउन पनि सकिन्छ। वालवालिकालई मनपर्ने खाना दिएर, माला लागाइदिएर, अविर लगाएर, नमस्कार गरेर, हातमिलाएर स्वागत गर्न सकिन्छ।
विद्यालयमा पहिलो पटक पुगेका वालवालिकालाई नयाँ पुस्तक दिदा त रमाउछन् नै। पुस्तक पढाउने, कठिन कुरा सिकाउने भन्दा दुइचार दिन विद्यालयको वातावरणसंग परिचित गराउने, रमाउन दिने, कथा कविता, गीत सुनाउने गर्दा वालवालिकालाई विद्यालय रमाइलो लाग्न सक्दछ। शिक्षकहरूलाई मित्र ठान्न सक्दछन्। सकेसम्म वालवालिकालाई शिक्षकसंग आफ्ना कुरा सजिलै राख्न सक्ने, भावनाहरू खोल्न सक्ने बनाउन सकेमा निकै उपलब्धिपूर्ण हुन्छ। नयाँ कुरा सिक्ने क्रममा विद्यार्थीले नजानेका कठिन भएका कुराहरू पनि सहज व्यक्त गर्न सक्दछ। शिक्षकले वालवालिकाको रुची, चाहना, भाषिक अवस्था, बौद्धिक क्षमता जानकारी भयो भने शिक्षण सिकाइ गर्न सहज हुन्छ।

यसरी वालवालिकालाई विद्यालयमा भर्ना गर्न मुख्य भुमिका विद्यालयको नै हुन्छ। वालवालिकालाई सुरुवातको समयमा विद्यालयमा शुखद अनुभुतिहरू दिलाउन सकेमा पछिल्ला दिनहरूमा सिकाइमा उत्पेरणा जगाउन, विद्यालयको तह पुरा नहुँदै विद्यालय छाड्नबाट रोक्न सकिन्छ। त्यतिमात्र होइन वालवालिकाको सिकाइलाई दरिलो पारी भविष्यकोलागि असल, योग्य, सक्षम र समाजकोलागि कामयावी नागरिकको लागि जग तयार गर्न सकिन्छ।

लेखक शिक्षा विभागका उपनिर्देशक हुनुहन्छ

प्रतिक्रिया दिनुहोस्