मकवानपुरको विवाद टुंगियो, वैशाखमा केन्द्रीय अधिवेशन हुने



हेटौंडा, (नेस)
मकवानपुर जिल्ला फुटबल संघको विवाद टीकाराम लामा अध्यक्षसहित १३ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन भएपछि टुंगिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का सहमहासचिव सञ्जीव मिश्रको रोहबरमा भएको निर्वाचनले एफसी पोतालाका लामाकै नेतृत्वमा कार्यसमिति चयन भएको हो। मिश्रले मंगलबार भक्तपुरमा अधिवेशन हुने र वैशाखभित्र केन्द्रीय अधिवेशन हुने बताए।

यसअघि एन्फाले मकवानपुर जिल्ला फुटबल संघमा चयन गरिएको नयाँ नेतृत्वलाई मान्यता नदिइने बताएको थियो। केन्द्रीय महासचिव धीरेन्द्र प्रधानले जिल्ला संघको नयाँ नेतृत्वलाई मान्यता नदिइने जनाएपछि विवाद बढेको थियो।

अन्य निर्विरोध चयन हुनेमा प्रथम उपाध्यक्ष सुविन घिमिरे, द्वितीय उपाध्यक्ष अजय मानन्धर र तृतीय उपाध्यक्ष राजकुमार श्रेष्ठ तथा सदस्यहरू युनाल मल्ल, अमृत लुङ्बा, सञ्जयकुमार महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, अतुल वर्मा, विमल श्रेष्ठ टोनी, छवि सुवेदी, मणिष श्रेष्ठ र सुशीला अर्याल रहेका छन्।

गत माघ ५ गते भएको अधिवेशनमा केन्द्रीय प्रतिनिधि एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले अधिवेशन छाडेर हिँडेका थिए। अधिवेशन छोडेर हिँडे पनि लामाकै नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो। चैत १४ गतेका लागि तय भएको एन्फाको केन्द्रीय अधिवेशनमा मकवानपुरको विवादका कारण भन्दै उच्च अदालत पाटनले अधिवेशन रोक्न एन्फालाई आदेश दिएपछि शुक्रबार हेटौंडामा सहमतिका आधारमा नेतृत्व चयन भएको हो।

मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठले उच्च अदालतमा आफ्नो प्रतिनिधित्व नभएर अधिवेशन गरेको भन्दै रिट दायर गरेपछि त्यसको प्रभाव एन्फाको केन्द्रीय अधिवेशनमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्