नयाँ सहमति लागू गरौं !



नेपालको परम्परा नै छ जति प्रधानमन्त्री फेरिए पनि सम्बन्ध सुधारका नाममा छिमेकी मुलुकको भ्रमण गर्नै पर्ने । विपन्न भएरै होला छिमेकी मुलुकका प्रधानमन्त्रीलाई भन्दा नेपालका प्रधानमन्त्रीहरूलाई यस्तो भ्रमण गर्न हतारो हुन्छ । छिमेकका कार्यकारी प्रमुखहरू नेपालको भ्रमणलाई प्रमुख प्राथमिकतामा राख्न रुचाउँदैनन् । यही अन्तरविरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो प्रधानमन्त्रीकालको पहिलो विदेश भ्रमण भारतबाटै शुरू गर्नुभयो । र, तीनदिने भ्रमण गरी आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ ।

ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा दुई देशबीच राम्रो सम्बन्ध कायम हुन सकेन । धेरै विश्लेषकले त्यसलाई नेपाल र भारतको भन्दा पनि ओली र मोदीको ‘ग्रह’ नमिलेको भनेर आलोचना गरे । मोदी सरकारले नाकाबन्दी लगाएर नेपालीलाई दुःख दियो । त्यसबाट नेपालीलाई क्षणिक दुःख त भयो तर भारतमै मोदी सरकारको आलोचना भयो ।

नेपालमा पनि ओलीले कूटनीतिक परिपक्वता नदेखाएको भनी एक कोणबाट आलोचना भयो । यद्यपि ओलीले यसपालि कार्यभार सम्हालेदेखि नै केही कूटनीतिक परिपक्वता देखाउनुभयो । उहाँ पहिले जस्तो अक्रामक शैलीमा प्रस्तुत हुनुभएन । यो व्यवहार भारत भ्रमणमा पनि देखाउनुभयो ।

उहाँले आफ्नो सरकार आर्थिक समृद्धिमा लागेको भनेर छिमेकी मुलुक भारतका उद्योगी⁄लगानीकर्तालाई नेपालमा लगानी गर्न मुक्तकण्ठले आह्वान गर्नुभयो । उहाँका समकक्षी मोदीले पनि विगतको ‘तुष’ बाँकी नरहेको देखाउनुभयो, ओलीसँग ‘सरप्राइज वान टु वान’ वार्ता गरेर ।

हुन पनि नेपाल–भारतबीचको सम्बन्ध यो भूगोल रहुञ्जेलसम्मकै अकाट्य सम्बन्ध हो । राजनीतिक मात्र होइन सामाजिक धार्मिक, साँस्कृतिकरूपमा पनि नेपाल र भारतबीच धेरै गाढा सम्बन्ध छन् । त्यसैले पनि यी दुवै देश आपसी सम्बन्ध सुधारमा गम्भीर बन्नै पर्ने अवस्था छ । नेपालले विकासमा विश्वभर नै प्रतिस्पर्धामा लम्किरहेका संसारका ठूला दुई देश भारत र चीनलाई छिमेकीको रूपमा पाउनु एउटा अवसर हो । आफ्नो स्वाभिमान जोगाउँदै यी दुई देशका आर्थिक र सूचना प्रविधिमा भएको चमत्कारिक विकासबाट फाइदा लिन सके नेपाल आर्थिक, प्राविधिक विकासमा लम्कन सक्नेछ । अर्काेतिर नेपालको इतिहासमै पहिलो बलियो ओली सरकारसँग सम्बन्ध सुधारेर नेपाललाई हेर्ने आफ्नो विगतको छविमा लागेको दाग हटाउन मोदी सरकारलाई बाध्यता नै छ । यो भ्रमण भारत (खास गरी मोदीका लागि) अवसर नै थियो । यी दुई प्रधानमन्त्रीबीच समानता, आपसी सम्बन्ध, सम्मानका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्य गर्नेलगायत १२ बुँदे सहमति भएको छ । दुवै देशले यी र यस्तै समझदारीलाई व्यवहारमा कार्यान्वयन गर्नै पर्दछ । यसो गर्न सकेमा मात्र दुई देशबीचको सम्बन्ध झन् गाढा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्