क्रिकेट रंगशालाका लागि धुर्मुसको टोली हेटौंडामा



रोशन पराजुली

हेटौंडा–६ मा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट रंगशाला बनाउने उद्देश्यले प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल तथा धुर्मुस–सुन्तली फाउन्डेसनका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीले बुधबार अवलोकन गरेका छन्।

केही दिनअघि मात्र नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस टोलीसहित हेटौंडा आएका हुन्। क्रिकेट मैदानका लागि उपयुक्त स्थान खोजीका क्रममा रहेका कट्टेलले गौरीटार क्षेत्रको अवलोकन गरे।
फाउन्डेसनले आफ्नो पहलमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना केही दिनअघि सार्वजनिक गरेको थियो। नेपालले क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेपछि क्रिकेट विकासका लागि चासो हुन थालेको छ। सोही सन्दर्भमा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कट्टेलसहित टोली हेटौंडा आएको हो।

यसअघि ४ वटा नमुना बस्ती निर्माण गरेर चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो। सोही क्रममा मुख्यमन्त्री पौडेलको सहयोगमा पुगेका टोलीले बिहानभर त्यस क्षेत्रको भौगौलिक वस्तुस्थितिका विषयमा अवलोकन गरेको थियो।

मुख्यमन्त्री पौडेलले क्रिकेट रंगशाला निर्माणका लागि चासो व्यक्त गरेको अवस्थामा धुर्मुससहित टोलीले उक्त क्षेत्र अवलोकन गरेको हो। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न खोजेको क्रिकेट रंगशालाका लागि हेटौंडाका क्रिकेट राष्ट्रिय एम्पायर विनोद बानियाँले सामाजिक सञ्जालमा राखेको सुझावमा फाउन्डेसनले सकारात्मक जवाफ दिएर स्थलगत अवलोकन गरेको हो।

अवलोकनपछि मुख्यमन्त्री पौडेलले आफूहरू रंगशालालाई खेलकुद⁄पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा लागेकाले धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलब्ध गराउन तयार रहेको बताउनुभयो। २३ बिगाह क्षेत्रफलमा फैलिएको रंगशालालाई प्रतिष्ठानका रूपमा विकास गरी सबैखाले खेल प्रतियोगिता र अभ्यास सञ्चालन गर्ने लक्ष्य सरकारले राखेर संरचनाहरू निर्माणाधीन छन्।

गुरुयोजनामा क्रिकेट रंगशालासमेत रहेकाले धुर्मुसलाई जग्गा उपलब्ध हुन कुनै कठिनाइ नहुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले बताए। देशको मध्यभागमा खाली र समथर जमिन प्रशस्त रहेको तथा हावापानी पनि अनुकूल भएका कारण हेटौंडामा क्रिकेट रंगशाला बनाउन उपयुक्त हुने उनको धारणा छ।

धुर्मुसले भौगोलिक हिसाबले रंगशालाको जग्गा उपयुक्त रहेको भन्दै आईसीसीको मापदण्डअनुसार प्राविधिक दृष्टिले उपयुक्त देखिए काम अघि बढाउने बताए। क्रिकेट रंगशाला बनाउन आवश्यक सबै पूर्वाधार पुग्ने अवस्था, जनघनत्व, संरक्षणको स्थिति, खेलको महत्त्व र स्थानीयको लगावलगायत विषयमा अध्ययन गरेर कुन ठाउँ उपयुक्त हुन्छ भन्ने निर्णय गरिने कट्टेलले स्पष्ट पारेका छन्।

टोली उपयुक्त स्थान खोजीका क्रममा काठमाडौं, बुटवल र चितवन हँुदै हेटौंडा आएको हो। अनुगमनमा धुर्मुसका भाइ कलाकार कुमार कट्टेल र हास्य कलाकार मनोज गजुरेलसहित टोली थियो। अनुगमनको क्रममा धुर्मुसले क्रिकेट ब्याटिङ गरे भने उनका भाइ कुमारले बलिङ गरेर प्रदर्शन खेलसमेत खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्