पुँजी बजारमा सुधारको संकेत



नेपाल समाचारपत्र
काठमाडौं
निरन्तर ओरालो लागिरहेको पुँजी बजारमा गत साता भने केही सुधार देखिएको छ। गत साता नेप्से परिसूचक ३० दशमलव १ अंकले बढेर १२ सय ५० दशमलव ३९ अंकमा पुगेको छ।

परिसूचक बढे पनि अघिल्लो साता कारोबार रकम भने घटेको छ। साताभरि कुल १ सय ८१ कम्पनीका ५४ लाख ५० हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।

कारोबार रकम अघिल्लो साताको तुलनामा १० दशमलव १७ प्रतिशतले कम हो। अघिल्लो साता बजारमा १ सय ८० कम्पनीका ५८ लाख ९५ हजार ३० कित्ता शेयर १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपियाँमा कारोबार भएका थिए।

नेप्से परिसूचक बढेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६ दशमलव शून्य १ अंकले बढेर २ सय ६६ दशमलव ८९ अंकमा आइपुगेको छ। पुँजी बजार घटेर आत्तिएका लगानीकर्ताले एकसातामा मात्र ३५ अर्ब रुपियाँभन्दा बढीले कमाएका छन्। यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

अघिल्लो साताको तुलनामा गतसाता कारोबारमा आएका सबै समूहमा सुधार आए। तीमध्ये बीमा समूह सबैभन्दा धेरै २ सय ३६ दशमलव २२ अंकले बढ्यो। त्यसैगरी उत्पादनमूलक समुह ८८ दशमलव ५५, लघुवित्त समूह ६९ दशमलव १५, विकास बैंक समूह ४२ दशमलव २८ र जलविद्युत् समूह ४२ दशमलव ६ अंकले उकालो लागे।

त्यसैगरी ट्रेडिङ समूह २ दशलमव ७६ अंकले बढ्दा वित्त समूह ६ दशमलव ६९ र अन्य समूह १८ दशमलव २७ अंकले बढेका छन्। गतसाता सबैभन्दा बढी कारोबार हुनेमा नबिलको बैंकको ७ करोड ६७ लाख ३० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो। शेयर संख्याको आधारमा जनता बैंकको १ लाख ५० हजार कित्तासहित पहिलो स्थानमा रह्यो। गत साता नेप्सेमा २ करोड ३८ लाख कित्ता नयाँ शेयर सूचीकृत भएका छन्। सूचीकृत हुनेमा सबैभन्दा धेरै सिटिजन बैंक इन्टरनेसनलको १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता बोनस शेयर छन्।

प्रतिक्रिया दिनुहोस्