शून्य बजेटमा भव्य नाटक महोत्सव



सर्वनाम थिएटरले ३६औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव भव्यरूपमा सम्पन्न भएको छ। गत चैत १९ गतेदेखि शुरू भएको महोत्सवको अन्तिम दिन बिहीबार ३ एकल नाटक मञ्चन गर्दै सम्पन्न गरिएको हो।

महोत्सवको समापनका अवसरमा नेपालको १ र हङकङका २ नाटक मञ्चन गरिएका थिए। नेपालबाट वीरेन्द्र हमालको निर्देशनमा नाटक देउकासी मञ्चन गरिएको थियो। पुरु लम्सालको लेखन रहेको करिब ४० मिनेटको नाटकमा सुशीला थापाले अभिनय गरेकी थिइन्। नाटकमा ६५ वर्षीय अविवाहित महिलाको कथा देखाइएको थियो।

अर्को नाटक सिटी फ्लेसमा हङकङकी ईदि लम फुन हिउको लेखन, निर्देशन र अभिनय रहेको थियो। ३० मिनेटको नाटकमा एउटी केटी शहरमा ठाउँ खोज्दै जाँदा कुनै पनि ठाउँ नपाएको कथालाई नाटकमा उतारिएको थियो। हङकङकै अर्को नाटक फिप्टी इयर्स रिमेनिङ अनचेन्ज्ड मक चिउयुले प्रस्तुत गरेका थिए। उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकलाई मज्जाले हसाउन सफल भएका थिए।

कार्यक्रममा बोल्दै लन्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माइकल उडउडले यो महोत्सवले सम्पूर्ण देशलाई एकै ठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए। महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेशी कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो। भारतीय रंगकर्मी अजित दास सर्वनामबाट आफूले पाएको प्रमाणपत्रमा कागज मात्र नभई भावना भरिएको भन्दै मञ्चमै भावविह्वल भएका थिए।
महोत्सवको समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतीले सर्वनामले शून्य बजेटमा पनि अन्तर्राष्ट्रियस्तरको महोत्सवको आयोजना गर्न सफल भएकोमा सम्पूर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरिन्। कार्यक्रमको सञ्चालन भूमिका सम्पदा मल्लले गरेकी थिइन्।

४ दिनसम्म चलेको महोत्सवमा १४ नाटक मञ्चन भएका थिए। महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटक अतिरिक्त आकाश, लन्डनका तर्फबाट द कोट र चीनबाट जम्प प्रदर्शन भएका थिए भने दोस्रो दिन भारतको इलाद, बंगलादेशको शोनिटर हात (ब्लड ह्यान्ड्स्), स्कटल्यान्डको द चियर्स वेयर मुब्ड् टु गिभ मी प्यासेज र फ्रान्सका म्याक्सीमको लेखन तथा निर्देशनमा पर्फमेन्स् विथ मास्क देखाइएको थियो। थारु समुदायमा भएको कमलरी प्रथाको विषय रहेको नाटकमा नेपालबाट भूमिका चौधरीलाई म्याक्सीमले अभिनय गराएका थिए। त्यसै गरी तेस्रो दिन भारतबाट रेवती, ईवती, सेवत, हङकङबाट डिजायर, नेदरल्यान्डबाट सेप्पुकु ः द एन्जल्स् आर ब्याक र हङकङबाटै अर्को नाटक प्लेस मि सप्mट्ली अन द होराइजन मञ्चन गरिएका थिए। महोत्सवमा बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्यान्ड, नेदरल्यान्डलगायत दर्जन देशका ३ दर्जनभन्दा बढी कलाकार तथा रंगकर्मी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्