सलमानको जेल यात्रादेखि रिहाईसम्म



हरिण शिकार गरेको अभियोगमा भारतको जोधपुर केन्द्रीय कारागारमा २ रात बिताएपश्चात् बलिउडस्टार सलमान खान शनिबार जमानतमा रिहा भएका छन्।

सन् १९९८ मा कालो हरिण मारेको आरोपमा सलमानलाई गत बिहीबार ५ वर्षको सजाय सुनाइएको थियो। जेलका अधिकारिक सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार अतालतले सलमानको जमानत याचिका मञ्जुर गर्ने आदेश दिएपछि सलमान ५० हजार रुपियाँको निजी मुचुल्का, त्यतिकै राशीको २ जमानत तथा अदालतको मञ्जुरीबिना विदेश जान नपाउने सर्तमा रिहा भएका हुन्। समाचारअनुसार याचिकामाथि अगामी सुनुवाई ७ मेमा हुनेछ। जुन दिन सलमान आफैं अदालतमा उपस्थित हुनुपर्नेछ।

शनिबार साँझ ५ बजेर ३५ मिनेटमा रिहा भएका सलमानलाई लिन उनको बहिनी अलविरा र अर्पिता तथा सुरक्षा गार्ड शेरा पुगेका थिए भने उनका उत्साहित प्रशंसकको साथमा मिडियाकर्मीको भीड लागेको थियो। प्रहरीलाई सलमानका प्रशंसक सम्हाल्न र उनको वाहन निकाल्न निकै कसरत गर्नुपरेको थियो। उनका फ्यानले आफ्नो साथमा केही पोस्टर पनि लिएर आएका थिए। जसमा सलमान जिन्दावाद, सलमान तिमी संघर्ष गर, हामी तिम्रो साथमा छौं जस्ता नारा लेखिएको थियो।

५२ वर्षीय सलमानलाई कडा प्रहरी सुरक्षामा एयरपोर्ट लगिएको थियो। जहाँबाट एक चार्टड विमान चढी मुम्बईको शान्ता क्रुज एअरपोर्टका लागि उडान भरेका उनी राति ८ बजे बान्द्रास्थित आफ्नो ग्यालेक्सि अपार्टमेन्ट पुगेका थिए। त्यहाँ उनका शुभचिन्तक आफ्नो खुसी व्यक्त गरिरहेका थिए। उनले त्यसपश्चात् कालो रङको टिसर्ट र जिन्स पहिरिएर आफ्ना पिता सलिम खान, भान्जा अहिल र शेराको साथमा बलकोनीमा उभिएर हात जोड्दै धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्