दिल्लीबाटै जाँच चौकी रपाइपलाइनको शिलान्यास



कृष्णउदास खनाल, वीरगन्ज

अन्तर्राष्ट्रिय व्यापार र भन्सार सहजीकरणका लागि निर्मित बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आईसीपी) शनिबार उद्घाटन भएको छ।भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीबाट संयुक्त रुपमा आईसीपीको उद्घाटन गर्नु भएको हो।

सन् २०११ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको आईसीपी ६ वर्षपछि उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाटै आईसीपीको उद्घाटन गर्नु भएको हो।
वीरगन्ज महानगरपालिका श्रीसियास्थित आईसीपी भारत सरकारको एक अर्ब ३९ करोड रुपियाँ लागतमा तयार भएको छ। सीमावर्ती बिहारको पनटोका र वीरगन्जको श्रीसियामा एकै किसिमको आईसीपी निर्माण सम्पन्न भएपछि वीगन्ज भन्सार यहींबाट सञ्चालन हुनेछ। आईसीपीमा अत्याधुनिक स्कयानर जडान हुने भएकाले भन्सारमा हुने गरेको राजस्व छली र एउटै प्रज्ञापन पत्रमा धेरै सामान भित्र्याउने प्रवृत्ति पनि निरुत्साहित हुने र राजस्व संकलनमा वृद्धि हुने भन्सार अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्।

आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहेको छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताउनु भएको छ। दिल्लीमा दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताउनुभयो। भारतको विकासका लागि आफनो ‘सबका साथ, सबका विकास’ र ओलीले नेपालमा ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एकअर्काको पूरक रहेको पनि मोदीले बताउनुभयो।

सबै कनेक्टिभिटी परियोजनालाई गति दिने निर्णय गरेको पनि उहाँले बताउनुभयो। पञ्चेश्वर, अरूण तेस्रो तथा सप्तकोशी (सुनकोसी परियोजनालाइ तीव्रता दिन दुवै प्रधानमन्त्री सहमत भएको मोदीले बताउनुभयो।प्रधानमन्त्री मोदीले भारत नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो। नेपालले ऐतिहासिक रुपमा तीन तहको निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री मोदीले चुनाव सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको जनाउनुभयो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन्। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।
करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुने छ। काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्