अझै हटेन जातीय विभेद



हिक्मत नेपाली, दैलेख ।

मुलुकमा थुप्रै परिवर्तनहरु भएपनि जातिय विभेदका घटनाहरुमा कमी आउन नसकेको दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । जागरण मिडिया सेण्टर काठमाण्डौंद्धारा दैलेख सदरमुकाममा आयोजित जातीय विभेद समस्या र कानून कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्लामा भर्खरै मात्र स्थपान भई आफ्ना गतिविधिीहरु संचालनमा ल्याएको शिल्पी समाजका संयोजक बखत नेपालीले अहिले पनि दलित समुदाय विभिन्व वाहानामा अपहेलित हुने गरेको बताउदै दाताको सहयोगबाट गरिने अन्तरक्रियाले मात्र विभेद हट्न नसक्ने भएकोले स्वयम्सेवी आन्दोलनको आवश्यकता दर्शाए । अधिवक्ता दीर्घराज अधिकारीले जातीय विभेद र महिला हिंसाका मुद्दामा मिलापत्र गर्न राजनीतिक हस्तक्षेप मुक्त बनाइनुपर्ने बताए ।

राजमोका जिल्ला अध्यक्ष अमर नेपालीले जातीय विभेदका दोषीहरु सबैलाई कारवाही प्रक्रियामा नल्याएका कारण अझैं पनि विभेद हट्न नसकेको बताए । यस्तै नारायण नगरपालिका वडा नं. ३ का हर्कबहादुर नेपालीले विभेद हटाउन दलित समुदायको आर्थिक जीवनस्तर उठाउने कार्यक्रमको आश्यकता रहेको बताए ।

नेमकिपाका जिल्ला सचिव लक्ष्मीकुमार बिकले दलितहरु सरकारी विद्यालयमा पढ्ने भएकोले बोर्डिङ्ग स्कूलबाट आएकाहरुसंग प्रतिस्पर्धा गर्न नसकेको समस्या दर्शाए । उनले शिक्षामा भएको यो विभेद हटाउन सरकारका निकायले प्रयास गर्नुपर्ने सुझाव दिए ।

नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर खत्री जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८ आएपछि पहिलेको तुलनामा विभेदका घटनाहरुमा कमी आएता पनि अरु जिल्लाका तुलनामा दलित आन्दोलन का सक्रियताका कारण सबै घटना सार्वजनिक भएका कारण दैलेखमा बढी समस्या देखिएको प्रष्ट पारे ।

नेकपा एमाले दैलेखका सचिवालय सदस्य सूर्यबहादुर शाहीले विभेद हटाउन गरिएको कार्यक्रममा गैरदलित समुदायको सहभागिता बढाउनुपर्ने बताए । उनले अधिकारकर्मीहरुले विभेदका घटना उचाल्ने प्रयास गर्नु भन्दा विभेद कम गर्ने सचेतना अभियानमा जोड दिनुुपर्ने सुझाव दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले रीत पुगी आएका मुद्दा कानूनी प्रक्रियामा गएका जानकारी गराउदै सामाजिक दवावका कारण जाहेरी आउन रोक्ने गरिएको समस्या दर्शाए ।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जातीय विभेद अन्त्य गर्न सामाजिक अन्तरघुलनका कार्यक्रम जरुरी रहेको बताए । निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले समाजमा विद्यमान जातीय विभेद छिटो छरितो अन्त्य गर्न राज्यले कानून ल्याएको बताउदै प्रहरी प्रशासनले कसैको दवावमा कानून कार्यान्वयनमा कमी हुन नदिने प्रतिवद्धता जनाए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ शाखा दैलेखका अध्यक्ष जिल्ला अध्यक्ष रेशमबहादुर बिकको अधयक्षतामा भएको कार्यक्रममा जागरण मिडिया सेण्टरको मानवअधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज परियोजनाका कार्यक्रम संयोजक शिवहरी ज्ञवाली र पत्रकार अमर सुनारले जिल्लामा जातीय विभेदको अवस्था र कानून कार्यान्वयनको अवस्था विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्