जनमत वाङ्मय प्रतिष्ठानबाट यस वर्षका सम्मानित प्रतिभाहरू



मुलुकका विभिन्न क्षेत्रमा रही साहित्य सिर्जना एवम् संरक्षण गर्दै आएका व्यक्तित्वहरूलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३४ औं वार्षिकोत्सवका अवसरमा आज चैत २४ गते सम्मान गर्दै छ।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालका अनुसार जनमत पत्रिकाको माध्यमबाट विगतका वर्षहरूमा पनि विभिन्न साहित्यिक कार्यक्रम एवम् यस किसिमको सम्मान गरिँदै आएको हो। यही क्रममा आज शनिबार एक समारोहका बीच बनेपामा १० जना साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिँदै छ। सम्मानित हुने साहित्यिक प्रतिभाहरूका बारेमा यहाँ संक्षिप्त जानकारी प्रस्तुत गर्ने जमर्को गरिएको छ।

हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान

डा. देवीप्रसाद सुवेदी
वि.सं. २००५ मङ्सिर १० गते खुदीबेनी, लमजुङ जिल्लामा जन्मेका देवीप्रसाद सुवेदी (देप्रसु) पहिलोचोटि २०१८ सालमा ‘वर्षाको मेघसँग’ कविता सिंहनाद पत्रिकामा छपाएर साहित्यमा देखा परेका हुन्। ‘बालकृष्ण समको सुखान्त नाट्यकारिता’बारे नेपाली भाषामा विद्यावारिधि गरेका यिनले प्राध्यापन सेवा गर्नुका साथै देप्रसुका नामबाट साहित्यिक टिप्पणी, परिचय, समीक्षाहरू साप्ताहिक ‘युगसम्वाद’मा स्तम्भ लेखेर आफूलाई सक्रियतापूर्वक साहित्यमा देखाउँदै आएको देखिन्छ। व्यवहारमा शिष्ट, चरित्रमा निष्कलङ्क, साहित्यलेखन र सेवामा निरन्तरता देखाउँदै आएका यिनी समालोचकका रूपमा आफ्नो परिचय बाँड्न सफल छन्। यिनका प्रकाशित कृतिहरूमा १. हाम्रो भाषा (पाठ्यपुस्तक १–५, २०४५), २. वर्णविन्यास ः एक चिनारी (भाषा, व्याकरण–२०४८), ३. सिपाही र जुलुस (कथासङ्ग्रह–२०५५), ४. मेरो दैनिकीको पानामा चीन (यात्रासंस्मरण–२०५५), ५. अभिव्यक्ति र विश्लेषण (समालोचनासङ्ग्रह–२०५९), ६. समको सुखान्त नाट्यकारिता (समालोचना–२०६४), ७. कथा विविध (कथासङ्ग्रह–२०६६), ८. नाट्यसिद्धान्त (समालोचना–२०६९), ९. हिउँफूलको मुस्कानमा बेलायत (यात्रासंस्मरण–२०६९), १०. नेपाली शुद्धलेखन परिचय र सहयोग (भाषा–व्याकरण) र ११. वाल्मीकि र व्यास, तुलनात्मक अनुशीलन (समालोचना–२०७३) छन्।
सुवेदी साहित्यिक क्षेत्रमा आफ्नो पहिचान देखाउन सफल साहित्यकार अर्थात् समालोचक हुन्। कथा विधामा पनि पुस्तक प्रकाशित गराइसकेका यिनी समालोचना, साहित्यिक टिप्पणी, नियात्रा र भाषाविज्ञानमा सिद्धहस्त साहित्यकारका रूपमा आफूलाई चिनाउन सफल छन्। सामाजिक संचेतना दिने प्रमुख माध्यम साहित्य हुन सक्छ, यस अर्थमा साहित्यमा राजनीति पनि हुन्छ, मानवीय संवेदना पनि व्याप्त रहन्छ भनी आफ्नो भावना पोख्दै आएका यिनी एउटा सचेत साहित्यकारको काम सामाजिक चेतनालाई माथि उठाउने नै हुनुपर्छ भन्छन्। थुप्रै साहित्यिक ग्रन्थ, सामयिक सङ्कलनको सम्पादन समेत गरिसकेका यिनले समका एकाङ्की, कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ (२०६०), सुवेदी वंशावली (२०६२) को सम्पादन गरेर आफूलाई सम्पादकका रूपमा पनि चिनाएका छन्।
अमर माध्यमिक विद्यालय लमजुङमा (२०३१–२०४१) सम्म प्रधानाध्यापक भई सेवा पुर्याएका यिनी २०४१ देखि २०६८ सालसम्म नेपाल ल क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, केन्द्रीय नेपाली विभागमा प्राध्यापन सेवा पुर्याएको देखिन्छ। समको सुखान्त नाट्यकारितामा सन् २००७–२००८ को सर्वोत्कृष्ट ग्रन्थ पुरस्कार अन्तर्राष्ट्रिय साहित्य समाज, वासिङटनबाट प्राप्त गरेका यिनले ‘ईश्वर बराल समालोचना पुरस्कार, सैन्यध्वज नन्दकुमारी विद्वतवृत्ति पुरस्कार, अस्वीकृत विचार साहित्य पुरस्कार, बालकृष्ण सम सम्मान, साहित्यिक पत्रकारिता पुरस्कार, भद्रकुमारी घले सेवा सदन पुरस्कारलगायत थुप्रै देश–विदेशबाट यिनी सम्मानित छन्। यिनै साहित्यकार तथा वरिष्ठ समालोचक डा. देवी सुवेदीलाई ‘ह्दयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ बाट सम्मान गर्न पाउँदा खुशी लागेको छ।

दीपा–जनमत सम्मान
भारद्वाज मित्र
(कृष्ण सुवेदी)
वि.सं. २०११ चैत १८ गते बाहुनटोल, दुवाचौर–३, सिन्धुपाल्चोकमा जन्मिएका कृष्ण सुवेदी नै हुन् साहित्यकार भारद्वाज मित्र। दर्शन, वेद–उपनिषद्को अध्ययनमा आफूलाई सक्रिय तुल्याउँदै साहित्यमा पनि आफूसक्दो लेखन, अध्ययन र कर्मशीलतामा लाग्दै आएका व्यक्तित्व हुन् यिनी। २०३४ सालमा अर्निको पत्रिकामा कविता छपाएर आफूलाई कविका रूपमा परिचित तुल्याउन सफल छन्। यिनी साहित्यिक क्षेत्रका अभियन्ताका रूपमा पनि परिचित छन्। चार दशकदेखि साहित्य लेख्दै आएका भारद्वाज मित्रका प्रकाशित साहित्यिक कृतिहरूमा १. चहचह (बालगीतसङ्ग्रह) र २. मित्रका कविताहरू प्रकाशित छन्। २०३८ सालमा नै ‘हाउ टु सर्मिनेट इप्पिलिपिल’ नामक प्राविधिक पुस्तकसमेत छपाइसकेका यिनले चाइल्ड नेपालको प्रकाशनमा ‘हाम्रो अधिकार हाम्रै भाषामा’ बालअधिकार महासन्धिको बालमैत्री अनुवाद र गीतहरूको सहलेखन गरेको देखिन्छ।
यिनी ‘चाइल्ड नेपाल’ बालअधिकारसँग सम्बन्धित संस्थाका संस्थापक पनि हुन्। ‘झुल्का’ बालपत्रिकाका पनि सम्पादक रही सेवा पुर्याउँदै आएका भारद्वाज मित्र ‘कालको उत्कर्षखण्डका रूपमा फुलेको सुन्दर फूल’का रूपमा जीवनलाई परिभाषित गर्न रुचाउँछन्। साहित्य यिनको दृष्टिमा ‘जीवनको यथार्थ छायाचित्रका रूपमा उनिएको कलात्मक पुष्पाहार’ हो।
सुनकोशी साहित्य प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष भई सेवा गरेका यिनी हाल सक्रिय सदस्यका रूपमा क्रियाशील छन्। ‘व्यथित–सिन्धु प्रतिभा सम्मान कोष’का संस्थापक रहेका यिनी हालसम्म नै अध्यक्षका रूपमा सक्रिय छन्। यिनको सक्रियताका लागि थुप्रै सङ्घ–संस्थाबाट पुरस्कार, सम्मान, विभूषणले यिनी सम्मानित भएका छन्। सिन्धुपाल्चोकको उत्थानका लागि सबैजसो क्षेत्रमा सेवा गर्दै आएका यिनी थुप्रै साहित्यिक संस्थाहरूका आजीवन सदस्य पनि हुन्। जनमतका सहयात्रीका रूपमा आफूलाई निःस्वार्थ ढङ्गले चिनाउँदै आएका यिनी प्रसिद्ध समाजसेवक, चर्चित बालअधिकारकर्मी हुनुका साथै चिन्तक साहित्यकारका रूपमा चिरपरिचित छन्। यिनै स्रष्टा÷द्रष्टा मित्र भारद्वाज मित्रले अनुवाद कलामा आफ्नो परिचय देखाउन विख्यात लेखक राहुल सांकृत्यायनद्वारा लिखित विश्वप्रसिद्ध ग्रन्थ ‘सिंह सेनापति’को अनुवाद गरेर जनमतमा क्रमशः छपाउँदै आएका हुन्। यिनै भारद्वाज मित्र (कृष्ण सुवेदी) लाई दीपा–जनमत सम्मानबाट सम्मान गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

कमला सैंजू–जनमत सम्मान
उषा शेरचन
वि.सं. २०३८ फागुन २० गते गणेशटोल, नालामुख पोखरामा जन्मिएकी उषा शेरचनले पहिलोचोटि २०३५ असोजमा ‘जिन्दगी’ कविता गोरखापत्र दैनिकमा छपाएर साहित्यमा देखा परेकी हुन्। कविता, मुक्तक लेखनमा विशेष सक्रियता देखाउँदै आएकी यिनी कविता लेख्न पाउँदा, सुनाउन र छाप्न पाउँदा खुशी हुन्छिन्। उनका सशक्त कृतिहरूमा १. नजन्मेका आस्थाहरू (कवितासङ्ग्रह–२०४८), २. अक्षरहरूका शिविरबाट (मुक्तकसङ्ग्रह–२०५६), ३. सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कवितासङ्ग्रह–२०६३) र (४) तेस्रो रङ्ग (कथासङ्ग्रह–२०७०) छन्। गीति एल्बममा अभीप्सा (२०५८), सञ्चयन (२०५९), मेरो माटो मेरो गीत (२०६०), संवेदन (२०६७) र आकाश छुने रहर (२०६७) छन्।
कवि उषा शेरचनले ३० सौं वर्षअघि ‘साहित्यकार परिचय र अभिव्यक्ति’ मा ‘साहित्यलाई संकुचित घेराभित्र कैद हुन दिनुहुन्न, यसलाई खुल्ला धरातलमा विचरण गर्न दिनुपर्छ भनेर आफ्नो विचार पोखेकी छन्। यिनले ‘नारी साहित्यको विधागत इतिहास’, ‘…स्वरहरू’, ‘देवकोटा शताब्दी अभिलेख’ लगायत ‘गुञ्जन’को वार्षिक मुखपत्र, नारायणगोपालका गीतहरूको सङ्कलन, महिला स्रष्टाहरूका अंग्रेजीमा अनुवादित कथासङ्ग्रहसमेतको सम्पादन गरेकी छन्।
२०४० सालमा नै कविता प्रकाशन गराएर ‘रत्नश्री स्वर्णपदक’ प्राप्त गर्न सफल कवि उषाले ‘व्यथित काव्य पुरस्कार’, ‘लोकप्रिया पुरस्कार’, ‘पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘व्यथित–काव्य वनिता पुरस्कार’, ‘योगेश्वर कला साहित्य पुरस्कार’, ‘नातिकाजी सङ्गीत पुरस्कार’, ‘वासु शशी स्मृति पुरस्कार’ लगायत थुप्रै पदक र सम्मान प्राप्त गरेकी छन्। विश्व कलासाहित्य यात्राको दौरानमा हङकङ, कोरिया, चीन, म्यान्मा, इजिप्ट पुगेकी यिनी नेपाली कलासाहित्य–यात्रा, सिर्जना उत्सवको अभियान बोकेर नेपालगञ्ज, नवलपरासी, इलाम, विराटनगर, काभ्रे, नमोबुद्ध, मुस्ताङ, धनकुटा, जाजरकोट, लमजुङ कुद्न पाएकी कवि हुन्। कविताकै एउटा विम्बजस्तो, मुक्तककै एउटा छहारीजस्तै कवि उषा शेरचनलाई ‘कमला सैंजु–जनमत सम्मान’ बाट सम्मानित गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

जनमत–राजभाइ सहयात्री सम्मान
भक्त कार्की
वि.सं. २०२४ वैशाख १६ गते पुलाचौर–९, म्याग्दी जिल्लामा जन्मिएका भक्त कार्की चितवन पोष्टमा ‘श्रमिक’ कविता छपाएर साहित्यमा देखा परेका हुन्। शिक्षण सेवापछि बचेको समय साहित्य लेखन गर्दै आफूलाई जीवन–पथमा कुदाउँदै आएका यिनी ‘जीवन मर्नका लागि मात्रै होइन, समाज र मानवताका लागि हो’ भन्ने गर्छन्। यिनी म्याग्दीका एक चिरपरिचित अनुहार बन्न र बनाउन सफल छन्। विशेष गरी कविताका विभिन्न स्वरूपहरूलाई आफ्ना अक्षरहरूमा ढाल्न सफल कवि कार्कीका प्रकाशित काव्य–कृतिहरूमा १. मनका कोसेलीहरू (कवितासङ्ग्रह–२०५७), २. खोई मेरा खेलौनाहरू (बालगीतसङ्ग्रह–२०६१), ३. चड्कन (हाइकुसङ्ग्रह–२०६४), ४. चञ्चल (बालहाइकुसङ्ग्रह–२०६४), ५. प्रतिविम्ब (ताङ्कासङ्ग्रह–२०६४), ६. विचरी चरी (बालगीतसङ्ग्रह–२०७०) र ७. प्रक्षेपण (मुक्तकसङ्ग्रह–२०७२) प्रकाशित छन्।
म्याग्दीमा रहेर नवप्रतिभा, जूनकिरी, बालसिर्जना नामका साहित्यिक पत्रपत्रिकाहरूको पनि सम्पादन गरिसकेका भक्त कार्कीले स्थानीय र जिल्ला तहबाट प्रशंसापत्र, शिक्षा पदक, सम्मान–पत्र, अभिनन्दन–पत्र, उपाधी र उत्कृष्ट पुरस्कारहरू प्राप्त गरेका छन्। विद्यालय यिनको कर्मथलो बन्यो, साहित्य यिनको मर्म पोख्ने माध्यम भयो। धेरै वर्षअगाडिदेखि नै भक्त कार्कीले लेख्दै आए, धेरै भयो यिनको साहित्य साधना र सिर्जना। साधक तथा सर्जक भक्त कार्कीको गुनासो कसैसँग कहिल्यै रहेनन्। यिनै साधक भक्त कार्कीले जनमतलाई माया गरेर म्याग्दीमा पुर्याइदिएकै कारण र साहित्य साधनामा निरन्तरता देखाइरहन सकेकाले यस वर्ष ‘जनमत–राजभाइ सहयात्री सम्मान’ ले सम्मान गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

केवलपुरे–जनमत सम्मान
पूर्णदेवी न्यौपाने
वि.सं. २०२८ कार्तिक ६ गते प्यारजङ, लमजुङमा जन्मेकी पूर्णदेवी न्यौपाने शिक्षण सेवामा रम्दै साहित्य सेवा र सिर्जनामा मन राख्दै आएकी स्रष्टा हुन्। २०५२ सालदेखि शिक्षण सेवामा संलग्न हुँदै आएकी यिनी हालसम्म बेंसीसहर, लमजुङमा शिक्षण पेसामा कार्यरत रहेको देखिन्छ। कवितामा विशेषतः आफ्नो पहुँच देखाउँदै आएकी यिनी छन्दमा कविता लेखेर आफूलाई छन्दकविका रूपमा पनि चिनाउँदै छिन्। यिनका प्रकाशित कृतिमा स्मृतिका आयामहरू (गजलसङ्ग्रह–२०७०) हो। लमजुङका सक्रिय महिलाका रूपमा आफूलाई देखाउन प्रयत्नरत यिनी साहित्य साधनामा पनि आफूलाई सामथ्र्यवान् महिला भनी चिनाउन सङ्घर्षरत छन्।
‘साहित्य सिर्जना गर्न पाउँदा मन आनन्द हुन्छ, साहित्यक सेवामा सक्रिय रहन पाउँदा गौरवबोध हुन्छ’ भनी साहित्यप्रति आफ्नो लगाव र चाहना देखाउन रुचाउने पूर्णदेवी न्यौपाने साहित्यको मर्म–मर्ममा आफूलाई छाम्न पाउँदा खुशीले रमाउने गर्छिन्। साहित्यमा मानवीय भाव–दृष्टि लुकेको हुन्छ, ती भाव–दृष्टिलाई समेटेर लेखन गर्न सकेको खण्डमा साहित्यको मर्म खुल्छ। कवि पूर्णदेवी न्यौपाने कविता, गजलमार्फत आफ्नो भावना–दृष्टिलाई पटाक्षेप गर्न रुचाउँछिन्। उनले पुर्याइरहेको शिक्षण सेवा र साहित्यिक साधना लमजुङको माटोका लागि उच्चकोटीका छन्। शिक्षासेवी तथा कविताकी पुजारी पूर्णदेवी न्यौपाने कविलाई जनमतका तर्फबाट ‘केवलपुरे–जनमत सम्मान’ बाट सम्मानित गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान

सरस्वती शर्मा ‘जिज्ञासु’
वि.सं. २०२५ साउन १३ गते ज्ञादी कटुवा, चौपारीमा जन्मिकी सरस्वती शर्मा ‘जिज्ञासु’ हाल कुश्मा, पर्वतमा स्थायी रूपले बसोवास गर्छिन्। २०४५ सालमा ‘संस्मरण’ कविता छपाएर साहित्यिक क्षेत्रमा देखा परेकी यिनी हालसम्म पनि सक्रिय ढङ्गले यस क्षेत्रमा समर्पित भएर लागेको देखिन्छ। गजलकार, कविका रूपमा परिचय देखाउँदै आएकी यिनी ‘नवमाधुरी’ साहित्यिक पत्रिकाको पनि सम्पादक हुन्। पत्रकारितामा १५औं वर्ष रेडियो नेपालमा रहेर सेवा पुर्याइसकेकी यिनी माधुरी साहित्य प्रतिष्ठान संस्थापन गरेर पनि साहित्यिक सेवामा समर्पित छन्। यिनका प्रकाशित काव्य–कृतिहरूमा नारीको आह्वान (गीतिसङ्ग्रह) र हुस्सुभित्रको घाम (गजलसङ्ग्रह) छन्। हाल यिनी कुश्मामा नै रहेर साहित्यिक पत्रिका नव माधुरी प्रकाशन गर्दै आफूलाई साहित्यिक पत्रकारका रूपमा विशेष चिनाउन सफल छन्। पत्रकारिता, समाजसेवा, साहित्यलेखनका अतिरिक्त औषधि विक्रेताका रूपमा सक्रिय यिनी नारी स्रष्टाका रूपमा आफ्नो पहिचान देखाउन सफल छन्।
नेपाली लेखक संघको केन्द्रीय सदस्यसमेत रही साहित्यिक गतिविधिमा संलग्नता देखाउँदै आएकी यिनी धौलागिरी महिला विकास समिति, धौलागिरी वाङ्मय समाजमा रहेर पनि आफूलाई चिनाउँदै छिन्। पर्वत, बाग्लुङ, भरतपुर, नवलपरासी, चितवन, स्वाङ्जा, विराटनगर, नुवाकोट, कास्कीबाट सम्मानित भइसकेकी सरस्वती शर्मा ‘जिज्ञासु’ ‘अन्यायको विरुद्ध संघर्ष गरिरहने र असल मान्छे बन्ने’ भविष्यको इच्छा साँचेर कर्मपथमा सङ्लग्न छन्। सरस्वती धौलागिरीकै विशिष्ट महिला साहित्यिक पत्रकार पनि हुन्। यिनै महिला साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ लाई ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाट सम्मान गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

जनमत–जनक सेवा सम्मान
रत्नप्रसाद अनामणि श्रेष्ठ
वि.सं. २०२६ असोज ६ गते उग्रचण्डी नाला, बनेपा–४, काभ्रेमा जन्मिएका हाल टोखा न.पा.–९, गोंगबु, काठमाडौंमा बस्दै आएका रत्नप्रसाद अनामणि श्रेष्ठको क्रियाशीलता भनेको आफू बस्दै आएको क्षेत्रमा रचनात्मक कर्म गर्दै आफूलाई सक्रिय तुल्याइरहनु हो। नालामा रहँदा–बस्दा नै यिनले आफ्नो सिर्जना–कर्मलाई मजबुत बनाउन प्रयत्नरत रहेको देखिन्छ। कवितामा यिनले हाइकु, मुक्तक, गजल, गद्यकविता कोरे। यिनका प्रकाशित हाइकुसङ्ग्रहहरूमा १. शब्द पथमा, २. दुखेको घाउ र ३. लँयलुगू किपाः (नेपालभाषा) छन्। मुक्तकसङ्ग्रहहरूमा १. फूलको माया लागेपछि, २. मेरो गोरेटोमा तिम्रो छाया र ३. भो तस्वीर नखिच प्रकाशित छन्। प्रकाशित गजलसङ्ग्रहहरूमा १. दाउहरू फरक फरक, २. ख्याल ख्यालैमा सकियो जिन्दगी छन्। लाज हराएका मान्छेहरू गद्य कवितासङ्ग्रह प्रकाशित गराइसकेका यिनका भूमिका सङ्ग्रह पनि प्रकाशित छ। स–साना थुप्रै पुस्तक–पुस्तिका प्रकाशित गरेर आफूलाई निरन्तर साहित्यिक क्षेत्रमा देखाइरहन पाउँदा गौरव गर्ने यिनका ‘यम्ह द्यो’, ‘नास द्यो’, ‘पत्रकारिता’ का पुस्तिकाहरू पनि प्रकाशित छन्। चुट्किला सङ्ग्रहहरू, भाषणकला, १०१ गीतासार, एक कप चिया, ३० दिने अंग्रेजीका पुस्तकहरू पनि प्रकाशित गराइसकेका यिनी हवाई पत्रिका, भित्ते पत्रिका, मासिक पत्रिका, स्मारिका प्रकाशन गर्न पनि सक्रिय छन्।
साहित्य लेखन, साहित्यिक क्रियाकलाप, सम्पादन÷प्रकाशन गर्दै आएका परिश्रमी साहित्यकार हुन् रत्नप्रसाद अनामणि। यिनी नेपाली भाषामा मात्र होइन, नेपालभाषामा पनि सक्रिय भएर आफ्नो सिर्जना पोख्ने र अरू स्रष्टाहरूलाई प्रोत्साहन दिने अभियानमा संलग्न छन्। यिनै काभ्रेका होनहार साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठलाई उनलेगरेका सुन्दर कार्य तथा सेवाहरूका लागि यस वर्ष प्रदान गरिने ‘जनमत–जनक सेवा सम्मान’ बाट सम्मानित गरिएको छ।

गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान
सन्तोषभक्त श्रेष्ठवि.सं. २०३२ साउन १६ गते पाटन, इखाछेँ, ललितपुरमा जन्मिएका सन्तोषभक्त श्रेष्ठ २०४३ सालदेखि नै सङ्गीत क्षेत्रमा देखा पर्दै आएका सङ्गीतकर्मी हुन्। ११ वर्षको बालक छँदादेखि नै सङ्गीत सिक्न जाँगर चलाएका यिनका गुरु हुन् मोहनप्रसाद जोशी। यसै गरी दिवंगत भइसकेका कृष्णनारायण जोशीसँग पनि यिनले सङ्गीत–शिक्षा ग्रहण गरेको देखिन्छ। निरन्तर शास्त्रीय सङ्गीतमा दिलोज्यान दिँदै आएका यिनका एल्बमहरूमा द फिलिङ्स, प्यागोडा, वाजिरा, कोसेली, क्रिएसन, हार्ट सूत्र, यात्रा, त्रिकाल १, २, ३, हिमालयन ब्लुज, आरोह, रिल्याक्सन विथ सेलेस्टियल साउन्ड आदि छन्।
आधुनिक गीत–सङ्गीतभन्दा कठिन सङ्गीत–कर्मका रूपमा चिरपरिचित विधा शास्त्रीय गायन र सङ्गीत क्षेत्रमा लागिरहेका यिनी ‘इसराज’ बाजाकै एउटा बिम्बका रूपमा परिचित छन्। ‘इसराज’ निकै पुरानो बाजा मानिन्छ। यही बाजा नै सन्तोषको पहिचान हो। सङ्गीत प्रभाकर, सङ्गीत प्रवीण भारतबाट उत्तीर्ण गरेका यिनी ३०औं वर्षदेखि सङ्गीत शिक्षामा आफूलाई समर्पित तुल्याउँदै आएका व्यक्तित्व हुन्। हजारौं नेपाली आधुनिक तथा लोकगीतहरूमा इसराजका स्पर्श बाँड्न भ्याएका यिनी प्राइभेट कक्षाहरूमा पनि सङ्गीत सिकाउँदै आएका सङ्गीत शिक्षक हुन्।
वज्र र त्रिकाल सङ्गीत समूहका सक्रिय चिरपरिचित सदस्य सन्तोषभक्त श्रेष्ठ सङ्गीतयात्राको क्रममा जापान, नर्वे, फ्रान्स, चीन, अस्ट्रिया, स्वीट्जरल्यान्ड, अमेरिका, थाइल्यान्ड पुगेका छन्। फ्रान्समा तीनपटक सङ्गीत कार्यक्रम लिएर यिनी पुगे। कलानिधि सङ्गीत सम्मान र किरातेश्वर पदमप्रिया हरिप्रिया रेग्मी युवा पुरस्कारबाट सम्मानित सङ्गीतकार सन्तोषभक्त श्रेष्ठ पूर्णकालिक सङ्गीतकर्मी हुन्। एकसुरले सङ्गीतको प्राचीनतालाई मन पराएर शास्त्रीय सङ्गीतका मर्मज्ञ यिनै सङ्गीतकार तथा ‘इसराज’ बाजाका हिमायती सन्तोषभक्त श्रेष्ठलाई ‘गणेश÷खिलकुमारी–जनमत सम्मान’ बाट सम्मान गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

जनमत–महेन्द्रलाल कलाकार सम्मान
मञ्जु स्याउला
वि.सं. २०४१ मा पनौतीमा जन्मिएकी मञ्जु स्याउला नयाँ पुस्ताकी सक्रिय र सिर्जनशील कलाकारका रूपमा परिचित छन्। कलाकारितामा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर उत्तीर्ण गरिसकेकी यिनी कला साधनामा आफ्नो ढङ्गले क्रियाशील रहँदै आएकी छिन्। कला शिक्षिकाका रूपमा काम गर्दै आएकी यिनी समय मिलाएर कला लेखनमा पनि आफ्नो समय खर्चिने गर्छिन्। वर्ष दिनअगाडि मात्र ना यिनले मोहन दुवालका मुक्तकसङ्ग्रह ‘मनका स्पर्शहरू’मा समावेश गरिएका सय टुक्रा मुक्तकमा आफ्नो सयवटा कला सम्प्रेषण गरेर आफूलाई सक्षम कलाकारका रूपमा चिनाएका छन्। यिनी मुम्बई कला प्रदर्शनीमा आफूलाई देखाउन २०७३ मा मुम्बईसम्म पुगेकी हुन्।
लुमन्ती समूहसँग कला साट्न पाउँदा, जुद्धकला पेन्टिङ प्रदर्शनीको आयोजना गरिँदा, तन्त्रको आयोजनामा कला प्रदर्शनी गर्न रमाउँदा, महिला कला प्रदर्शनीमा सहभागी हुँदा, सूत्रको विशाल प्रदर्शनीमा भाग लिँदा र अन्य कलामा आफ्नो भावना साट्न पाउँदाका क्षणहरू सम्झेर उनी खुशी हुने गर्छिन्। काभ्रेका यी महिला कलाकार, जसको कला राष्ट्रमा तरङ्गित हुने क्रममा छन्। र, तिनै कलाकारलाई प्रोत्साहन र हौसला प्रदान गर्न ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ बाट सम्मानित गरिएको छ।

जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान
कार्तिकेय घिमिरे
वि.सं. २०३३ पुस ३ गते, हरऔन न.पा.–८, सर्लाहीमा जन्मेका कार्तिकेय घिमिरे (कृष्णप्रसाद घिमिरे)को पुख्र्यौली घर रामेछाप, गहिराचोक हो। आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरिसकेका यिनी विशेषतः बालसाहित्य लेखन, सम्पादन र कार्यशीलतामा सक्रिय छन्। ‘बालसाहित्य प्रतिष्ठान नेपाल’, ‘केटाकेटी मिडिया’, ‘केटाकेटी अनलाइन’, बुकआर्ट नेपाल प्रकाशन, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष, किशोर साहित्य पुरस्कार कोष, मनोरफा जफा अन्तर्राष्ट्रिय बालसाहित्य पुरस्कार कोष, माता दुर्गादेवी बालसाहित्य लेखक पुरस्कार, जमर्को बालसाहित्य तथा बालपत्रकारिता पुरस्कार समिति, जनकवि दुर्गालाल श्रेष्ठ राष्ट्रिय बालसाहित्य पुरस्कार समिति आदिमा अध्यक्ष, सम्पादक, संयोजक भई सेवा गर्दै आएका यिनी युवापुस्ताका सक्रिय बालसाहित्यकारका रूपमा परिचय बाँड्न सफल छन्।

२०५१ सालमा ‘कथा एउटा जीवनको’ कथा ‘रचना’ साहित्यिक पत्रिकामा छपाएर आफूलाई साहित्यिक क्षेत्रमा देखाउँदै आएका यिनका प्रकाशित बालसाहित्यिक कृतिहरूमा १. बुद्धिमान छोरी (बालकथा–२०५६), २. फुच्चे बन्यो राजा (बालकथा–२०५५), ३. मेरी सानी राधा (बालकथा–२०५६), ४. भ्यागुतोको प्रजातन्त्र (बालकथा), ५. नयन हरायो (बालचित्रकथा–२०७४) छन्। नेपाली, अंग्रेजी र मराठी भाषामा यिनका मौलिक, सम्पादित र अनुवादित गरी सयभन्दा बढी बालसाहित्यका कृतिहरू प्रकाशित छन्।

बालसाहित्यकार, बालसाहित्यका अनुवादक तथा बालसाहित्यका सम्पादकका रूपमा आफूलाई चिनाउन सफल हुँदै आएका यिनी थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित छन्। यिनले प्राप्त गरेका उल्लेख गर्नलायकका पुरस्कार र सम्मानहरूमा पी मिडिया बालपत्रकारिता पुरस्कार, राष्ट्रिय बालहितकारी पुरस्कार, नूरगङ्गा बालसाहित्य नवप्रतिभा पुरस्कार, पारिजात बालसाहित्य विशेष सम्मान, कलाकार बालसाहित्य प्रवद्र्धन सम्मान हुन्। यिनी बालसाहित्य क्षेत्रका सक्रिय युवा सर्जक हुन्। बालसाहित्यकार कार्तिकेय घिमिरे अर्थात् कृष्णप्रसाद घिमिरेका यी मनोरम बालसाहित्य यात्रामा साथ दिन यस वर्ष ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ बाट सम्मान गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

पृष्ठ संयोजक ः वरिष्ठ साहित्यकार मोहन दुवाल

 

प्रतिक्रिया दिनुहोस्