भ्रमण केन्द्रित सुझाव



प्रधानमन्त्री केपी शर्मा ओलीले आज २३ गते हुने आफ्नो भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन पूर्वप्रधानमन्त्रीलगायतका व्यक्तित्वहरूबाट सुझावसमेत लिइसक्नुभएको छ । उहाँले पूर्वप्रधानमन्त्रीहरू– पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित नेपाल–भारत प्रबुद्ध समूहसँग छलफल गरी सुझाव लिनुभएको समाचार छ । बुधबार भएको छलफलमा सहभागी प्रबुद्ध व्यक्तित्वहरूले यसअघि भएका द्विपक्षीय सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । यसरी भ्रमणको पूर्वसन्ध्यामा भ्रमण केन्द्रित सुझाव लिनु प्रम ओलीको सराहनीय कार्य मान्नै पर्छ ।

प्रम ओलीले पनि आफ्नो आसन्न भारत भ्रमण ‘सद्भावना भ्रमण’ भएको बताउनुभएको छ । उहाँले यो भ्रमण देशको हितका लागि हुने र यस भ्रमणमा कुनै नयाँ सन्धि–सम्झौता नहुने कुरामा पनि विश्वस्त पार्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरूले पनि नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन कुनै कसरत बाँकी राख्न नहुने धारणा राखेका छन् । यसै क्रममा पूर्वप्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रम ओलीलाई सुझाव दिनुभएको छ । पूर्वप्रम पुष्पकमल दाहालले ‘संविधान कार्यान्वयनमा गइसक्यौं, अब खास समस्या छैन’ भनेर भारतलाई हामीले बुझाउन सक्नुपर्नेमा जोड दिनुभएको छ भने पूर्वप्रम शेरबहादुर देउवाले नेपाल व्यापार घाटामा रहेकाले यसलाई उकास्ने विषयमा छलफल केन्द्रित गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रम ओलीले पनि सुझावलाई ग्रहण गरी देशको अहितमा कुनै काम नगरिने बरु विगतका सन्धि–सम्झौता कार्यान्वयनमा जोड गरिनेमा प्रतिबद्धता जनाउनुभएको छ । यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उहाँले विश्वास दिलाउनुभएको छ ।

उच्चस्तरीय भ्रमणका क्रममा हुने छलफलका एजेन्डा र हुन सक्ने सम्झौताका बारेमा सरकारले पनि गृहकार्य गरेको हुनुपर्छ । ती एजेन्डामा राष्ट्रिय सहमतिसमेत कायम गरिनुपर्छ । पर्याप्तरूपमा तयारी हुन सकेन भने भ्रमण उपलब्धिविहीन हुन सक्छ । त्यसैले भ्रमणअघि नै सबै कुराको निक्र्योल हुनु जरुरी छ । शायद यी कुरामा सरकार चुकेको छैन होला । यतिखेर प्रम ओलीको भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध थप प्रगाढ हुनेमा नेपाली जनता आशावादी छन् । यस घडीमा नयाँ सम्झौता गर्ने भन्दा पनि पुराना सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । हामी भारतसँग मित्रवत् व्यवहार गर्न चाहन्छौं । भारतबाट पनि सोही किसिमको व्यवहारको अपेक्षा गरेका छौं । त्यसैले चित्त नबुझेका कुरामा दुवै मुलुकले कूटनीतिक माध्यमबाट छलफल गरी सम्बन्ध अझ प्रगाढ बनाउने पहल गरियोस् । प्रम ओलीको भारत भ्रमणको सफलताको कामना ।

प्रतिक्रिया दिनुहोस्