राजनीतिमा मध्यमार्गी धारको आवश्यकता



केशव अधिकारी

विगतमा आजको नेकपा एमालेले झापाबाट टाउको काट्ने आन्दोलनको आरम्भ गरेको थियो। युवावर्गको रगत उम्लेर आएपछि र देशको अवस्थामा कुनै प्रकारको सुधार नभएर एकदलीय तानाशाही शासन व्यवस्था लादिन्छ भने त्यसको विरुद्धमा ढिलो–चाँडो जनता लाग्ने नै रहेछन् भन्ने कुरा प्रमाणित हुनपुग्यो। निरङ्कुश र जहाँनियाँ राणाशासनकालको अन्त्यका लागि पनि धेरैको बलिदानीकै तागत थियो भन्ने कुरा प्रमाणित हुन्छ। ‘अति सर्वत्र वर्जयेत्’ भने जस्तै अति नगरेको भए राणा शासन अरू केही लामो समय अवश्य टिक्ने थियो। पञ्चायती शासनकाल अरू बढी लम्बिने थियो। राजतन्त्र अहिलेसम्मै कायम रहने निश्चित थियो। तर, वास्तविकता के भने यिनीहरू कसैले पनि अति सर्वत्र वर्जयेत् को मन्त्रलाई सुनेर पनि अपनाउन नसकेका कारण मेटिएर जानुपर्ने अवस्था आयो।

अहिलेको माओवादी केन्द्र त्यस बेलाको माओवादीले २०५२ सालदेखि हतियार उठाएर युद्ध गर्न थाल्यो। यो युद्धको दोहोरो मारमा हजारौंको ज्यान गयो। धेरै बालबालिका असहाय बन्न पुगे, धेरै आमाका काख रित्ता भए भने धेरै श्रीमतीको निधारको सिन्दुर पुछिएर एकल जीवन र बालक छोराछोरीको दायित्व बहन गर्नुपर्ने बाध्यता आइलाग्यो। १० वर्ष लड्दा पनि हार–जितको अवस्था नआएपछि आखिर शान्ति सम्झौता गर्न माओवादी विवश बन्नुपर्यो।

त्यो विवशता भनेकै मध्यमार्गी बाटो थियो। शान्ति सम्झौता भएर माओवादी सरकारमा सामेल पनि भयो, सरकारको नेतृत्व पनि गर्यो तर आफूले वाचा गरेका वा बुनेका सपना पूरा होलान् जस्तो लागेन। सरकारमा जाँदा पनि आफूले सोचे जस्तो परिवर्तनगामी वातावरण बन्न सकेन। अरू राजनीतिक दलको नेतृत्वको सरकारमा सामेल हुँदाको बखतमा त अझ अनुकूल वातारण बन्ने कुरा सम्भवै थिएन। विगतका निरङ्कुश शासनका धङधङीले कम्युनिस्ट भनाउँदाहरूलाई सताएकै थियो, जसको उदाहरणका रूपमा थाहाका सूत्रधार रूपचन्द्र विष्ट जस्ता व्यक्तिलाई पागलको संज्ञा दिइएको थियो।

राणा शासनको जरो उखेल्ने नाममा तत्कालीन कांगे्रस पनि लागिपरेको थियो तर नियन्त्रणबाहिर गएर अति गर्न थालेपछि आम जनताको साथ पाउन सकेन र अन्त्यमा मध्यमार्गी बाटो नै अवलम्बन गर्नुपर्ने भयो। पौराणिक आधारमा जोख्ने हो भने पनि तत्कालीन लंका, आजको श्रीलंका देशको कुनै कालखण्डको राजा रावणले आफ्नो राज्य त बलियो बनाएकै थिए तर सामथ्र्य छ भन्दैमा अर्काकी श्रीमतीसमेत अपहरण गर्नु त अति नै हो, त्यस कारण त्यत्रा महान् वैज्ञानिक रावण मारिनुपरेको थियो। यदि त्यो घमण्ड र त्यो वैज्ञानिक विचारलाई सदुपयोग गर्न सकेको भए श्रीलंका वा लंका अझै वैभवशाली बन्ने थियो होला। उखुमा फल फलाउन सक्ने, स्वर्ग जाने भर्याङ निर्माण गर्न सक्ने सामथ्र्य राख्थे भन्ने कुरा वास्तविक नै थियो होला। उनले सोचेका ती सबै काम गर्न सकेका भए तत्कालीन लंकाका आम जनताले पनि रावणलाई मारिनबाट जोगाउने थिए होला।

सडकको बीच भागबाट यात्रा गरियो भने दुर्घटना हुने सम्भावना कम रहन्छ। जब बाटाको डिल वा छेउबाट यात्रा गर्न थालिन्छ तब लडिने वा दुर्घटना हुने डर पनि उत्तिकै रहन्छ। यही मन्त्रलाई आत्मसात गर्दै र विगतको अतिलाई सम्झँदै माओवादी केन्द्र र नेकपा एमालेले एकताबद्ध भएर चुनाव लडी बहुमत हासिल गर्न सफल भए। यता सत्तामै रहेको र सबै तहका चुनाव गराउन सफल भएको नेपाली कांगे्रसले चुनावमा निकै ठूलो पराजयको सामना गनुपरेको थियो। आजको दिनसम्म वाम एकताको नेतृत्वको सरकार कायम रहेको छ। यदि यी दुवै राजनीतिक दलका बीचमा कुनै प्रकारको टकराव उत्पन्न भएन अनि यिनले मध्यमार्गी बाटोमै धैर्यताका साथ हिँड्न र आम नेपाली जनतालाई हिँडाउन सके भने अबका केही वर्षमै हाम्रो देशको अवस्था विकासोन्मुखबाट विकासशील राष्ट्रको सूचीमा दरिन पुग्नेछ। हामी नेपाली जनतालाई सुहाउने भनेको नै मध्यमार्गी राजनीतिको निर्बाध बाटो हो। यो बाटो बनाउने काममा माओवादी केन्द्रका नेता र नेकपा एमालेका नेताको भूमिका अहम् रहेको छ।

वाम एकता र चुनावपछिका दिनमा बनेको वामपन्थीहरूको नेतृत्वको सरकार अबका दिनमा एउटा निकै लामो वा टाढाको दृष्टिका साथ अगाडि बढेर जानसकेको खण्डमा देशको सबै अंगको विकास क्रमशः हुँदै जाने र जनताले विविध सुविधाको उपभोग गर्ने दिन आउन सक्छ। त्यति मात्र होइन कि सियो पनि नबन्ने हाम्रो देशमै विभिन्न कलकारखाना खोलेर विदेशीसँगको परनिर्भरतालाई घटाउँदै र आफू सबल बन्दै जान सकेको खण्डमा अहिलेको यो मध्यमार्गी बाटो नै गन्तव्यको सही बाटो बन्नेछ।

जब नेकपा माओवादीले शान्ति सम्झौता गरेर चुनावको युद्धमा ओर्लिएको थियो, जब कुनै पनि काममा छिटोपना आउने लक्षण देखिँदै थिएन, त्यस बेला नै नेकपा माओवादीका केही नेताहरू अधैर्यताका साथ माउ पार्टी त्यागेर अर्कै–अर्कै नाम र रूपमा राजनीतिक दल खोलेर आ–आफ्ना राजनीतिक दलका औचित्य पुष्टि गर्न खोज्दै थिए, त्यो बेलामा उनीहरू राजनीतिक परिपक्वतामा अलि सफल नभएकै जस्तो लाग्थ्यो। आखिर बाटो त उनीहरूको पनि मध्यमार्गी नै हुनुपर्छ। माउ पार्टी फोरेर जानेहरूले अधैर्यताका साथ अन्तै मोडिए पनि अबका दिनमा त्यही मध्यमार्गी बाटोमै आउनुपर्ने बाध्यता आइलाग्दै छ। यदि मध्यमार्गीको सरकार पूरै समय टिक्न सक्यो र देशलाई अविकसित भन्नका लाजले विकासोन्मुख भनिएको भए पनि कम्तीमा अबका ५ वर्षमा विकासशील देशको सूचीमा दरिन सक्ने वातावरण निर्माण गर्न अबका दिनमा कसैले सक्नेवाला छैन। यदि हालको मध्यमार्गीको सरकार पनि सफल भएनछ भने अनि त्यसपछिका दिनमा मात्र अतिको बाटो रोज्न बाध्य बन्नुपर्छ।

हाम्रो देशको आजको आवश्यकता भनेको कृषि, शिक्षा, आदि क्षेत्रमा आमूल परिवर्तन गरी खाद्यान्नमा परनिर्भरता शून्यतातिर झार्ने हो।

शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गरी दक्ष र कुशल जनशक्ति उत्पादन गर्न सक्ने कुरा चुनौतीको विषय बनेको छ। यो चुनौतीलाई सामनाका साथ पार लगाउन सक्यो र केही उदाहरणीय काम गर्न वर्तमान सरकार सफल भयो भने मध्यमार्गी राजनीतिलाई नै आत्मसात गनुपर्ने देखिन्छ। विगतदेखिको प्रजातन्त्रको हाम्रो चाहनालाई २००७ सालका राजनीतिक मध्यमार्गीहरूले राम्ररी आत्मसात गर्न सकेका भए र दायाँ–बायाँ नभई मध्यबाटो बाटै यात्रा गर्न सकेका भए आजसम्ममा हामी कसैले पनि बलिदान नदिएरै देश निकै सम्पन्नशाली बन्ने थियो। तर, विडम्बना के भयो भने, मध्यमार्गी बाटो अपनाउनुको साटो बीपी र मातृका कोइरालाहरू आ–आफ्ना स्वार्थ पूरा गर्ने अभिष्टले एक–एक किनारामा बाझेर बस्न लागे। त्यसै मौकामा राजा महेन्द्रले निहुँ पाएर पञ्चायती व्यवस्थाको लगाम लगाइहाल्न भ्याए। यदि हालको यो मध्यमार्गमा पनि त्यस्तै कुनै बलियो अवरोधक आएर बसिदियो भने असफल होला कि भन्ने डर रहने भएकाले सचेत जनताका तर्फबाट हरबखत खबरदारी गर्नको लागि कहिल्यै भुल्नु वा छुटाउनुहुँदैन।

विश्वमा र हाम्रै देशको इतिहासलाई हेर्दा पनि जुन राजनीतिज्ञले मध्यमार्गी धारको बाटो अपनाएर सक्रियताका साथ राजनीतिमा लाग्न सक्छ उही सफल राजनेता हुन वा बन्न पुगेका छन्। दक्षिण अफ्रिकाको इतिहासलाई हेर्ने हो भने करिब २७ वर्षसम्मको लामो जेलजीवन बिताएर निस्केका नेल्सन मण्डेलाले मध्यमार्गी बाटो नै रोजेर जेल जीवन बिताउँदाको समयमा आफूमाथि निकै दुव्र्यवहार गर्ने, श्वेत राजनेता, जेलमा बस्दा अमानवीय व्यवहार गर्ने प्रहरी प्रशासन आदि कसैमाथि पनि प्रतिशोधको भावना नलिई दृढ निश्चयका साथ देशलाई अगाडि बढाउने काम नगरेका भए सायद उनी स्वयं त असफल नेता बन्थे नै, दक्षिण अफ्रिकाका करोडौं अश्वेत जनताले पनि आजसम्म रङ्गभेदी नीतिकै शिकार भएर बाँच्न विवश बन्नुपर्ने थियो।

मध्यमार्गको बाटोमा हिँड्ने प्रयास एमालेले गरेको होस् वा माओवादी केन्द्रले, अथवा बढी प्रयासका कारण एकताबद्ध हुन सकेको होस्, जे भए पनि विश्वमै यो एउटा सफल उदाहरणका रूपमा नजिर बनेर रहनेछ। अबको उनीहरूको प्रयास भनेको माओवादीबाटै असन्तुष्ट बनेर टुक्रा भएका डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द आदिलाई समेत यही मध्यमार्गमा ल्याउनु हो। देशका सबै क्षेत्रको उन्नतिका लागि मन, वचन र कर्मले लागिरहँदा एकताबद्ध हुनेहरूले आफू कुन राजनीतिक दलको नेता हुँ भन्ने कुरालाई मनबाटै निकालेर फाल्न सक्न पर्छ। सलाम छ वाम एकता र मध्यमार्गीका यात्रीहरूलाई।

प्रतिक्रिया दिनुहोस्